|

  • सविता जीसी-

सुर्खेतः प्रधानमन्त्री शेरबहादुर देउवाले तेस्रो चरणअन्तर्गतको दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचन तोकिएकै समयमै हुने बताएका छन्।

मध्यपश्चिमाञ्चल विश्वविधालय सुर्खेतको प्रथम दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले दुई नम्बर प्रदेशको चुनाव समयमै सम्पन्न हुनेमा शंका नगर्न सबैलाई आग्रह गरे।

उनले पहिलो र दोस्रो चरणको निर्वाचन उत्साहपूर्ण ढंगले सम्पन्न भएको भन्दै तेस्रो चरणको निर्वाचन पनि समयमै हुने दाबी गरेका हुन्।

उनले प्रदेशसभा र संघीय संसद्को निर्वाचन गर्नु संवैधानिक बाध्यता भएको भन्दै दोस्रो चरणको स्थानीय तह निर्वाचन सकिएलगत्तै निर्वाचन आयोगले गरेको आग्रहअनुसार राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचन हुने दाबी गरे। 

यस्तै, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीहरूलाई दीक्षित गर्दै प्रधानमन्त्री देउवाले दीक्षित विधार्थीहरुले उत्कृष्ट शिक्षाको विकास गर्नका लागि लागि पर्न आग्रहसमेत गरे। 

विश्वविद्यालयलाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न पनि सरकार तयार रहेको भन्दै प्रधानमन्त्री देउवाले देशका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्नका लागि विश्वविद्यालयलाई निरन्तर लागिरहन आग्रहसमेत गरेका छन्।

सोही अवसरमा प्रधानमन्त्री देउवाले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको विज्ञान तथा प्रविधि केन्द्रीय क्याम्पसको भवनसमेत उद्घाटन गरेका छन् । 

४५१ विद्यार्थी दीक्षित

सोमबार सुर्खेतको वीरेन्द्रनगरमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा ४५१ विद्यार्थी दीक्षित भएका छन्। 

स्थापना भएको सात वर्षको अवधिमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले प्रथम दीक्षान्त समारोह सम्पन्न गरेको हो। प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा सन् २०१२ देखि २०१४ सम्म स्नातक र स्नातकोत्तर तहमा भर्ना भई उत्तीर्ण भएका ४५१ जना छात्रछात्राहरूलाई दीक्षित गरेका हुन्। 

विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवन निर्माणस्थल वीरेन्द्रनगर– ६ कुइनेपानी परिसरमा भएको प्रथम दीक्षान्त समारोहमा उत्कृष्ट हुने छात्रछात्राहरूले कुलपति पदक, सुर्खेत उद्योग वाणिज्य संघ पदक र उपकुलपति पदकलगायतका पदकहरू प्राप्त गरेका छन्। 

विश्वविद्यालयले व्यवस्थापन, मानविकी, समाजशास्त्र, शिक्षाशास्त्र र विज्ञान तथा प्रविधि संकायअन्तर्गत स्नातक तह उत्तीर्ण गर्ने विद्यार्थीहरूलाई दीक्षित गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.