|

बैतडी :पुरानतवादी सोच राख्‍ने उतिबेलाको नेपाली समाज, त्यसमा पनि पिछडिएको क्षेत्र मानिने सुदुरपश्चिमको बैतडी जिल्ला। यस्तो परिवेशमा १७ वर्षकी एक किशोरीलाई घरबाटै निस्कन मुस्किल थियो। तर उनी घर छाडेर हिडिँन्। गाउँ छाडेर हिडिँन्। पुरातनवादी सामाजिक सोचलाई कुल्चदैं, भत्काउँदै समृद्ध समाज निमार्णका लागि आफ्ना पाइलाहरु अबिराम अगाडि बढाउँदै लम्किइन्। 

उनको राजनीतिक यात्रा २०५९ सालबाट सुरु भयो, जतिबेला माओवादी जनयुद्ध उत्कर्षमा थियो र उनीजस्ता थुप्रै किशोर–किशोरी तथा युवा–युवती युद्धमा होमिएका थिए।  उनी कहिले माओवादीको सांस्कृतिक टोलीमा सहभागी भएर गाउँ–गाउँमा पुग्थिन् त कहिले अन्य विद्यार्थी समेतलाई जरुक्क पार्ने गरी भाषण गर्थिन्।

‘समाजले कुरा काट्नु स्वभाविकै हो किनभने हाम्रो समाजले महिलालाई घरभन्दा बाहिर जानु नपर्ने संस्कारको विकास गरेको छ,’ भर्खरै पुर्चौंडी नगरपालिकाको उपप्रमुख पदमा निर्वाचित भएकी नेकपा माओवादीकी जानकी ऐर बमले विगतको स्मरण गर्दै भनिन्,‘अब त्यही संस्कारको अन्त्यका लागि हामी महिला दिदीबहिनी लाग्नुपर्छ।’

भूमिगत राजनीति हुँदै शान्ति प्रक्रियापछि खुला राजनीतिमा समेत सक्रिय जानकी आन्दोलनमा लागेको १५ वर्षपछि नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएकी छन्। उनकै शब्दमा भन्ने हो भने समाज रुपान्तरणको अभियान जारी छ। मोर्चा मात्रै फेरिएको हो। ‘मलाई हाम्रो क्षेत्रका महिलाका पीडा राम्ररी थाहा छ,’ उनले भनिन्, ‘ती पीडाको सम्बोधन गर्न हाम्रो समाजको दृष्टिकोणमा नै परिवर्तन ल्याउनुपर्छ र समाजमा महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउने काम गर्छु।’

सर्वहारा वर्गको मुक्तिका लागि राजनीतिमा लागेको उनको भनाइ छ। माओवादी जनयुद्धको बलमा आएको गणतन्त्र र संघीयतासहितको नयाँ व्यवस्थालाई संस्थागत गर्न अब नयाँ लडाँई लड्ने उनले बताइन्।

यसअघि पार्टीकै जिम्मेवारीमा सीमित जानकी उपप्रमुख बनेपछि आम महिलाको प्रतिनिधित्व गर्न चाहन्छिन्। सबै महिलाको हक–हितका लागि काम गर्ने उनले बताइन्। म विद्यालय जाने उमेरमा भूमिगत भएकी हुँ र उतिबेलादेखि नै हरेक क्षेत्रमा महिला नेतृत्व आउनुपर्छ भन्ने मेरो मान्यता थियो। यसमा आगामी दिनमा म अडिग रहनेछु,’ उनले भनिन्,‘हामीले एक भएर अगाडी बढेमा आगामी दिनमा महिला नेतृत्व सक्षम र सबल बन्न सक्छ,’ उनले भनिन्।

आर्थिक र शिक्षा क्षेत्रमा पहुँच नपुगेका कारण महिलाहरु शोषित हुनपरेको जानकीको अनुभव छ। त्यसैले यी क्षेत्रलाई महिलाको पहुँचमा ल्याउने उनका योजना छन्। ‘पुर्चौडी क्षेत्रका महिला अन्य क्षेत्रको तुलनामा कमजोर छन्। यसको प्रमुख कारण आर्थिक र शिक्षा क्षेत्रमा उनीहरु पहुँच नहुनु हो,’ नेकपा माओवादी केन्द्रको भगिनी संगठन अखिल नेपाल महिला संघ(क्रान्तिकारी)को केन्दीय सदस्य समेत रहेकी उनले भनिन्,‘‘जसरी मलाई मतदाताले यो पदमा पु¥याउनुभो त्यसरी नै सबैको हितमा काम गर्नेछु। मुलतः महिला मुक्तिका लागि मेरो सक्रियता जारी रहनेछ।’

महिलालाई आत्मनिर्भर बनाउनका लागि सीपमूलक तालिमको व्यवस्था गर्ने, आधुनिक औजार उपलब्ध गराउने र विभिन्न व्यवसाय गर्न प्रत्साहित गर्ने उनका योजना छन्। ‘महिलाको जीवनस्तर सहज तुल्याउन प्रभावकारी ढंगले काम गर्नेछु,’ उनले भनिन्।

पुर्चौडी नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रबाटै रणबहादुर कुँवर मेयरमा निर्वाचित भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.