|

वीरगन्ज: वीरगन्जसँग जोडिएको सीमावर्ती भारतीय बजार रक्सौलको एक विद्यालयमा बन्दुकधारीहरूले अन्धाधुन्द गोली चलाउँदा तीन जना गम्भीर घाइते भएका छन्।

रक्सौलको लक्ष्मीपुरस्थित मन्सामाई मन्दिर नजिक रहेको क्याम्ब्रिज पब्लिक स्कुल परिसरमा सोमबार बिहान १० बजे मुखमा मास्क लगाएर प्रवेश गरेका चार जना बन्दुकधारीले एके ४७ राइफलबाट अन्धाधुन्द गोली चलाउँदा तीन जना गम्भीर घाइते भएका हुन्।

गोली लागी घाइते हुनेमा विद्यालयको बसका चालकद्वय विक्रमकुमार र रामायणप्रसाद कुर्मी तथा सुरक्षा गार्ड ध्रुब साह छन्। घाइते तीनै जनालाई उपचारका लागि वीरगन्जस्थित नेशनल मेकिडल कलेजमा ल्याइएको छ।

दुईवटा मोटरसाइकलमा आएका चार जना बन्दुकधारीले विद्यालय परिसरमा प्रवेश गरेर अन्धाधुन्द गोली चलाएका प्रत्यक्षदर्शीले बताएका छन्। कक्षा कोठामा विद्यार्थीहरू पढिरहेकै बेला बन्दुकधारीहरूले विद्यालय परिसरमा मात्र गोली चलाएका थिए।

कक्षा चलिरहेको कारण विधार्थीहरू भने सकुशल रहेको रक्सौल प्रहरीले जनाएको छ। स्कुलको मूल प्रवेशद्वारबाट भित्र प्रवेश गरेलगत्तै स्वचालित राइफलबाट अन्धाधुन्द गोली चलाएको रक्सौल पुलिस थानाका डीएसपी राकेश कुमारले बताए।

गोली चलाए लगत्तै बन्दुकधारीहरू मोटरसाइकलमै भागेर फरार भएको प्रत्यक्षदर्शीले बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.