|

काठमाडौँ: प्रसिद्ध कवि तथा गीतकार हरिभक्त कटुवालको ८२औँ जन्म जयन्ती आइतबार राजधानी काठमाडौँमा भव्यताका साथ मनाइयो। कार्यक्रममा हरिभक्तको कवितामाथि बोल्दै युवा समालोचक महेश पौड्यालले हरिभक्त कुनै वाद, विचार र परिभाषामा नअटाउने कवि भएको बताए। हरिभक्त कटुवालको योगदानलाई देशले उचित कदर नगरेको भन्दै उनले भने, ‘हरिभक्त त्यो कोइला हो जिन्दगीको, जसको कालो सबैले देखे, तर जब त्यो जलेर भर्भराउँदो आगो फ्याँक्न थाल्यो, त्यसलाई धेरैले थेग्न सकेनन् र पर हटे।’ 

हरिभक्त सबैले जानीजानी बिर्सन लागेको एउटा विपना भएको बताउँदै समालोचक पौड्यालले भने, ‘जसको छेउछाउ आउन सपनालाई पनि हजार रात कुर्नपर्छ सायद।’ 

डा. लम्सालले हरिभक्तका गद्य कवितामा गीतको प्रभाव, र गीतमा कविताको प्रभाव रहेको बताए। लम्सालले पनि हरिभक्तको उचित मूल्यांकन नभएकोमा खेद प्रकट गर्दै भने, ‘तात्कालीन राजा स्वयंले आमन्त्रण गरेर ल्याइएका भनिएका उनको दुःखपूर्ण बसाइ र आजको जनताको शासन भनिएको गणतन्त्र र सत्ताबाहेक सबैतिर उदासीन राजनीतिक नेतृत्वबीचको दूरी मापन गरेर मात्र उनको गीतकारिता खोज्नुपर्नेछ।’ उनले खोज्नु भनेको केवल टिपोट मात्र नभएको, इतिहासको मूल्याङ्कन पनि भएकामा जोड दिए। 

डा. लम्सालले कटुवालका गीत उनको जीवन जस्तै रहेका र गीत जस्तै उनको जीवन रहेको बताए। ‘किनभने उनले जीवनकै लागि जीवनको नयाँ पाटो खोज्न आफूूलाई गीतमा पोखे’, डा. लम्सालले भने। 

समालोचक डा. अशोक थापाले हरिभक्त कटुवालका कथा र नाटकहरूको सांगोपांगो विश्लेषण गरे। कथामा लघुकथा आकारका  यथार्थवादी कथा र नाटकमा बौद्ध दर्शन र आम मान्छेको दैनन्दिनीसँग हरिभक्तले आफूलाई जोडेको उनको टिप्पणी थियो। 

कार्यक्रममा प्रमुख अतिथि संगीतकार दीपक जंगमले हरिभक्त कटुवालको गीतिकारितासँग जोडिएका रमाइला प्रसंगहरू उल्लेख गरेका थिए। कमलादीको सडकछेउमा फालिएको सिग्रेटको एउटा खोल उठाएर त्यसैमा अन्तरा लेखेको हरिभक्तको प्रसिद्ध गीत ‘मलाई नसोध कहाँ दुख्छ घाउ’ अम्बर गुरुङ, आफू, शान्ति ठटाल र नारायण गोपाललाई संगीत गर्न दिएको र पछि उनकै सल्लाहमा नारायण गोपालकै संगीतमा रेकर्ड गरिएको प्रसंगले श्रोता रोमाञ्चित भएका थिए। 

सङ्गीतको चेतनासहित मिटर र लयमा गीत लेख्ने हरिभक्तको कदको अर्को गीतकार आफूले नेपालमा हालसम्म पनि नभेटेको जंगमले बताए। 

कार्यक्रमको अन्त्यमा पुरु लम्सालको निर्देशनमा हरिभक्तको जीवन, जीवनदृष्टि र सिर्जना झल्कने एउटा छोटो नाटक पनि प्रस्तुत गरिएको थियो।  

पुरु लम्सालको नेतृत्वमा रहेको हरिभक्तप्रेमी युवाहरूको समूहले उक्त कार्यक्रमको आयोजना गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.