मल र मासु एकै ठाउँबाट बिक्री वितरण गरेको भेटियो

|
अनुगमनको क्रममा बिग्रेको मासु फाल्न लगाउँदै पशु विकास अधिकृत डा.केशव भट्ट।

  • दाना शाही-

 जुम्ला : जुम्लाका खलंगामा रहेका ६ जना मासु पसलेको ढक तराजु जफत गरिएको छ। सोमबार जिल्ला पशुसेवा कार्यालय जुम्लाको समन्वयमा र सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापाको अगुवाईमा गएको बजार अनुगमन टोलीले ६ मासु पसलेको ढक तराजु जफत गरेको हो। पसलमा तराजुको नापतौल नमिलेको, ढुंगा राखेर तौल्ने गरेका, नापतौल विभागको स्टिकर नटाँसेका ढक तराजु चलाउने गरेका जफत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढा थापाले जनाए।

'१० मासु पसलमा ६ वटा पसलको ढक तराजु जफत गरिएको छ, यो साहुजीहरुले गरेको नियमविपरीत काम हो, थापाले भने। नेपाल सरकारले प्रमाणित गरेका ढक तराजु राखेर व्यापार गर्न उनले साहुजीलाई निर्देशन दिएका थिए।  वरिष्ठ पशु विकास अधिकृत माधवप्रसाद अर्यालले ढक तराजु जफत गरिएका मासु पसलेलाई गल्ती गरेको महसुस गराउने र भोलिको दिनमा गल्ती नदोहोर्‍याउने भनेर कबुलियतनामा गर्न लगाउने बताए।

अब केही समयपछि उद्योग वाणिज्य जुम्लाको सहयोगमा नापतौल विभागलाई जुम्लामा बोलाएर व्यवसायीहरुलाई सचेत गराउने उनले बताए। कर्णालीमा आउने कमसल खालका कुखुरमा क्रमशः सुधार आउने वरिष्ठ पशु विकास अधिकृत डा. अर्यालले जनाए।

पशु विकास अधिकृत डा.केशव भट्टले नगरपालिकामा मासु पसल व्यवस्थित नरहेको जनाए। उनले भने, ‘मासु पसलमा राखेका फ्रिज, मासु राख्ने भाँडा र मासु काट्ने ठाउँ राम्रोसँग व्यवस्था गरेको पाइएन।’ उनले पसलमा प्यान नम्बर, मूल्यसूची नराखेको, मासु काट्दा चाहिने डि–फ्रिज, पञ्जा, पोसाक, टायल, जाली नराखेको पनि जानकारी दिए।

पशु विकास अधिकृत गोविन्द महतले नमुना फ्रेस हाउसबाट सडेको प्यारेन्ट्स कुखुराको ३ केजी मासु जफत गरिएको जनाए। उनले जुम्ला बजारको कालेखोलीमा रहेको शाही फ्रेस हाउसमा मल र मासु एकै ठाउँबाट बिक्री वितरण गरेको भेटियो भने। उनका अनुसार मासु, आन्द्रा, कलेजो एउटै ठाउँमा राख्न हुँदैन। पहिलेभन्दा अहिले केही सुधार आएको उनको भनाइ थियो।

ओमराज फ्रेस हाउस बसपार्क जुम्लाकी साहुनी लक्ष्मी रावलले अब सच्चिएर जाने बताइन्। अनुगमनमा जिल्लका विषयगत कार्यालयका प्रमुख, उद्योग वाणिज्य संघ, सुरक्षा निकायको उपस्थिति रहेको थियो। ढक तराजु सुरेश, ओमराज, राज, नमूना, जाविर फ्रेस हाउसबाट जफत गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.