|

  • सीता सिग्देल न्यौपाने-

उपप्रमुख, घोराही उपमहानगरपालिका

घोराही उपमहानगरपालिकाको उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार सीता सिग्देल न्यौपाने निर्वाचित भएकी छन्। नेपाली कांग्रेसबाट उपप्रमुखकी उम्मेदवार पुष्पा श्रेष्ठलाई भारी मत अन्तरले पराजित गर्दै सीता पश्चिम क्षेत्रकै ठूलो शहरमध्येको एक घोराही उपमहानगरको उपप्रमुखमा निर्वाचित भएकी हुन्।

बर्दिया जिल्लामा अखिलको विद्यार्थी राजनीति हुँदै दाङको घोराहीमा एमाले राजनीतिमा आवद्ध भएकी सीताले लामो समय राजनीतिमा बिताएकी छन्।

राजनीतिक परिवारमा जन्मिएकी सीता जेठो दाजु ऋषिराम शर्माको राजनीतिक जीवनबाट प्रभावित भएर राजनीतिमा लागेको बताउँछिन्।

स्कुलमा पढ्दै गरेकी सीताले दाजुले ल्याएका कम्युनिष्ट सामग्रीहरू लुकेर पढ्थिन् रे! जसले गर्दा उनलाई कम्युनिष्ट राजनीतिमा डोहोर्‍यायो।

बर्दियाको साविक कालिका गाउँ पञ्चायतमा वि. सं. २०२४ जेठ १५ गते जन्मिएकी सीता सानै उमेरमा राजनीतिप्रति आकर्षित भएकी थिइन्। 'त्यतिबेला राजनीति खुला थिएन। तर जेठो दाजु अखिलको अगुवा भएकाले उहाँले ल्याएका राजनीतिक सामग्रीहरू घरमा लुकेर पढ्थेँ', सीता भन्छिन्, 'त्यसमा लेखिएका प्रगतिशील कुराले नै मलाई राजनीतिमा डोहोर्‍याएका हुन्।'

आफ्नो राजनीतिक जीवनको अगुवा दाजुलाई नै मान्ने सीता ११/१२ वर्षको उमेरमै २०३५/०३६ सालको आन्दोलनमा सहभागी भएकी थिइन्। आन्दोलनका क्रममा उनी एक दिन प्रहरीको हिरासतमा समेत पुगेकी थिइन्। तर केटाकेटी भएको भन्दै प्रहरीले एक दिनपछि छाडिदियो रे!

बर्दियामै रहँदा अखिल नेपाल महिला संगठनमा आवद्ध भएकी सीता प्रवेशिका परीक्षा उत्तीर्ण गरेर आईए पढ्दै गर्दा २०४२ सालमा विवाह गरेर दाङ आइन्। विवाह भएको २/३ वर्ष सन्तानका लागि समय दिएपछि पुनः राजनीतिमा आवद्ध भएकी सीताका परिवार र श्रीमानसमेत एमालेको राजनीति गर्ने भएका कारण पुनः राजनीतिलाई निरन्तरता दिन सजिलो भएको बताउँछिन्।

२०४६ सालको आन्दोलन, २०६२/०६३ को जनआन्दोलनलगायतका आन्दोलनमा श्रीमान केशव न्यौपानेसँगै सक्रिय रहेकी सीता एमालेको पूर्णकालीन कार्यकर्ता हुन्।

राजनीति गर्दा आयस्रोत नभएकाले दुई छोराहरू पढाउन पुर्ख्यौली सम्पत्तिसमेत बेचेको बताउने सीता अखिल नेपाल महिला संघको घोराही नगर सदस्य, सचिव, एमालेको नगर सदस्य, तीन कार्यकाल एमाले दाङको सदस्य तथा एक अवधि राप्ती अञ्चल समन्वय समितिको सदस्यसमेत भइसकेकी छन्।

राजनीतिलाई नै जीवन दिएकाले कुनै समय पारिवारमा आर्थिक रूपमा निकै समस्यासमेत भएको उनी बताउँछिन्। 'श्रीमान/श्रीमती दुवै राजनीतिमा भएकाले आम्दानीको कुनै स्रोत भन्ने कुरा भएन। त्यै सम्पत्ति हो', सीता भन्छिन्, 'छोराहरू सानो हुँदासम्म त खर्च थोरै हुन्थ्यो, पछि ठूलो भएपछि उनीहरूलाई पढाउन जग्गा बेच्यौं।'

लामो समय पार्टीमा काम गरेका कारण अहिले पार्टीले मूल्यांकन गरेर उपप्रमुखमा टिकट दिएको र विजयी बनाएको सीता बताउँछिन्। उपप्रमुख विजेता भएपछि थाहाखबरसँग कुरा गर्दै सीताले चुनावी प्रचारका क्रममा घोषणापत्रमा उल्लेख गरिएका विषयसँगै सबैसँग सल्लाह गरेर घोराहीको विकासमा लाग्ने बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.