खरबारी बाँडेजस्तै विकासका योजना बाँड्दिनँ– शाही

|

  • मिलन विश्वकर्मा-

पाल्पाः तानसेन नगरपालिकाका नवनिर्वाचित अध्यक्ष अशोककुमार शाहीले सुशासन, भ्रष्टाचार नियन्त्रण र विकास निर्माण आफ्नो प्राथमिकतामा रहने बताएका छन्। 

सोमबार शपथ ग्रहण गर्दै उनले राजनीतिभन्दा माथि उठेर काम गर्ने प्रतिवद्धतासमेत जनाए। ‘नगरको विकास गर्न आफ्नो गोजीको झिकेर दिनुपर्दैन’, प्रमुख शाहीले भने, ‘नागरिकको करबाट आएको राज्यको सम्पत्ति दुरुपयोग गर्नेछैन।’ 

आफूलाई राजनीतिक दवाब नदिन आग्रह गर्दै शाहीले बाबुले छोरालाई अंश स्वरूप खरबारी बाँडेजस्तै विकासका योजना नबाँड्ने पनि जिकिर गरे। चुनावी मैदानमा उत्रिँदा हिजो कुन पार्टीमा थियौँ भन्ने कुरा बिर्सेर आगामी पाँच वर्षसम्म जनप्रतिनिधि भइरहने वातावरण सिर्जना गर्न निर्वाचित अन्य पदाधिकारीलाई सुझाव पनि दिए। 
तानसेनलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सके यहाँको आर्थिक समृद्धि हुने भन्दै उनले गाउँगाउँमा मोटरबाटो जोड्ने, प्रत्येक घरमा खानेपानीको व्यवस्था मिलाउने, ल्याण्डफिल्डलाई व्यवस्थित गरी फोहोरमुक्त तानसेन बनाउनेजस्ता योजनासमेत सुनाए। 

नेपाली कांग्रेसका सचिव झपेन्द्र गैरेले विगतदेखि नै समस्याका रूपमा रहेका नगरभित्रका सडक मर्मत, खानेपानी र पर्यटकीय संरचनाहरूको विकासमा साझा नीति बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए। 

नेकपा एमालेका अध्यक्ष नारायण आचार्यले लामो समयदेखि जनप्रतिनिधिविहीन हुँदा अस्तव्यस्त बनेको स्थानीय निकायका कामकारवाहीलाई व्यवस्थित गर्न चुनौती रहेको भन्दै अध्ययन गरी सबैको सुझाव सल्लाहअनुसार गतिविधि अगाडि बढाउन आग्रह गरे। 

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नेत्र पाण्डेले कठिन संघर्षपछि प्राप्त उपलब्धिलाई रक्षा गर्नका लागि नवनिर्वाचित जनप्रतिनिधिको भूमिका महत्त्वपूर्ण हुने बताए।नेपाल पत्रकार महासंघका अध्यक्ष राजेशकुमार अर्यालले निर्वाचनमा जित्नका लागि गरिएको खर्च असुल्ने माध्यम जनताले दिएको पद र राज्यको निकायलाई नबनाउन सुझाए। 

तानसेन नगरमा मात्र स्थानीय तहको निर्वाचनबाट ७२ जना जनप्रतिनिधि चयन भएका छन्। उनीहरूलाई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला अदालतका न्यायाधीश भरतमणि खनालले शपथ खुवाएका थिए। प्रमुख जिल्ला अधिकारी बाबुराम गौतम र स्थानीय विकास अधिकारी रामप्रसाद पाण्डेले प्रमाणपत्र वितरण गरेका थिए। 

दुईवटा नगरपालिका र आठ गाउँपालिका रहेको पाल्पाका अधिकांश पदाधिकारीलाई सोमबार शपथ खुवाउनुका साथै प्रमाणपत्र वितरण गरिएको निर्वाचन कार्यालय पाल्पाका प्रमुख धर्मा अर्यालले बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.