|
बुटबल उपमहानगरपालिकाका प्रमुख पदका एमाले र कांग्रेस उम्मेदवार

रुपन्देही : १६ स्थानीय तह रहेको रुपन्देहीका ७ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ। रुपन्देहीमा नतिजा आएका ७ वटा गाउँपालिकामध्ये ३ गाउँपालिका जित्दै नयाँ शक्ति–संघीय समाजवादी फोरम गठबन्धन अगाडि छ। दुई तह जित्दै एमाले दोस्रो स्थानमा छ। कांग्रेस र माओवादी केन्द्रले एक/एक तहमा जित हात पारेका छन्।

फोरम/नयाँ शक्ति गठबन्धनले मर्चवारी, गैडहवा र रोहिणी गाउँपालिका जितेको छ। एमालेले शुद्धोधन र कञ्चन जितेको छ। यस्तै कांग्रेसले मायादेवी गाउँपालिकामा जितेको छ भने माओवादी केन्द्रले ओमसतिया गाउँपालिकामा जित हात पारेको छ। रुपन्देहीमा राप्रपाले पनि एउटा तहको उपाध्यक्षमा जित हात पारेको छ। राप्रपाले रोहिणी गाउँपालिकामा उपाध्यक्षमा जितेको हो।

नयाँ शक्ति र संघीय फोरम अगाडि

गैडहवा गाउँपालिकामा नयाँ शक्ति–संघीय समाजवादी फोरमका बचुलाल केवटले ५ हजार ४ सय १५ मत ल्याएर अध्यक्ष पदमा जित हात पारे। उनका प्रतिस्पर्धी कांग्रेसका वसिउल्लाह मुसलमानले ३ हजार २ सय ७६ मत ल्याए। उपाध्यक्षमा पनि नयाँ शक्ति–समाजवादी फोरमकी संगीता यादवले ४ हजार ९ सय ७५ मत ल्याइन्। उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी मञ्जु न्यौपानेले ३ हजार २ सय ९२ मत ल्याइन्।

सोही गठबन्धनले मर्चवारी गाउँपालिकामा पनि जित हासिल गरेको छ। केशवनन्द बानिया ३ हजार ४ सय ५ मत ल्याएर अध्यक्ष निर्वाचित हुँदा उपाध्यक्षमा पनि गठबन्धनकै सुनिता कलवार २ हजार ८ सय ८४ मत ल्याएर उपाध्यक्षमा निर्वाचित भइन्। उनीहरुका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार थिए। अध्यक्षमा कांग्रेसका ज्ञानप्रकाश मिश्रले २ हजार १ सय ६४ मत ल्याए भने उपाध्यक्षमा पनि कांग्रेसकै श्रीकान्ती बरईले १ हजार ८ सय ३९ मत ल्याइन्।

रोहिणीमा गठबन्धनले अध्यक्षमा मात्रै जित हात पारेको छ। अध्यक्षमा सनोजकुमार (समाद) यादवले ३ हजार ७ सय ६० मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ताहिर अलीले ३ हजार ५ सय ४२ मत ल्याए। उपाध्यक्षमा भने राष्ट्रिय प्रजातन्त्र पार्टीकी शिवकान्ति हरिजनले ३ हजार ४ सय ९६ मत ल्याउँदै गठबन्धनकी उम्मेदवार रिना मिश्रलाई पराजित गरिन्। मिश्रले ३ हजार ४ सय ५० मत ल्याएकी छिन्।

एमालेले जितेका गाउँपालिका

शुद्धोधन गाउँपालिकामा एमालेका किशुनचन्द्र चौधरीले ५ हजार ३ सय ७१ मत ल्याएर जित्दा उनका प्रतिस्पर्धी कांग्रेसका भगवतीप्रसाद चौधरी ५ हजार १६ मत ल्याए।

उपाध्यक्षमा पनि एमालेले नै जितको छ। एमालेकी शान्तादेवी ज्ञवाली ५ हजार ३ सय ९० मत ल्याएर उपाध्यक्ष हुँदा कांग्रेसकी रामेश्वरी सिंह ४ हजार ५ सय ९० मत ल्याइन्।  

कञ्चन गाउँपालिकामा एमालेका गोकर्णबहादुर क्षेत्री ६ हजार ७ सय ७७ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी कांग्रेसका डोलबहादुर थापाले ५ हजार ९ सय ६७ मत ल्याए। उपाध्यक्षमा एमालेकै गोमा तरामु मगर ६ हजार ५ सय २४ मत ल्याईन्, उनकी प्रतिस्पर्धी कांग्रेसकी त्रिसीकुमारी थरुनीले ५ हजार ५ सय २९ मत ल्याइन्।  

कांग्रेस मायादेवीमा

कांग्रेसले मायादेवी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा जित हात पारेको छ। अध्यक्षमा ध्रुवनारायण चौधरीले २ हजार ८ सय १६ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार रामअधार अहिरले २ हजार २ सय १३ मत ल्याए। 

त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकी तारादेवी यादवले २ हजार २ सय ५२ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी फोरम लोकतान्त्रिककी राजकुमारी चौधरीले २ हजार १ सय ६९ मत प्राप्त गरिन्।

माओवादीलाई ओमसतियामा जित

त्यस्तै ओमसतिया गाउँपालिकामा माओवादी केन्द्रले जित हासिल गरेको छ। अध्यक्षमा माओवादी केन्द्रका हिराकुमार निषाद र उपाध्यक्षमा माओवादी केन्द्रकै सुन्दरमती हरिजन विजयी भए।

कहाँ कसको अग्रता?

बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिका, सैनामैना नगरपालिका र तिलोत्तमा नगरपालिकामा एमालेको अग्रता छ, जहाँ कांग्रेस उम्मेदवारले पछ्याइरहेका छन्। कांग्रेस देवदहमा अगाडि छ, देवदहमा एमाले उम्मेदवारले पछ्याइरहेका छन्। लुम्बिनी सांस्कृतिक नगरपालिकामा राजपा निकट स्वतन्त्र उम्मेदवारले अग्रता लिइरहेका छन्, जहाँ संघीय समाजवादी फोरमले पछ्याइरहेको छ।

सियारी गाउँपालिकामा एमाले, सम्मरी गाउँपालिकामा कांग्रेस र कोटहीमाई गाउँपालिकामा संघीय फोरम र नयाँ शक्तिका उम्मेदवारको अग्रता छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.