शिक्षक, पत्रकार हुँदै अन्तत जनप्रतिनिधि

|

काठमाडौं : दाङ, रामपुरको किसान परिवारमा जन्मिएका नरुलाल चौधरी। जसले अरु धेरै थारु बालबालिका नपाएको विद्यालय जान पाए। उनी घरमा बाबुआमालाई खेतीपातीमा सघाउदै पढ्दै गए। विद्यालयको पढाइ सिध्याएर क्याम्पस भर्ना भएपछि रामपुरकै जनता माविमा शिक्षकको जागिर पाए। 

शिक्षण पेशा गर्दै नरुलालले वाणिज्य शास्त्रमा स्नातक तहसम्मको पढाइ पूरा गरिसकेका थिए। त्यतिबेलै उनले रेडियो नेपालमा जागिर पाएपछि शिक्षण पेशा छुट्यो। उनी २०५२ सालमा रेडियो नेपालको जागिर खान काठमाडौं आए।

रेडियो नेपालमा थारु भाषाको समाचार वाचकको काम गर्दा नरुलालले सायदै सोचेका थिए, कुनै दिन उपमहानगरपालिकाकै प्रमुख भइन्छ भनेर। यद्यपी उनी जागिरकै क्रममा दाङको एमाले क्षेत्रीय कमिटीमा आवद्ध भएका थिए।  

२०५४ सालको स्थानीय निर्वाचनमा दाङकै रामपुर गाविसमा एमालेले उनलाई अध्यक्षमा उम्मेदवार बनाउने निर्णय गर्‍यो। त्यसपछि उनले रेडियो नेपालको जागिर छाडेर पार्टीले दिएको टिकट हातमा लिएर गाउँ फर्किए। अन्तमा निर्वाचित पनि भएरै छाडे। अहिलेे उनको गाविस समेत समावेश गरेर घोराही उपमहानगरपालिका निर्माण भएपछि नरुलाल त्यसको नगर प्रमुख बने।

शिक्षक, समाचारवाचक हुँदै राजनीतिमा सक्रिय भएका नरुलाल २०६४ सालको संविधानसभा चुनावमा पराजित भएको १० वर्षपछि उपमहानगरपालिका प्रमुखमा निर्वाचित भए। २०६४ सालको संविधानसभाको निर्वाचनमा दाङ क्षेत्र नम्बर २ बाट माओवादीकी दामा शर्मासँग नरुलाल पराजित भएका थिए। 

२०६४ सालको चुनावमा पराजित भए पछि उनले व्यवसायिक रुपमा कुखुरापालन शुरु गरे। २ वर्षयता उनले माौरीपालन समेत गरेका छन्। 'राजनीति गर्ने भएकाले आयस्रोत केही नहुने त्यसैले खर्चको जोहोका लागि भएपनि मैले कुखुरापालन व्यवसाय शुरु गरेको हुँ' उनले भने।

अखिल नेपाल किसान संघको केन्द्रीय सचिव, एमालेको सातौं महाधिवेशनमा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य भएका नरुलाल २०६९ सालमा एमाले दाङ जिल्ला कमिटीको अध्यक्षमा निर्वाचित भए। 

२०३६ सालमा १२ वर्षको उमेरमै पार्टीका गतिविधिमा सक्रिय भएका उनी अनेरास्ववियुको क्याम्पस कमिटीबाट राजनीति अघि बढाएका थिए। एमालेको विभिन्न कमिटीमा काम गर्दै उनी २०५४ सालमा जिल्ला सदस्य भएका थिए। व्यवस्थापनमा स्नातकसम्मको अध्ययन पूरा गरेका नरुलाल पढाइ छाडेको २२ वर्षपछि अहिले एमबिएस दोस्रो वर्ष अध्ययन गर्दैछन्।

२०२४ सालमा साविकको रामपुर गाविस जन्मिएका उनले अनेरास्ववियुबाट विद्यार्थी राजनीति शुरु गरेका हुन्। घोराही उपमहानगरको प्रमुखमा निर्वाचित भइसकेपछि उनले उपमहानगरलाई सबै पूर्वाधार तथा स्रोतसाधनले सम्पन्न बनाउन सबैसँग पहल गर्ने बताए।

निर्वाचित भएपछि कुराकानी गर्दै नरुलालले सबैभन्दा पहिले उपमहानगरको बाटो मर्मत, सुधार तथा बिस्तार कार्यमा ध्यान दिने बताए। आफ्नो पहिलो कामका रुपमा महानगरका सबै वडाहरुमा वडा कार्यालय स्थापना गरी कामकाज शुरु गर्ने बताए।

'पहिलो काम त वडा कार्यालयहरु स्थापना गरी जनताका कामकाज सम्बन्धित वडाबाटै शुरु गर्ने कार्यको सुरुवात गर्नेछौं' प्रमुख नरुलालले भने, 'यहाँ मुख्य काम बाटोहरु बनाउनुपर्ने। सबै ठाउँमा बिस्तार गरी सधैं गाडी चल्ने बनाउनुपर्ने छ। हामी त्यही कामलाई अगाडि बढाउछौं।'

उपमहानगरका सबै निकायसँग समन्वय गरेर काम गर्ने बताउदै खानेपानी, सिञ्चाई तथा आधुनिक कृषिका लागि काम गर्ने उनले बताए। ८५ वर्ष पुगेका जेष्ठ नागरिकलाई घरमै गएर स्वास्थ्य जाँग सेवा उपलब्ध गराउने नरुलालको योजना छ। उपमहानगर क्षेत्रभित्र रहेका कजवेलाई हटाउन पुल निर्माण भइरहेका खोलाहरुका सम्बन्धमा सम्बन्धित निकायसँग समन्वय गरेर छितोछरितो पुल निर्माण सम्पन्न गर्ने कार्यमा सहयोग गर्ने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.