|

काठमाडौँः साहित्य सदन नेपालले यस वर्षको ‘गोपालप्रसाद रिमाल पुरस्कार’ प्रगतिवादी कवि तथा व्यंग्य निबन्धकार विमल निभालाई प्रदान गरेको छ।

सदन र नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा असार १९ गते सोमबार राजधानी काठमाडौँमा आयोजित कवि तथा नाटककार गोपालप्रसाद रिमालको शतवार्षिकी समारोहमा सो पुरस्कार प्रदान गरिएको हो।

पाँच दशकदेखि रिमालको गद्य कविता परम्परालाई विद्रोही तथा क्रान्तिकारी चेतका रूपमा जीवन्त राख्दै समाज रूपान्तरणमा दिएको योगदानबापत निभालाई सो पुरस्कार दिइएको बताइएको छ।

कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले यस वर्षभरि रिमालको योगदान, लेखन प्रवृत्ति र नयाँ प्रयोगबारे चर्चा परिचर्चा गरिने जानकारी दिँदै निभाको शक्तिशाली कलमले समाजलाई उद्वेलित गर्ने गरेको बताए।

प्रतिष्ठानका काव्य विभाग प्रमुख प्राज्ञ डा. अमर गिरीले रिमालले आरम्भ गरेको विद्रोहचेत र परिवर्तनकारी धारलाई निभाले समाउँदै समकालीन नेपालको तस्बीर दुरुस्तै ल्याइदिने गरेको बताए।

सदनका सचिव मित्रलाल पंज्ञानीले निभाले लेखनीबाट प्रहारको निशाना लगाउँदा विवेक नगुमाएको बताए। उनले पुरस्कारका लागि समाजसेवी वसन्त रिजालले एक लाख रुपैयाँ बीज रकम प्रदान गरेको जानकारी पनि दिए।

प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँला र साहित्यकार आनन्ददेव भट्टले रिमालले मुक्त हिसाबले लेख्ने वातावरण बनाएको र आफूहरूलाई आफ्नो लेखनीद्वारा प्रभावित र उत्तेजित गराएको बताए।

पुरस्कृत व्यक्तित्व निभाले आफू रिमालको मार्गमा हिँड्ने साना कवि भएको बताउँदै पुरस्कारले आफूलाई हौस्याएको स्पष्ट पारे। रिमालका सुपुत्र मदन रिमालले बुबाको स्मृतिमा प्रतिष्ठान स्थापना गर्ने र स्मृतिग्रन्थ प्रकाशन गरिने जानकारी दिए।

सोही अवसरमा मोहन थापाद्वारा लिखित ‘सुबेदार मेघबहादुर थापा (राणाशासन, विश्वयुद्ध र मृत्युदण्ड)’ शीर्षक अनुसन्धानात्मक कृति विमोचन गरिएको थियो। थापालाई विद्रोह गरेको  प्रमाणविना नै जुद्धशम्शेरको आदेशमा  अनाहकमा  वि.सं. १९९७ मा फाँसी दिइएको थियो। स्व. मेघबहादुर साहित्य सदनका अध्यक्ष बुद्धिबहादुर थापा (अमीर)का पिता हुन्।

कृतिमाथि टिप्पणी गर्दै प्रा.डा. सुरेन्द्र केसीले हेपिएका, छोपिएका र पिल्सिएका व्यक्तिको पनि इतिहास लेखिनुपर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.