|

  • मिलन विश्वकर्मा‍-

पाल्पाः शिक्षकबाट राजीनामा दिएर निर्वाचनमा होमिएका नुनबहादुर थापा गाउँपालिका अध्यक्ष बनेकोमा निकै हर्षित छन्। उनी जिल्लाको पूर्वखोला गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन्। तर उनलाई हर्षसँगै चुनौती थपिएको महसुस पनि भएको छ। ‘म जति धेरै खुसी छु’, उनले भने ‘जिम्मेवारी बढेर गएको छ, चुनौती थपिएका छन्, यसलाई कसरी सफल पार्ने भन्नेमा त्यो भन्दा बढी चिन्तित छु।’

साविकको वीरकोट गाविसमा रहेको गणपति माध्यमिक विद्यालयमा उनले एघार वर्ष तीन महिना अध्यापन गरे। नेकपा एमालेको तर्फबाट उम्मेदवारी पाउने पक्का भएपछि उनले गत बैशाख ११ गते जिल्ला शिक्षा कार्यालयमा राजीनामा पत्र बुझाए। त्यसलगत्तै उनी निर्वाचनको प्रचार प्रसारमा जुटे। परिणाम स्वरूप, गाउँपालिका अध्यक्ष बन्न सफल पनि भए।

सामान्य परिवारका सदस्य तर गाउँमा समाजसेवीको रूपमा परिचित नुनबहादुरलाई बैशाख ३१ गते हुने भनिएको निर्वाचन जेठ ३१ गते सार्ने निर्णयले भने मनमा निराशा छाएको थियो। तर निर्वाचन हुने आशामा भने उनी थिए। फेरि असार १४ गते सार्ने केन्द्रीय नेताहरूको निर्णयले उनलाई झनै निराशा थपिदियो। जागिरबाट पनि राजीनामा दिइसकेका उनले भने, ‘निर्वाचन नहुने हो कि भन्ने पिरलो भयो। निर्वाचन भयो भने त जित्छु भन्ने आशा थियो।’ उनले यदि हार भयो भने पनि राजनितिसँगै सामाजिक जीवन बिताउने योजना भने बनाएका थिए रे!

अन्ततः पाल्पामा पनि असार १४ मा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भयो। निर्वाचनबाट उनले गाउँपालिका अध्यक्षमा बाजी मारे। उनी पाँच हजार ६३६ मतसहित विजयी भए। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका झमनबहादुर राज मगरले एक हजार ७३२ मत प्राप्त गरे।

उपाध्यक्षमा पनि एमालेकै भागीरथी भट्टराई पाँच हजार ४३१ मतसहित विजयी भइन् भने उनकी प्रतिद्वन्द्वी पुष्पा गाहाले एक हजार ७४३ मत प्राप्त गरिन्।  
२०५४ सालमा वीरकोट गाविसको अध्यक्ष निर्वाचित भएका नुनबहादुरले कार्यकाल सकिएपछि शिक्षण पेशा अँगालेका थिए। शिक्षक पेशा त्यागेर अहिले गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएपछि उनले आफ्नो कार्यकालमा काम गर्ने योजना तय गरेका छन्। उनले विकास निर्माणतर्फ पूर्वाधारका योजनालाई पहिलो प्राथमिकता दिएका छन्।

अहिलेसम्म सडक नपुगेको टोलमा पहिले सडक पु¥याउने उनको योजना छ। हेक्लाङको चेवुङ, जल्पाको साठीकोल, सिलुवाको खत्रीडाँडा र छिसमा रहेको टोलमा पहिले मोटरबाटो पु¥याउने योजना उनले सुनाए। ‘ग्रेड बिगारेर बनाइएका सडकको विकल्प वा मर्मततर्फ मैले काम गर्नेछु’, नुनबहादुरले भने, ‘त्यसपछि सडकको स्तर उन्नतितर्फ लाग्नेछु।’

अहिलेसम्म खानेपानीबाट बञ्चित भएको सिलुवाको लोस्दी, हेक्लाङको पोखराथोक र जल्पाका केही ठाउँमा खानेपानी पु¥याउने योजनामा पनि रहेछन् उनी। सिलुवाको माझकोटमा बन्न लागेको विद्युतको सवस्टेशनलाई प्रभावकारी र व्यवस्थित बनाउने उनको भनाइ छ।

स्वास्थ्यतर्फ सम्बन्धित जानकारहरूसँग बसेर छलफल गरी उनीहरूको सुझाव र सल्लाहअनुसार प्रभावकारी सेवा प्रदान गर्नका लागि पहल गर्ने उनले बताए। उनले भने, ‘गाउँपालिकामा गुणस्तरीय प्रसुतिगृहको व्यवस्था मिलाउने योजनामा छु।’

आफू शिक्षक भएर काम गर्दा शैक्षिक क्षेत्रमा धेरै विकृति देखेको भन्दै उनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि पनि योजना सुनाए। उनले शिक्षकलाई दक्ष बनाउनका लागि तालिम सञ्चालन गर्ने, शिक्षण जागिर मात्र होइन, सेवा पनि हो भन्ने भावनाको विकास गराई शैक्षिक गुणस्तरमा वृद्धि गर्ने उनको सोच रहेछ। गाउँमै रहेको विद्यालयमा गुणस्तरीय शिक्षा पाउने भएपछि महँगो मूल्य तिरेर बोर्डिङ पढाउन गएका अभिभावक पनि फर्केर आउनेमा उनको विश्वास छ। प्रशासनिक कामलाई चुस्त, दुरुस्त र जनतामैत्री बनाउने उनको प्रतिवद्धता छ।

यति राम्रा योजना छन्, यी योजना सफल पार्नको लागि स्रोत के छ? भन्ने थाहाखबरको प्रश्नमा उनले भने, ‘सरकारले दिने अनुदानमा अनियमितता गर्दिनँ, गाउँपालिकाभित्र कालीगण्डकी पर्छ, त्यहाँको ढुंगा, गिट्टी, बालुवा र यहाँ भएका वनजंगल र जंगलमा भएका महत्त्वपूर्ण जडिबुटीको राम्रोसँग परिचालन गर्नेछु, जसले आन्तरिक आम्दानी वृद्धि हुनेछ र यही आम्दानीबाट काम गर्नेछु।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.