|

  • मणिकुमार श्रेष्ठ-

सुनसरी : नेकपा माओवादीसँगै संघीय गठबन्धनले गरेको विरोधका कारण सोमबार राति ११ बजेदेखि  स्थगित भएको धरानको मतगणना अझै पनि सुरु हुन सकेको छैन। मत गणनाको क्रममा गणक कर्मचारीहरुले एउटाको मत अर्कोकोमा गणना गरेको भन्दै आएका गठबन्धनले पुन मतगणनाको माग गरेपछि मतगणना हुन नसकेको हो।

गठबन्धनका कार्यकर्ताहरुले गणक कर्मचारीलाई  कारबाहीको माग गर्दै मंगलबार दिनभरि धरान ८ मा रहेको निर्वाचन कार्यालय परिसरमा चर्को नाराबाजीसहित धर्ना दिएका थिए। संघीय समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रको मत नेकपा माले साथै एमालेमा गणना गरेको सार्वजनिक भएपछि विवाद सुरु भएको हो।

 समस्या समाधानको लागि पटक-पटक बसेको सर्वदलीय बैठकले पनि पुन मतगणना गर्ने कुरामा निष्कर्ष निकाल्न नसकेपछि विवाद झन चुलिँदै गएको छ। एक चरणमा भएको छलफलमा हाल गणना सम्पन्न भएका ९, १० साथै गणना सुरु भएको ११ लाई थाती राखेर १२ नम्बरदेखि गणना सुरु गर्ने सहमति बनेको थियो। तर, माओवादी केन्द्र सहितको गठबन्धनका कार्यकर्ताहरुले गणनास्थलबाहिर नाराबाजी गरेकाले सो सहमतिअनुसार मतगणना सुरु हुन नसकेको सहायक निर्वाचन अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए।

उनका  अनुसार राजनीतिक दलहरुका प्रतिनिधिहरुले धरान-९ र १० को पुन  गणना गर्नुपर्ने माग राखिरहेका छन्। खतिवडाले भने पुन: मतगणना गर्न सम्भव नभएकोले मतगणना सम्पन्न भएको ९ र १० को ‘रि-टोटलिङ’ गर्न भने गर्न सकिने छ। मतगणनामा भएको विवादलाई समाधान गर्न अहिले अनौपचारिक रुपमा छलफल चलिरहेको निर्वाचन कार्यालयले बताएको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले समस्याको चाँडै समाधान गर्न दल तथा निर्वाचन आयोगलार्ई आग्रह गरेका छन्।

एउटा दलले प्राप्त गरेको मतलाई अर्कै दलको मतमा गणना गरेको भन्दै मतगणनास्थलबाट दुई कर्मचारीलाई सोमबार राति नै निष्कासन             गरिएको थियो। कर्मचारीमा मतगणनाको समुह ‘ग’ का  मानबहादुर कार्की र समूह ‘ङ’ का धनकुमार राईले निश्कासन गरिएको थियो।

दोस्रो भरतपुर बनाउन खोजेको एमालेको आरोप

नेकपा एमाले धरानले अन्य दलहरुले जनताबाट अपेक्षित मत नपाएपछि मतगणना गर्ने कार्यलाई रोकेर जनताको मतको खिल्ली उडाउने काम गरेको बताएको छ। मंगलबार धरानमा पत्रकार सम्मेलन गर्दै एमाले धरानले एमालेको पक्षमा ५० मत थप   गरिएको भन्दै गलत प्रचार गरिएको बताएको छ।

 निर्वाचन परिचालन मूल समितिका संयोजक प्रकाश राईले एमालेका पक्षमा मत धेरै आएपछि बद्नाम गर्न र आफ्नो हार स्वीकार गर्न नसकेपछि कुण्ठा बोकेर केही ब्यक्तिहरु नियोजित रुपमा एमालेको बद्नाम गर्न लागि परेको भन्दै उनले पत्रकारीता जस्तो मर्यादित पेसालाई बद्नाम नगर्न आग्रह गरेको छ।

एमालेले माओबादी केन्द्रले धरानलाई अर्को भरतपुर बनाउने प्रयास गरेको भन्दै आपत्ति जनाएको छ। सोमबार रातिदेखि अबरुद्ध धरानको मतगणना प्रकृया र मङगलबार माओबादी कार्यकर्ताले मतगणना स्थलबाहिर गरेको नाराबाजी राजनैतिक संस्कार र आचरणसंग नमिल्ने बताएको छ। पत्रकार सम्मेलनमा बोल्दै उपमेयरकी उमेद्धवार मञ्जु भण्डारी सुबेदीले एमालेले जित्दै जान थालेपछि संकुचित सोचले मत गणना रोकेर जनताको अभिमतलाई बिथोल्ने प्रयास गरेको बताइन्।

 सम्मेलनमा बोल्दै एमालेका धरान नगर इन्चार्ज प्रदीप भण्डारीले एमालेले बिजयी हासिल गरेका ९ र १० नम्बर वडाको मत परिणम घोषणा गर्न र वडा नं ११ देखि रोकिएको मत गणना पुनः सुरु गर्न माग गरेका छन्।

पुन: मतगणनाको माग गर्दे माओवादी आन्दोलित

सोमबार राति ११ बजे मतगणनामा खटिएका दुई कर्मचारीले एउटा पार्टीले पाएको मत अर्कै पार्टीको मतमा जोडेको पत्ता लागेपछि माओवादीलगायत संयुक्त गठकन्धनले आन्दोलन गरिरहेको छ। माओवादीको नेतृत्वमा मंगलबार दिनभर निर्वाचन मतगणना बाहिर नाराजुलुस भएको हुँदा दिनभर मतगणना हुन सकेन।

माओवादी सहितको संयुक्त गठबन्धनले धरान वडा नं. ९ को मतगणनामा उपमेयरको मशाल चिह्नमा परेको ३४ मतलाई तारा र हँसियामा चढाएको बताएको छ।यसैगरी, माओवादीको सुर्य चिन्हमा प्राप्त गरेको ५५ मतलाई  ७० बनाएको भन्दै माओवादी केन्द्रका धरान उपमहानगर संयोजक चोत्लुङले सत्य तथ्य सार्वजनिक गर्न माग गरका छन्।

मतगणनामा भएको गल्तीलाई निर्वाचन कार्यालयले लुकाउन खोजेको भन्दै निर्वाचन अधिकृतले नक्कल कपीसमेत दिन नमानेको चोत्लुङले              बताए। उनले भने,‘पुन: मतगणनाको माग गरेका छौं। त्यो सम्भव नभएमा निर्वाचन आयोगलाई पत्र लेख्ने तयारीमा रहेका छौं।’

धरानमा हालसम्म भएको मत परिणामअनुसार नेकपा एमाले अग्रस्थानमा रहेको छ। एमालेको प्रमुखका उम्‍मेदवार तारा सुब्बाले ८ हजार २ सय १७ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रमुखका उम्मेद्वार तिलक राईले ६ हजार ७ सय ८३ मत प्राप्त गरेको निर्वाचन अधिककृतको कार्यालयले जनाएको छ।

यसैगरी उपमेयरमा एमालेकी मञ्जु भण्डारी सुवेदीले ८ हजार ४ सय २१ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसकी उपप्रमुखकी उम्मेद्वार श्यामा रेग्मीले ६ हजार ६ सय ६ मत प्राप्त गरेका छन्। त्यस्तै नेकपा माओवादी केन्द्रसहित संघीय गठबन्धनका प्रमुखका उम्‍मेद्वार अइन्द्रविक्रम बेघाले ३ हजार ८ सय ११ मत प्राप्त गरेका छन् भने उपप्रमुखमा १ हजार ४ सय ४९ मत प्राप्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.