|

काठमाडौं : भीमबहादुर थापा क्षेत्री नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य हुन्। उनी नवलपरासी उद्योग वाणिज्य संघको अध्यक्ष समेत हुन्।

सोमबारदेखि उनमा अर्को ठूलो जिम्मेवारी थपिएको छ। उनलाई नवलपरासी सुनवल नगरपालिकाका वासिन्दाले नगर प्रमुखमा निर्वाचित गरे। उनी अब उद्योगी र व्यापारीको नेताबाट जनप्रतिनिधि बने। 

भीमबहादुर जस्तै नवलपरासी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्रकुमार गुप्ता पनि जिल्लाकै रामग्राम नगरपालिका प्रमुखमा विजयी भएका छन्। गुल्मी उद्योग वाणिज्य संघको पूर्व अध्यक्ष डिल्लीराज भुसाल पनि गुल्मीको रेसुङ्गा नगरपालिका प्रमुखमा विजयी भए।

दोस्रो चरणको स्थानीय चुनावमा विभिन्न पार्टी र स्वतन्त्र रुपमा उम्मेदवारी दिएका उद्योगी व्यवसायीमध्ये कतिले पराजय बेहोरेका छन् भने केही व्यवसायी प्रतिस्पर्धामै छन्। तर भीम, नरेन्द्र र डिल्लीको भने नगर हाँक्ने सपना पूरा भएको छ।

निजी क्षेत्रका नेता रहेका यी तीन जनाले शिक्षा, स्वास्थ्य र यातायातको सुविधा वृद्धिका साथै रोजगारी वृद्धिलाई आफ्नो मुख्यो एजेण्डा बनाएर काम गर्ने बताएका छन्। उद्योग मैत्री वातावरण निर्माणमा प्रतिवद्धता र अनुशासित व्यवसायको विस्तार गर्ने संस्कारमा जोड दिने उनीहरुको भनाइ छ।

भीमबहादुर थापा क्षेत्री, सुनवल नगरपालिका- नवलपरासी

नेपाल उद्योग वाणिज्य महासंघको ५१ औं साधारण सभाबाट उनी महासंघको केन्द्रीय सदस्य निर्वाचित भएका थिए। उनी अहिले नवलपरासी उद्योग वाणिज्य संघको अध्यक्ष समेत छन्।

थापाका नवलपरासीमा दुई वटा पेट्रोल पम्प रहेका छन्। निर्माण व्यवसायी समेत रहेका उनले पाल्पामा चुनढुङ्गा खानी पनि सञ्चालन गरेका छन्। नेपाली कांग्रेसमा आवद्ध उनी २०४८ सालमा नेपाल विद्यार्थी संघ नवलपरासीको ईकाइ सभापति बने। २०५३ सालमा क्षेत्रीय उपाध्यक्ष र २०५५ सालमा जिल्ला उपाध्यक्ष भएर काम गरे। अहिले उनी कांग्रेसको महासमिति सदस्य रहेका छन्।

४६ वर्षका थापाले सुनवल नगरपालिका प्रमुखमा निर्वाचित हुनुलाई राजनीति गरेपछिको सबै भन्दा ठूलो पदको रुपमा लिएका छन्। 'लामो समयदेखि नेपाली कांग्रेसमा आवद्ध म पार्टी र जनताले विश्‍वास गर्दा सुनवल नगरपालिका प्रमुख भएको छु, अब असल काम गरेर देखाउने छु' मंगलबार थाहाखबरसंगको टेलिफोन कुराकानीमा थापाले भने।

उनको पहिलो योजना सुनवललाई बाल मैत्री नगरको विकास गर्नु रहेको छ। 'सुनवललाई पहिलो बालमैत्री नगर त भनिन्छ तर यहाँका नानीबाबु पढ्नको लागि समेत रुपन्देही जानुपर्ने बाध्यता छ, अन्य धेरै समस्या पनि छन्, अब बालमैत्री नगर बनाउने हो' थापाले भने।

उनले घोषणा पत्रमा  ५ वर्षमा सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर वृद्धि गरेर निजी सरह बनाउने र नगरपालिकामा ५० शैय्याको अस्पताल निर्माण गर्ने जस्ता योजना उल्लेख गरेका थिए।

सुनवलको एक हजार रोपनी क्षेत्रमा पूर्वधारयुक्त औद्योगिक क्षेत्र बनाउने, रोजगारी खोज्ने युवाहरुलाई प्राविधिक तालिम दिने र व्यवसाय गर्न चाहनेलाई सुलभ व्याजमा ऋण उपलब्ध गराउने आफ्नो योजना रहेको थापा सुनाउँछन्।

सरकार र उद्योगी व्यवसायी हातेमालो गरेर हिँड्दा समृद्ध नगर बनाउन सकिने बताउदै उनले जिल्ला उद्योग वाणिज्य संघको नेतृत्व पनि आफ्नो कार्यकालसम्म पूरा गर्ने बताएका छन्। जिल्ला उद्योग वाणिज्य संघको आचारसंहिता अनुसार आफूले कुनै पद छोड्न नपर्ने उनको भनाइ छ।

नरेन्द्रकुमार गुप्ता, रामग्राम नगरपालिका- नवलपरासी

नवलपरासी रामग्राम नगरपालिकामा नेपाली कांग्रेसबाट नगर प्रमुखमा उम्मेदवारी दिएका नरेन्द्र कुमार गुप्ता विजयी भए। स्थानीय स्तरमा उनी राजनीतिकर्मीको रुपमा भन्दा व्यवसायीको रुपमा चिनिन्छन्।

दूध डेरीबाट व्यवसाय सुरु गरेका उनले अहिले नवरपरासीमा एसके डेरी उद्योग र शिवशंकर इट्टा उद्योग सञ्चालन गरेका छन्। नवलपरासी उद्योग वाणिज्य संघमा २०५० सालमा कार्यसिमति सदस्यमा निर्वाचित भएका उनी कोशाध्यक्ष, सचिव, उपाध्यक्ष हुँदै अहिले नवलपरासी उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष रहेका छन्।

४३ वर्षीय गुप्ता २०४८ सालदेखि नेपाल विद्यार्थी संघमा सक्रिय थिए। नेपाली कांग्रेसको १२ औं महाधिवेशनबाट नगर सचिव भएका उनी १३ औं महाधिवेशनमा कांग्रेस क्षेत्री सभापति भएका छन्।

सोमबार रामग्रामको नगरपालिका प्रमुख बनेका गुप्ता भन्छन् 'अबको दुई वर्षमा सडकहरु सबै व्यवस्थित हुन्छ, पक्की हुन्छ र पानी नजम्ने हुन्छ'।

उनका यी बाहेक तीन योजना रहेका छन्। रामग्राममा कृषि, पशुपालन लगायतका क्षेत्रमा स्वरोजगार बढाउने, प्राविधिक तालिमबाट दक्ष युवाशक्ति उत्पादन गर्दै युवाहरुलाई बेरोजगार मुक्त बनाउनु र रामग्रामलाई धार्मिक पर्यटकीय शरहको रुपमा विदेशमा समेत परिचित गराउने।

उनले व्यवसायीलाई रहरले कर तिर्ने वातावरण बनाउने समेत बताएका छन्। 'स्थानीय सरकारले गर्नुपर्ने र दिन सकिने सबै सुविधा हामीले उद्योगी व्यवसायीलाई दिन्छौँ, थप गर्नुपर्नेलाई केन्द्रीय र प्रादेशिक सरकारसँग पहल गर्छौ, तर नाफा कमाएको केही प्रतिशत रकम कर तिर्नलाई आनाकानी गर्न भने छुट हुदैन' गुप्ताले भने।

डिल्लीराज भुसाल, रेसुंगा गाउँपालिका- गुल्मी

रोटरी क्लव, नेत्र ज्योति संघ लगायतका सामाजिक संस्थाहरुमा सक्रिय ६४ वर्षीय डिल्लीराज भुसाल स्थानीय तहको दोस्रो चरणको निर्वाचनबाट रेसुङ्गा नगरपालिका प्रमुखमा निर्वाचित भए। 

क वर्गका निर्माण व्यवसायी भुसाल गुल्मी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत हुन्। साथै उनी नेकपा एमाले गुल्मीका सचिवालय सदस्य रहेका छन्। कुनै समय तम्घासमा होलसेल व्यापार गर्ने उनले अहिले व्यापार छोडिसकेका छन्। भुसालले गर्दै आएको निर्माण व्यवसायको काम समेत अब छोराको जिम्मा दिएर र पूर्ण रुपमा जनप्रतिनिधिको रुपमा काम गर्ने बताउँछन्।

'२०३७ सालदेखि एमालेमा सक्रिय म रेसुङगा नगरपालिका प्रमुख भएको छु, कांग्रेसको गढ भएको ठाउँमा मलाइ यहाँका जनताले जिताएका छन् अब म काम गरेर देखाउने हो' थाहाखबरसँगको कुराकानीमा भुसालले भने।

उनले गुल्मीमा औद्योगिक सम्भावना कम भएको तर पर्यटकीय सम्भवना बढी भएको बताउँदै यसका लागि आफूले पहल गर्ने बताए। 'सडक सत्र्जाल विस्तार र अन्य पूर्वाधर वास नै मेरो पहिलो प्राथमिकता हुनेछ' भुसालले भने।

उनले मर्यादित व्यवसायको विकासमा आफ्नो ध्यान केन्द्रित हुने समेत बताएका छन्। 'उद्योगी व्यापारीले पनि अनुशासनमा बसेर काम गर्नु पर्यो, स्थानीय सरकारले गर्नुपर्ने सहयोग र दिनुपर्ने सुविधामा कमी हुदैन' उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.