|

कालिकोट : नेपाल घरेलु तथा साना उद्योग विकास समिति कालिकोटले कुल पुँजी ५ लाखसम्म भएका उद्योगहरुलाई नि:शुल्क दर्ता अभियान थालेको छ ।जिल्लाका ग्रामीणस्तरमा रहेका लघु उद्यमीहरुलाई दर्ता प्रक्रियामा ल्याउन तथा पाँच लाखमुनि कुल पुँजी भएका साना लघु उद्यमीहरुलाई सहुलियत दिएर उद्यमी बढाउन यस्तो अभियान थालेको हो।

साना उद्योगीहरुलाई सहुलियत दिन गत चैत महिनादेखि पाँच लाखसम्म कुल पुँजी भएका उद्योग, फार्महरुलाई निःशुल्क दर्ता थालिएको घरेलु तथा साना उद्योग विकास समिति कालिकोटका प्रमुख आइती चौधरीले बताइन्। ‘नेपाल सरकारको नीतिअनुसार पाँच लाखसम्म कुल पुँजी भएका उद्योगहरुलाई दर्ता गर्न ६ हजार १ सय दर्ता शुल्क लाग्ने गरेको थियो।’ उनले भनिन्, ‘उक्त शुल्क हाल नलिने निर्णय गरिएको छ।’

राज्यले लघु उद्यमीहरु सेवा सहुलियतका लागि औद्यौगिक व्यवसाय ऐन २०७३ जारी गरी पाँच लाख सम्मका उद्यमीहरुलाई दर्ता शुल्क नलिने व्यवस्था गरे निःशुल्क उद्योग दर्ता अभियान थालिएको छ।

निःशुल्क उद्योग दर्ता अभियान थालेपछि उद्योग दर्ता गर्ने उद्यमीहरुको संख्यामा वृद्धि भएको घरेलु तथा साना उद्योग विकास समिति कालिकोटका मेड्पा कार्यक्रम फोकल प्रशन अर्जुन भट्टराईले बताए। ‘जिल्लामा हालसम्म ९ सय ४२ उद्योगहरु दर्ता भएका छन्। जसमध्ये गत चैत महिनादेखि हालसम्म मात्र ३० उद्योगहरु निःशुल्क दर्ता गरिएको छ।’

उनले भने, ‘घर जग्गा बाहेक बढीमा पाँच लाखसम्मको पुजि भएको, उद्यमी स्वयम उद्योगको संलान र व्यवस्थापनमा रहेको, उद्यमीसहित बढीमा ९ जनासम्म कामदार रहेको, वर्षिक कारोबार ५० लाखभन्दा कम रहेको, इन्जिन क्षमता २० किलोवाटभन्दा कम विद्युत खपत गर्ने रहेका लघु उद्यमहरु नि:शुल्क दर्ता गर्न थालिएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.