|

काठमाडौं : ३३४ स्थानीय तहमा भएको दोस्रो चरणको निर्वाचनमा बिहीबार दिउँसो ३१७ वटाको नतिजा आउँदा नेकपा एमालेले १४२ वटाको प्रमुख पद जितेको छ। उपप्रमुखमा भने १६७ वटा जिचतेको छ।

नेपाली कांग्रेसले भने ११७ स्थानीय तहमा प्रमुख जित्दा जम्मा ९८ वटामा मात्र उपप्रमुख जितेको छ। माओवादी केन्द्रले भने प्रमुख तथा उपप्रमुखमा ३७/३७ स्थानीय तह नै जितेको छ। यसरी हेर्दा नेकपा एमालेले प्रमुख पद नजितेको ठाउँमा पनि उपप्रमुख जितेको छ। नेपाली कांग्रेसले प्रमुख पद जितेको ठाउँमा पनि उपप्रमुख जितेको छ।

कञ्‍चनपुरको ३, बाजुराको १, बझाङको १, बैतडीको २, दार्चुलाको १, डोटीको १, प्युठानको १, अर्घाखाँचीको १, गुल्मीको ३, पाल्पाको १, कपिलवस्तुको  १, रुपन्देहीको १, नवलपरासीको १, शोलुखुम्बुको १, शंखुवासभाको १, ताप्लेजुङको २, ओखलढुङ्गाको १, खोटाङको १, भोजपुरको ३, पाँचथरको २, सुनसरीको १, मोरङको ५, इलामको २, झापाको ३ वटा स्थानीय तहमा प्रमुख पदमा कांग्रेस, माओवादी केन्द्र र राप्रपाले जित्दा उपप्रमुखमा भने एमालेले जितेको छ।

प्रमुख पद नजितेको ठाउँमा उपप्रमुखमा कसरी एमाले विजयी भयो? एमालेबाट उपप्रमुखका उम्मेदवार तुलनात्मक रुपमा लोकप्रिय भएर हुन् वा पार्टीको संगठन राम्रो हुँदाहुँदै लोकप्रिय उम्मेदवार नभएका कारण प्रमुख पदमा पराजित हुनुपरेको हो त? बाजुराको बुढीनन्दा नगरपालिका उपप्रमुख श्रृष्टी रेग्मी प्रमुख पदमा बढी प्रतिस्पर्धा हुने बताउँछिन्। ‘हुन त यो नगरपालिमा हामीले सजिलै जित्नुपर्ने हो। तर अघिल्लो निर्वाचन भन्दा यो निर्वाचन बढी प्रतिस्पर्धा भएको देखियो' उनी भन्छिन्, 'म आफू पनि राजनीतिमा सक्रिय भएको पढेलेखेको युवा भएका कारण पनि मतदाताहरुको बढी सहयोग पाए भन्ने लाग्छ।'

भोजपुरको षडानन्द नगरपालिकामा नेपाली कांग्रेसले प्रमुख पद जित्दा नेकपा एमालेकी उम्मेदवार मेरिका राईले उपप्रमुख जितेकी छन्। जिल्लामा पार्टीभित्रै भएको आन्तरिक त्रुटी तथा बढी आत्मविश्वासका कारण जिल्लाभरमै एमालेले प्रमुख पद गुमाएको उनले बताइन्।

एमालेका महिलाहरु सक्षम भएकाले उपप्रमुख पदमा जित्न सकेको मेरिका बताउँछिन। ‘भोजपुरमा यसपाली यस्तो रिजल्ट नआउनुपर्ने थियो। तर पनि हामीभित्रैको कमजोरीका कारण यस्तो रिजल्ट आयो' मेरिका भन्छिन, 'उपप्रमुखमा जित हुनुको ठ्याक्कै यही कारण त भन्न सकिदैन तर, अन्य दलका महिला उम्मेदवार भन्दा हामी राजनीतिक रुपमा पनि, शैक्षिक रुपमा पनि अलि सक्षम नै देखियौं। सायद त्यसैको कारण पनि हुन सक्छ।‘

केही ठाउँहरुमा भने विभिन्न राजनीतिक दलहरुसँग भएको तालमेलका कारण पनि उपप्रमुख/उपाध्यक्षको पद बढी आएको नेताहरु बताउँछन्। ' एमालेका महिलाहरु सामाजिक रुपमा संघसंस्थाका क्रियाशील भएको, राजनीतिक रुपमा अगाडि भएकाले उपप्रमुखमा राम्रो नतिजा आएको एमाले स्थायी कमिटी सदस्य  किरण गुरुङले बताए। 'यो जनताले दिएको भोट हो त्यसकारण राजनीतिक रुपमा सक्रिय भएर नै यो परिणाम आएको हो' उनले भने 'कतिपय स्थानमा विभिन्न पार्टीसँग तालमेल गरेका कारण पनि यो खालको परिणाम आएको हो।'

एमालेले उपप्रमुख मात्र जितेका स्थानीय तह यी हुन्

कञ्‍चनपुरको महाकाली नगरपालिका प्रमुखमा कांग्रेसका वीरबहादुर सुनारले जित्दा उपप्रमुखमा भने एमालेका चिनी ओझा गिरीले जितेकी छन्। कञ्‍चनपुरकै शुक्लाफाँटा नगरपालिका प्रमुखमा कांग्रेसका दिलबहादुर ऐरले जित्दा उपप्रमुखमा एमालेका तुलसीदेवी हमालले जितेकी छन्। 

बाजुराको बुढीनन्दा नगरपालिका प्रमुखमा कांग्रेसका पदमकुमार गिरीले जित्दा उपप्रमुखमा नेकपा एमालेकी श्रृष्टी रेग्मीले जितेकी छन्। बझाङको खप्तडछान्‍ना गाउँपालिका अध्यक्षमा कांग्रेसका वर्कबहादुर रोकाया र उपाध्यक्षमा एमालेका पाउसरादेवी थापाले जितेकी छन्।

बैतडीको शिवनाथ गाउँपालिका अध्यक्षमा कांग्रेसका कर्णसिंह साउदले जितेका छन् भने उपाध्यक्षमा एमालेकी कुस्मा चन्दले जितेकी छन्। सुर्नया गाउँपालिका  अध्यक्षमा कांग्रेसका वीरबहादुर बिष्टले जित्दा उपाध्यक्षमा एमालेकी लीलाकुमारी विष्टले जितेकी छन्। 

दार्चुलाको मालिकार्जुन गाउँपालिका अध्यक्षमा कांग्रेसका नरेन्द्रसिंह धामी र उपाध्यक्षमा एमालेकी पुष्पा अवस्थी विजयी भएकी छन्। अर्घाखाँचीको पाणिनी गाउँपालिका अध्यक्षमा कांग्रेसका अच्युत गौतमले जितेका छन् भने उपाध्यक्षमा एमालेकी लक्ष्मी गौतम विजयी भएकी छन।

गुल्मीको कालीगण्डकी गाउँपालिका अध्यक्षमा कांग्रेसका वेदबहादुर थापा र उपाध्यक्षमा एमालेकी तारा थापा विजयी भएकी छन्। गुल्मीकै सत्यवती गाउँपालिका प्रमुखमा कांग्रेसका पारिश्‍वर ढकाल तथा उपप्रमुमा एमालेकी सुर्वण शाही शेरचन विजयी भएकी छन्।

यसैगरी चन्द्रकोट गाउँपालिका गुल्मीको अध्यक्षमा पनि कांग्रेसका द्रोणबहादुर खत्री र उपाध्यक्षमा एमालेका राधिका अर्याल विजयी भएकी छन्। पाल्पाको बगनासकाली गाउँपालिका अध्यक्षमा कांग्रेसका कृष्‍णप्रसाद वस्याल र उपाध्यक्षमा एमालेकी सरस्वती दर्लामी चिदी  विजयी भएकी छन्।

कपिलवस्तुको बाणगंगा नगरपालिका प्रमुखमा कांग्रेसका मंगलप्रसाद थारु र उपप्रमुखमा एमालेका चक्रपाणि अर्यालले जितेका छन्। रुपन्देहीको देवदह नगरपालिका प्रमुखमा कांग्रेसक हिराबहादुर खत्री र उपप्रमुखमा एमालेकी विद्यालक्ष्मी गुरुङले जितेकी छन्।

नवलपरासी (पश्चिम)को सुनवल नगरपालिका नगरपालिका प्रमुखमा पनि कांग्रेसका भीमबहादुर थापा क्षेत्री र उपाध्यक्षमा एमालेका दधिराम अर्याल विजयी भएका छन्।

सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका प्रमुखमा कांग्रेसका नाम्गेल जाङ्बु शेर्पा र उपप्रमुखमा एमालेकी कल्पना राई विजयी भएका छन्। शंखुवासभाको पाँचखपन नगरपालिका प्रमुखमा कांग्रेसका विपिन राई तथा उपप्रमुखमा एमालेकी भीमादेवी राई विजयी भएका छन्।

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका अध्यक्षमा कांग्रेसका विश्‍वनाथ सिटौला विजयी हुँदा उपाध्यक्षमा एमालेकी मञ्जु पौड्याल भट्टराई विजयी भएकी छन्। ताप्लेजुङकै मेरिङदेन गाउँपालिका अध्यक्षमा कांग्रेसका गणेशबहादुर लिम्बू र उपाध्यक्षमा एमालेकी कल्पना तुम्बाहाम्फे विजयी भएका छन।

खोटाङ जिल्लाको ऐसेलुखर्क गाउँपालिका अध्यक्षमा कांग्रेसका विश्वनाथ निरौला विजयी भएका छन् भने उपाध्यक्षमा एमालेकी पुष्पकला भुजेल विजयी भएकी छन्। यस्तै खोटाङकै बराहपोखरी गाउँपालिका अध्यक्षमा कांग्रेसका शालिकराम बञ्जरा र उपाध्यक्षमा एमालेकी गोमा मगर विजयी भएका छन्।

भोजपुर नगरपालिका प्रमुखमा पनि काग्रेसका कैलाशकुमार आले बिजयी हुँदा उपप्रमुखमा एमालेकी ममिता राईले जितेकी छन्। भोजपुरकै षडानन्द नगरपालिका प्रमुखमा पनि कांग्रेसका वीरबल राईले जितेका छन् भने उपप्रमुखमा एमालेकी मेरिका राई विजयी भएकी छन्। भोजपुरको साल्पासिलिछो गाउँपालिका अध्यक्षमा पनि कांग्रेसका महेश राई र उपाध्यक्षमा एमालेबाट धनमाया राईले जितेकी छन्।

पाँचथरकै तुम्वेवा गाउँपालिका प्रमुखमा कांग्रेसका होमनाथ थापा विजयी हुँदा उपाध्यक्षमा एमालेका धनप्रसाद साँवा विजयी भएका छन्। सुनसरीको रामधुनी नगरपालिका प्रमुखमा पनि कांग्रेसका जयप्रकाश चौधरी र उपप्रमुखमा एमालेकी सविताकुमारी चौधरी विजयी भएकी छन।

मोरङको केराबारी गाउँपालिका अध्यक्षमा कांग्रेसका रोहितबहादुर कार्की बिजयी हुँदा उपाध्यक्षमा एमालेकी शान्तिकुमारी लिम्बू बिजयी भएकी छन्। मोरङकै लेटाङ नगरपालिका प्रमुखमा पनि कांग्रेसका शंकर राईले जित्दा उपप्रमुखमा एमालेकी कृष्णकुमारी पोखरेलले जितेकी छन्।

मोरङकै रतुवामाई नगरपालिका प्रमुखमा पनि कांग्रेसका रविन राईले जितेका छन् भने उपप्रमुखमा एमालेकी दयन्तदेवी चुडालले जितेकी छन। उर्लाबारी नगरपालिका प्रमुखमा कांग्रेसका खड्गबहादुर फागो र उपप्रमुखमा एमालेकी लक्ष्मीदेवी भण्डारी विजयी भएकी छन्। यस्तै मोरङकै सुन्दरहरैंचा नगरपालिका प्रमुखमा कांग्रेसका शिवप्रसाद ढकाल र उपप्रमुखमा एमालेकी धनमाया तामाङले जितेकी छन्।

इलामको माङसेबुङ गाउँपालिका अध्यक्षमा कांग्रेसका डिकेन्द्र इदिङ्गो र उपाध्यक्षमा एमालेकी सुनिता सुब्बाले जितेकी छन्। इलामकै फाकफोकथुम गाउँपालिका अध्यक्षमा कांग्रेसका रामकुमार श्रेष्‍ठ र उपाध्यक्षमा एमालेकी सरस्वती राईले जितेकी छन्।

झापाको गौरादह नगरपालिका प्रमुखमा कांग्रेसका रोहितकुमार शाह र उपप्रमुखमा एमालेकी गीता भेटवाल विजयी भएकी छन्। झापा गाउँपालिका अध्यक्षमा  कांग्रेसका जयनारायण शाह र उपाध्यक्षामा एमालेकी कुन्तीदेवी बुढाथोकी विजयी भएकी छन्।

यसैगरी कञ्‍चनपुरको बेलौरी नगरपालिका प्रमुखमा माओवादी केन्द्रका पोतिलाल चौधरी निर्वाचित हुँदा उपप्रमुखमा एमालेकी चित्रकुमारी चौधरीले जितेकी छन्। डोटीको बोगटान गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका कमलबहादुर गडसिला र उपाध्यक्षमा एमालेकी भगवतीदेवी बमले जितेकी छन्।

यस्तै प्युठानको प्यूठान नगरपालिका प्रमुखमा माओवादी केन्द्रका अर्जुनकुमार कक्षपतिले जितेका छन् भने उपप्रमुखमा एमालेकी शान्ता आचार्यले जितेकी छन्। ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका निशान्त शर्मा बास्तोलाले जितेका छन् भने उपप्रमुखमा एमालेकी सुष्मिका राई विजयी भएकी छन्।

पाँचथरको मिक्लाजुङ गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका अमरराज माखिमले जितेका छन् भने उपाध्यक्षमा एमालेकी उर्मिला राईले जितेकी छिन्। झापाको हल्दीबारी गाउँपालिका अध्यक्षमा राप्रपाका रविन्द्रप्रसाद लिङदेन बिजयी हुँदा उपप्रमुखमा एमालेका डम्बरबहादुर गिरी विजयी भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.