|
विराटनगरमा मतगणनाको तयारीको फोटो।

मोरङ : जिल्लामा चुनावी मतपरिणाम सार्वजनिक भइरहँदा एक उम्मेदवारले कुनै पनि भोट ल्याउन सकेनन्। १० भन्दा कम भोट ल्याउने उम्मेदवारको संख्या भने ठूलो छ।

बुढीगंगा गाउँपालिकाका प्रमुखका स्वतन्त्र उम्मेदवार, हिमादेवी भुजेलले कुनै भोट ल्याउन सकिनन्। उनी आफैंले आफैंलाई भोट नदिएर अरु कसैलाई भोट दिइन् वा उनको भोट बदर भयो ? यस विषयमा केही खुलेको छैन्।

रतुवामाई नगरपालिकाको वडा नम्बर ४ का अध्यक्षका उम्मेदवार दिलिपकुमार अग्रवालले पनि कुनै भोट ल्याउन सकेनन्। यस्तै केराबारी गाउँपालिकाका वडा नम्बर १ राप्रपाका उम्मेदवार जितबहादुर लिम्बूले पनि ० मत पाएका छन्।

१० भन्दा कम भोट ल्याउनेहरु

बुढीगंगा गाउँपालिकामा १० भन्दा कम भोट ल्याउने ल्याउनेहरुको सूची लामै छ। अध्यक्षकी उम्मेदवार अमला उराउले ३, चन्द्रकुमार ऋषिदेवले ५ भोट ल्याएका छन्। यही गाउँपालिकाको वडा नम्बर ४ र ६ का राप्रपाका वडा अध्यक्षका उम्मेदवार क्रमशः राजकुमार चौधरी र दयाराम चौधरीले ४/४ मत पाएका छन्।

यस्तै रतुवामाई नगरपालिकाको राष्ट्रिय जनमोर्चाको तर्फबाट अध्यक्षका उम्मेद्वार कल्पना राईले ४ र उपप्रमुखकी स्वतन्त्र उम्मेद्वार जमरलाल गनगाईंले ५ मत पाएका छन्। यही नगरपालिकाको वडा नम्बर ८ का वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार होमबहादुर अधिकारीले २ मत पाएका छन्। 

मिक्लाजुङ गाउँपालिका वडा नम्बर ९ मा नयाँ शक्तिका तर्फबाट अध्यक्षका उम्मेदवार बनेका कुलराज नेपालले ६ मत पाएका छन्।  यस्तै केराबारी गाउँपालिकाका वडा नम्बर २ का राप्रपाका उम्मेद्वार सीताकुमारी लिम्बूले ५ मत र वडा नम्बर ३ का राप्रपाका उम्मेदवार मिलन राईले ४ मत पाएका छन्।

कानेपोखरी ७ का स्वतन्त्र वडा अध्यक्षका उम्मेदवार चक्रबहादुर लिम्बूले २ मत ल्याएका छन्। ग्रामथान गाउँपालिका ५ का नेपाल मजदुर किसान पार्टीका वडा अध्यक्षका उम्मेदवार जयराम थारुले ३ मत ल्याएका छन्।

मोरङको उर्लाबारी २ का वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार पुण्यप्रसाद भट्टराईले १, बेलबारी १ का खम्बुवान राष्ट्रिय मोर्चाका वडा अध्यक्षका उम्मेदवार भीम राईले १, बेलबारी ४ का स्वतन्त्र उम्मेदवार मणिकुमार लिम्बूले १, देवराज घिमिरेलाई २ र पिताम्बर कोइरालाले ४ मत ल्याएका छन् भने बेलबारी ७ का नेमकिपाका अध्यक्षका उम्मेदवार यामबहादुर दर्जीले १ मत पाएका छन्।

यस्तै ५ मत भन्दा कम ल्याउनेहरु सुन्दर हरैंचा नगरपालिकामा पनि रहेका छन्। सुन्दर हरैंचाको प्रमुखका उम्मेदवार राष्ट्रिय जनमोर्चाका गंगाप्रसाद लिम्बूले ५, स्वतन्त्र कर्णबहादुर श्रेष्ठले ४, वडा नम्बर ४ को अध्यक्षका स्वतन्त्र उम्मेदवार वीरबहादुर खड्काले २, वडा नम्बर ९ का छत्रप्रसाद खनालले १ र वडा नम्बर ८ का संघीय समाजवादीका उम्मेदवार भुपाल चौधरीले ४ मत ल्याएका छन्।

मोरङमा कांग्रेस अगाडि

पछिल्लो ९ वटा स्थानीय तहको परिणाम अनुसार ५ वटामा कांग्रेस, ३ वटामा एमाले र १ वटामा फोरम लोकतान्त्रिकका उम्मेदवार विजयी भएका छन्। कांग्रेसले जितेका स्थानीय तहमा केराबारी गाउँपालिका, लेटाङ गाउँपालिका,  रतुवामाई नगरपालिका, सुन्दर हरैंचा नगरपालिका र कटहरी गाउँपालिका छन्।

एमालेले मिक्लाजुङ गाउँपालिका, कानेपोखरी गाउँपालिका र ग्रामथान गाउँपालिका जितेको छ। फोरम लोकतान्त्रिकले बुढीगंगा गाउँपालिकामा जीत हात पारेको छ।
यस्तै बाँकी ८ वटा स्थानीय तहमध्ये ४ वटामा कांग्रेस, ३ वटामा एमाले र १ वटामा माओवादी केन्द्र अगाडि छन्।

कांग्रेस विराटनगर माहानगरपालिका, उर्लाबारी, सुनवर्षी नगरपालिका र जहदा गाउँपालिकामा अगाडि छ। एमाले बेलबारी, पथरीशनिश्चरे नगरपालिका र ग्रामथान गाउँपालिकमा अगाडि छ।  माओवादी केन्द्र रंगेली नगरपालिकामा अगाडि छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.