|

रुपन्देही : स्थानीय तह निर्वाचनमा चासोका साथ हेरिएको बुटवल उपमहानगरपालिकामा एमालेको जित निश्चित भएको छ। एमाले उपमहासचिव विष्णु पौडेलको निर्वाचन क्षेत्र नं ४ मा पर्ने बुटवल उपमहानगरमा एमालेका उम्मेदवार गणना गर्न बाँकी रहेको मतभन्दा धेरै मत अन्तरले अघि पुगिसकेका छन्।

१९ वटा वडा रहेको बुटवलका १८ वटा वडाको नतिजा आइसकेको छ। १८ वटा वडामध्ये १६ वटामा एमालेले जित हात पारेको छ भने २ वटा वडा कांग्रेसले जितेको छ। वडा नं. १८ को मत गणना गरेर सकिँदा एमालेका प्रमुख पदका उम्मेदवार शिवराज सुवेदीले २२ हजार ४ सय ८४ मत ल्याएका छन् भने उपप्रमुखका उम्मेदवार गोमादेवी आचार्यले २४ हजार ५ सय १६ मत ल्याएकी छन्।

कांग्रेस–माओवादी गठबन्धनका प्रमुख पदका उम्मेदवार खेलराज पाण्डेले १९ हजार ९ सय ४१ मत ल्याएका छन् भने उपप्रमुख पदका उम्मेदवार जगत बहादुर पोखरेलले १४ हजार १ सय २५ मत ल्याएका छन्। प्रमुख पदमा एमाले उम्मेदवारले ल्याएको मत २ हजार ५ सय ४३ ले बढी हो भने उपप्रमुख पदमा १० हजार ३ सय ९१ मत बढी हो। अब बुटवलमा १ हजार ९ सय ३५ मत रहेको वडा नं. १९ को मत मात्रै गणना गर्न बाँकी छ।

यसकारण हार्‍यो कांग्रेस

२०५४ को निर्वाचनपछि एमालेको दबदबा रहेको बुटवल एमाले उपमहासचिव विष्णु पौडेलले लगातार चुनाव जित्दै आएको रुपन्देहीको निर्वाचन क्षेत्र नं. ४ मा पर्छ। यहाँको चुनावमा एक्लै जित हात पार्न मुस्किल हुने भन्दै कांग्रेसले माओवादी केन्द्रसँग तालमेल गर्‍यो। कतिपय वडामा मात्रै कांग्रेसले माओवादी केन्द्र, जनमुक्ति पार्टी र संघीय समाजवादी फोरमसँग पनि तालमेल गर्‍यो। कांग्रेसले जित्ने दाबी गरेका वडाबाट पनि कांग्रेसलाई गतिलो मत आएन।

कांग्रेसले एमालेले पनि उठाएको बुटवललाई प्रादेशिक राजधानी बनाउने, बुटवललाई महानगर बनाउने एजेन्डा अघि सारेको थियो। तर, कांग्रेस नराम्ररी असफल भयो। १९ वटा वडामध्ये २ वटामा अध्यक्ष र केही सदस्यहरु मात्रै जित्यो, अरु सबैमा फराकिलो अन्तरले हार बेहोर्‍यो। त्यसका कारणहरुबारे कांग्रेसका केही नेताहरुले यस्ता कारणहरु खोतलेका छन्।

संगठन नै थिएन, वडाका व्यक्ति पनि गलत छानिए कांग्रेसको तर्फबाट बुटवलमा प्रमुख पदका उम्मेदवार बनेका खेलराज पाण्डे कांग्रेसका बुटवल नगर सभापति हुन्। केही समयअघि उनी नगरविकास समितिका अध्यक्ष पनि भएका थिए। बुटवलमा ग्रासरुटको राजनीति गरेका उनी कमजोर संगठनको सिकार बनेका छन्।

कांग्रेसको केन्द्रदेखि वडा तहसम्मको दुई धारले बुटवलको निर्वाचन पनि अछुतो रहेन। राजनीतिक अनुभव कम भएका र भर्खरै मात्र क्षेत्रीय सभापति चुनिएका पत्रकार पृष्ठभूमिका हरि लम्सालले संगठनलाई दरिलो बनाउन सकेनन्।

त्यसमा नगर सभापतिका हैसियतले पाण्डेको पनि दोष रहेको कांग्रेस नेताको ठहर छ। संगठनमा भन्दा बढी ध्यान क्षेत्रीय सभापति र नगरसभापतिबीचको द्वन्द्वमा समय खर्च भयो। त्यसैमा पनि उनै लम्साल निर्वाचन परिचालन समितिका अगुवा बने। वडास्तरमा सामाजिक र राजनीतिक पकड नबनाएका व्यक्ति अधिकांश वडामा उम्मेदवार बनेर देखिए। जसका कारण पूराना कांग्रेस प्रचारमा देखिएनन्।

माओवादीसँगको तालमेल र महिलालाई पाखा लगाएको आरोप

कांग्रेसले बुटवलमा प्रमुख पदका उम्मेदवारको टुंगो लगाएर उपप्रमुख केही दिन खाली राख्यो। माओवादीसँग तालमेल गरेर उसलाई उपप्रमुख दिने त्यो संकेत प्रतिस्पर्धी पार्टीहरुले पाइसकेका थिए। उनीहरुले कांग्रेस र माओवादी महिला विरोधी र महिलालाई अघि बढ्न नदिने पार्टी हुन् भन्ने प्रचारलाई टोलटोलसम्म पुर्‍याए।

माओवादीले उपप्रमुखमा पनि पुरुष उम्मेदवार पठाएपछि यसले झन् व्यापकता लियो र कांग्रेस माओवादीकै क्रियाशील महिला कार्यकर्ताहरु समेत रुष्ट भए। माओवादी केन्द्रले उम्मेदवार बनाएका जगत पोखरेल राजनीतिक व्यक्ति नभएकाले पनि थप समस्या पैदा गर्‍यो। व्यावसायिक पृष्ठभूमिका उम्मेदवार भए पनि उनलाई हेरेर खेलराजप्रतिका सहानुभूतिका भोट पनि काटिए। 

अभिभावकविहीन कांग्रेस

बुटवलमा काग्रेस उम्मेदवारले गतिलो अभिभावक नै पाएनन्। विगतमा बुटवलका सबैजसो संस्थाहरुमा क्रियाशील रहेका कांग्रेस नेता सूर्यप्रसाद प्रधानको निधनपछि बुटवलको कांग्रेस खेलराजकै भरमा अडिएको छ। पूर्व क्षेत्रीय सभापति रामबहादुर कार्की, बुटवलका पूर्व-उपप्रमुख रामप्रसाद खनाल लगायतले पार्टीलाई अभिभावकत्व प्रदान गर्न सकेनन्।

आफ्नो निर्वाचन क्षेत्रमा पर्ने तिलोत्तमा नगरमा आफ्नै भाइलाई उम्मेदवार बनाएका कांग्रेस नेता बालकृष्ण खाँणले बुटवललाई खासै समय दिएनन्। उनी आफ्नै क्षेत्रमा व्यस्त भए। अरु त अरु कांग्रेसले बुटवलमा स्थानीय तहमा गतिलो माहोल खडा गर्न पनि सकेन। माहोल तयार पार्नका लागि शुन्य समय शुरु हुनुअघि राजमार्ग चौराहामा गरेको कार्यक्रम एमालेले ट्राफिक चोकमा गरेको कार्यक्रमभन्दा ओझेलमा पर्‍यो। केन्द्रीय नेताहरुले बुटवललाई खास चासो दिएनन्। 

विष्णु पौडेलको घरदैलो र पार्टी प्रवेश

विष्णु पौडेलको प्रभाव क्षेत्र भएकाले उनको आगमन पनि बढी हुन्छ बुटवलमा। तर कांग्रेसका नेताहरुको आगमन एकदमै न्युन हुन्छ। यसले बुटवलमा एमालेको प्रभाव बढ्दै र कांग्रेसको प्रभाव घट्दै गएको छ।

रुपन्देहीमा उम्मेदवार चयनकै समयदेखि आलोचना खेपेका पौडेललाई बुटवलमा जसरी पनि चुनाब जित्नुथियो। बुटवलमा जित्दा शिवराज सुवेदीले जित्ने र हार्दा विष्णु पौडेलले हार्नेसम्मका प्रचार भएका थिए। जसका कारण पौडेल प्रदेश नं ५ का संयोजक भएपनि अरु क्षेत्रमा भन्दा बढी समय बुटवललाई दिए। उनी घरदैलोमै हिँडे।

अधिक समय एमाले इतरका पार्टीका संगठित र तटस्थ कार्यकर्तालाई भेट्नमा समय खर्चे। उनले पार्टीको सभामा भनेका थिए, बुटवलमा एमालेको संगठनले चुनाव जित्ने हो, व्यक्ति को हो भन्ने भन्दा पनि संगठन कस्को बलियो छ भन्ने कुरा हो। यसलाई उनले व्यवहारमै देखाउनुपर्ने चुनौती थियो। उनी घरदैलोमा मात्रै हिँडेनन्, पार्टी प्रवेशलाई पनि उत्तिकै जोड दिए। माओवादी र कांग्रेसका क्रियाशील व्यक्तिहरुलाई पार्टीमा ल्याए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • Jag baliyo vaye Ghar baliyo hunxa...wada ma gathabandan huna sakena...aafno party ley aafnae party Kaa netaa laai harauna kosis gariyo...sangathan baliyo huna sakena ... Haar ko kaarad arko samaye ma umedwaar Dina nasaknu nai ho... Dhanyebaad