|

काठमाडौँ: दोस्रो चरणअन्तर्गत १४ असारमा सम्पन्न ३३४ स्थानीय तहको निर्वाचनमा प्रमुख दलले केही स्थानमा आफ्नो पकड गुमाएका छन् भने कतै प्रभाव बिस्तार गरेका छन्।

प्रदेश नं. एक, पाँच र सातका ३५ जिल्लामा भएको निर्वाचनमा नेपाली कांग्रेस र एमालेले रुकुममा कुनै तहको नेतृत्व गर्ने अवसर पाएनन्। धनकुटामा एमाले एक्लैले सात स्थानीय तह जितेको छ। पहिलो चरणमा भएको छ नम्बर प्रदेशको निर्वाचनमा समेत रुकुमका नौ स्थानीय तहमा सबै माओवादी केन्द्रले नै विजय हासिल गरेको थियो। दोस्रो चरणको निर्वाचनमा पाँच नम्बर प्रदेशमा पर्ने तीन तहमा समेत माओवादीले नै बर्चश्व राख्न सकेको हो।

माओवादी केन्द्रले भने एक नम्बर प्रदेशका नौ, पाँच नम्बर प्रदेशका तीन र सात नम्बर प्रदेशका दुई गरी १४ जिल्लाबाट कुनै पनि स्थानीय तहमा नेतृत्व लिन सकेन। बाजुरा, बझाङ, गुल्मी, पाल्पा, कपिलबस्तु, ताप्लेजुङ, इलाम, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ र झापाबाट माओवादीले कुनै पनि तहमा जित्न सकेको छैन।

एमालेको बर्चश्व रहेको बाजुराका छ तहमा कांग्रेसले विजय हासिल गरेको छ भने बैतडीका बहुमत अर्थात छ स्थानीय तहमा कांग्रेसले कब्जा जमाएको छ। बाजुरामा नौ र बैतडीमा १० स्थानीय तह छन्। एउटा मात्र निर्वाचन क्षेत्र रहेको बाजुरामा कांग्रेसले गत संविधानसभा निर्वाचनमा एक सिट पनि जितेको थिएन भने बैतडीमा एक सिट जितेको थियो।

अर्घाखाँचीका छ स्थानीय तहमध्ये कांग्रेसले चारवटामा विजय हासिल गरेर प्रभाव फैलाएको छ। गत २०७० मा भएको संधिानसभा निर्वाचनमा एमाले र माओवादी केन्द्रले एक/एक सांसद जिताएका थिए। कांग्रेसले अर्घाखाँचीमा एमाले र माओवादी केन्द्रलाई एक/एकवटा स्थानीय तहमा खुम्च्याउन सफल भएको छ।

पछिल्लो संविधानसभा निर्वाचनमा दुवै निर्वाचन क्षेत्र जितेको एमालेले यस पटकको स्थानीय तहको निर्वाचनमा नराम्रोसँग झड्का बेहोर्नुपरेको छ। अछामका १० स्थानीय तहमध्ये कांग्रेस एक्लैले पाँच तहमा जीत हात पारेको छ। एमाले उपाध्यक्ष भीम रावलको गृहजिल्ला अछाममा उसले भने तीन तहमा चित्त बुझाउनुपरेको छ। यहाँ माओवादीले दुई स्थानमा जितेको छ।

संगठन र प्रभावका हिसाबले महत्त्वका साथ हेरिएको दाङ जिल्लामा कांग्रेसले नराम्रो धक्का बेहोर्नुपरेको छ। कांग्रेसका पाँच सांसद प्रत्यक्ष जिताएको दाङले १० वटा स्थानीय तहमध्ये तीनवटाबाट मात्र कांग्रेसलाई अनुमोदन गरेको छ। दुईमध्येको एक उपमहानगर घोराहीमा एमालेले झण्डा गाडिसकेको छ भने अर्कोमा पनि कांग्रेससँगको मतान्तर बढाएको छ। यो जिल्लामा एमालेले आफ्नो शाख फर्काएको छ।

एमालेले बझाङका १२ मध्ये सात र धनकुटाको सातमा सातै स्थानीय तहमा जीत हासिल गर्न सफल भएको छ। एक नम्बर प्रदेशको भोजपुरमा भने कांग्रेसले एमालेको किल्ला भत्काएको छ। १० तह रहेको भोजपुरमा कांग्रेसले चार र माओवादी केन्द्रले एक तहमा विजय हासिल गरेका छन्।

गत संविधानसभा निर्वाचनमा दुवै क्षेत्र जितेको खोटाङ र ताप्लेजुङमा यस पटक कांग्रेसले आफ्नो प्रभाव बढाएको छ। कांग्रेसको संगठन कमजोर मानिएका नौवटा स्थानीय तह भएका ताप्लेजुङ, खोटाङ र भोजपुरमा ४/४ स्थानीय तहमा विजय हासिल गरेको छ। यी तीनवटै जिल्लामा २०७० को संविधानसभा निर्वाचनमा एक सिट पनि जितेको थिएन।

कांग्रेसको संगठन कमजोर मानिएको पाँच नम्बर प्रदेशको प्युठानमा तीन र रोल्पामा एक स्थानीय तहमा विजय हासिल गरेर कांग्रेसले आफ्नो उपस्थिति देखाएको छ। एमालेले राम्रो आशा गरेको प्युठानमा कांग्रेसले तीन र माओवादीले एक स्थानमा जीत हासिल गरेका छन्। रोल्पा माओवादी केन्द्रको गढ मानिन्थ्यो भने प्युठान एमाले र राष्ट्रिय जनमोर्चाको पकड क्षेत्रको रूपमा चिनिएको छ।

माओवादी केन्द्रको बर्चश्व र गढ भनेर चिनिएको रोल्पाका १० स्थानीय तहमध्ये तीनवटा गुमेका छन्। एमालेले दुई र कांग्रेसले एक स्थानीय तहमा जितेपछि माओवादीको प्रभाव रोल्पामा खुम्चिएको हो।

मत परिणममा अस्वाभाविक परिवर्तन नआएमा कांग्रेसले १६ स्थानीय तह रहेको मोरङ र १२ स्थानीय तह रहेको सुनसरीमा बहुमत स्थानीय तहमा विजय हासिल गरेर आफ्नो प्रभाव फैलाउने निश्चित छ।

कांग्रेसले विगतदेखि नै राम्रो पकड जमाएको रूपन्देही, सोलुखुम्बु र उदयपुरमा यस पटक कमजोर उपस्थिति रह्यो। आठ स्थानीय तह रहेको सोलुखुम्वुमा एक, १६ स्थानीय तह रहेको रूपन्देहीमा दुई र १३ स्थानीय तह रहेको कैलालीमा कांग्रेस दुई मात्र स्थानीय तहमा विजय हुन सक्यो।

१६ स्थानीय तह रहेको रूपन्देहीमा कांग्रेसले आफ्नो शाख गुमाउँदै दुईवटामा सीमित भएको छ भने एमालेले बर्चश्व गुमाउन दिएको छैन। रूपन्देहीमा एमालेले चार स्थानीय तह जितिसेको छ। रूपन्देहीमा संघीय समाजवादी फोरमले तीन स्थानीय तहमा जीत हासिल गरेर प्रभाव देखाएको छ। फोरमले रूपन्देहीका रोहिणी गैडहवा र मर्चवारीमा जीत हात पारेको छ।

रूपन्देहीबाट तत्कालीन तराई-मधेश लोकतान्त्रिक पार्टी (हाल राष्ट्रिय जनता पार्टी) का दुई सांसद संविधानसभा निर्वाचनमा निर्वाचित भएका थिए।

इलाम, तेह्रथुम र उदयपुरमा एमालेले आफ्नो किल्ला गाडेको छ, जसले गर्दा उदयपुरमा कांग्रेसले शाख गुमाएको छ। इलामका १० मध्ये सातमा एमाले र तीनमा कांग्रेसले जीत हात पारेको छ।

एमाले नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालको गृहजिल्ला हो इलाम। तेह्रथुमका छमध्ये पाँच तह जितेर आफ्नो बर्चश्व जोगाएको एमालेले उदयपुरका सातमध्ये चारमा जीत हात पारेर कांग्रेसलाई कमजोर बनाएको छ। उदयपुरमा गत संविधानसभा निर्वाचनमा कांग्रेसले दुई क्षेत्रबाट सांसद निर्वाचित गर्न सफल भएको थियो।

एमालेको गढ मानिएको दार्चुला र बाजुरामा यस पटक कांग्रेसले धावा बोलेको छ। दार्चुला र बाजुरका नौमध्ये क्रमश: पाँच र छ स्थानीय तहमा कांग्रेसले विजय हासिल गरेको छ।

सोलुखुम्बुमा रहेको कांग्रेसको पकड र प्रभाव एमाले र माओवादीले खोसेका छन्। कांग्रेसका प्रभावशाली नेता बलबहादुर केसीको गृहजिल्ला सोलुखुम्बुमा कांग्रेसले एक तहमा मात्र जित्यो। सोलुमा एमालेले चार र माओवादीले तीन स्थानीय तह कब्जा गरेर कांग्रेसको प्रभावलाई खुम्च्याइदिएका छन्।

एमालेले सबैभन्दा बढी बझाङमा आठ, धनकुटा, इलाम र गुल्मीमा ७/७ र पाल्पामा छ स्थानीय तहमा विजय हासिल गरेको छ। उदयपुरमा एक र कैलालीमा तीन स्थानीय तहको मत परिणाम आउन बाँकी भए पनि यी जिल्ला कांग्रेसको पकड क्षेत्र भनेर चिनिएका थिए। कैलालीका चार निर्वाचन क्षेत्रमा जितेको कांग्रेसले हालसम्म दुईवटा मात्र स्थानीय तह जितेर कमजोर उपस्थिति देखाएको छ।

पाँचवटा निर्वाचन क्षेत्र रहेको दाङका सबै क्षेत्रमा कांग्रेसले विजय हासिल गरेको थियो। तर स्थानीय तहको निर्वाचनमा भने कांग्रेसले दाङका १० तहमध्ये तीनवटामा मात्र विजय हासिल गरेको छ।

आफ्नो पकड कायम राख्न एमालेलाई सुनसरीमा धौधौ परिरहेको बेला कांग्रेसले भने मोरङमा आफ्नो प्रभाव फैलाएएको छ। उसले विगतमा एमालेको प्रभाव क्षेत्र मानिएको उत्तरी मोरङका केराबारी, लेटाङ र सुन्दर हरैँचा र पूर्वी मोरङको रतुवामाई नगरपालिकामा जीत हासिल गरेर एमालेलाई धक्का दिएको छ।

झापामा भने एमालेले प्रभाव बिस्तार गरेको छ। झापामा सबै तहको मत परिणाम घोषणा हुन बाँकी भए पनि राष्ट्रिय प्रजातन्त्र पार्टीले कचनकवल र हल्दिवारी गाउँपालिकामा जीत हासिल गरेर सनसनी मच्चाएको छ। यी दुवै क्षेत्र कांग्रेस नेता कृष्णप्रसाद सिटौलाका राजनीतिक क्षेत्र हुन्। झापा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला पनि हो।

राष्ट्रिय प्रजातन्त्र पार्टीले संगठन राम्रो भएको जिल्ला धनकुटा, बैतडी र रूपन्देहीबाट एउटा पनि स्थानीय तहमा जीत हासिल गर्न सकेन। उसले बाँकेको नेपालगञ्ज उपमहानगरमा विजय हासिल गरेर आफ्नो पुरानो शाख फर्काउन सफल भएको छ।

फोरम लोकतान्त्रिकले सुनसरी र कैलालीमा आफ्नो पकड सुरक्षित राख्न सफल भएको छ भने रूपन्देहीमा खाता खोलेको छ। उसले मोरङमा भने आशातीत सफलता पाउन सकेन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.