|

  • रमेश रावल-

कालिकोट : जिल्लामा खडेरीका कारणले निकै कम मात्र रोपाइँ भएको छ। किसानहरुले धान रोप्ने महिना असारमा मनसुनअनुसार पानी नपर्दा निकै कम मात्र रोपाइँ भएको हो। विगतका वर्षहरुमा असार तेस्रो सातासम्म किसानहरुले धान रोपिसक्ने गरेको भए पनि यस वर्ष भने ५० प्रतिशत कम रोपाइँ भएको जिल्ला कृषि विकास कार्यालय कालिकोटले जनाएको छ।

जिल्लामा रहेको करिब १७ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये २ हजार ५ सय हेक्टर जमिनमा धान खेती गर्ने गरेको र हालसम्ममा करिब १ हजार १ सय हेक्टर जमिनमा रोपाइँ भइसकेको जिल्ला कृषि विकास कार्यालय कालिकोटका प्रमुख सुनिलकुमार सिंहले बताए।

‘जिल्लामा ५० प्रतिशतभन्दा कम रोपाइँ भएको छ।’ उनले भने, ‘विगतका वर्षहरुमा असारको तेस्रो सातासम्म ८० प्रतिशतभन्दा धेरै रोपाइँ सकिने गरे पनि यो वर्ष खडेरीका कारण कालिकोटमा रोपाइँ गर्न ढिलाइ भएको छ।’ कर्णालीमा खडेरी लगायतका कारणले खाद्यान्न अभाव हुने गरेका कारणले खाद्य संस्थानले ४६ हजारभन्दा मेट्रिक टन खाद्यान्न आयात गर्ने गरेको छ ।

स्थानीय रुपमा बाली उत्पादन नहुँदा खाद्यान्नको आयात निकै बढ्दै गएको पताला गाउँपालिका अध्यक्ष लक्ष्मण बमले बताए। ‘कर्णालीमा खाद्यान्न उत्पादन विभिन्न कारणले कमी हुँदै गएको छ।’ उनले भने, ‘त्यस कारणले परनिर्भरता बढ्दै गएको छ।’

गत वर्ष खडेरीका कारणले खाद्यान्न बाली उत्पादन निकै ह्रास आएको यस वर्षमा पनि धानखेती गर्ने बेला खडेरी परेका कारणले केही समस्या हुने देखिएको नरहरिनाथ गाउँपालिकाका किसान नरबहादुर बिष्टले बताए। ‘धान खेती गर्दा सधैं खडेरी पर्ने गरेको छ।’ उनले भने, ‘यसले गर्दा धान उत्पादन निकै कम हुने देखिएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.