|

विराटनगरः विराटनगर महानगरपालिकाको वडा नं. १९ मा पाँचै जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

नेपाली कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र रूपमा उठेका विराटनगर महानगरपालिका– १९ मा वडा अध्यक्षसहित चार सदस्य स्वतन्त्र उम्मेदवार विजयी भएका हुन्।

पछिल्लो मत परिणामअनुसार विराटनगर– १९ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदार बद्रीनारायण सरदारले ६४२ मत ल्याएर विजयी भएका छन्। सरदार कांग्रेसका क्षेत्रीय प्रतिनिधि हुन्। उनले एमालेका श्याम घिमिरेलाई २१ मत अन्तरले पराजित गरेका छन्। एमालेका उम्मेदवार घिमिरेले ६२१ मत पाएका छन् भने कांग्रेले उठाएका उम्मेदवार उदय राजवंशीले ४१० मत ल्याएका छन् । सरदार स्थानीयस्तरमा लोकप्रिय छन्।

सदस्यहरूमा पनि कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र रूपमा उठेका चार जना सदस्य नै विजयी भएका छन्। खुला सदस्यमा सम्झना भुजेलले ६७४, दलित महिला सदस्यमा विनादेवी सरदारले ५९५, सदस्यमा नागेश्वर राजवंशीले ५८२ र जितेन्द्र खवासले ६६२ मत ल्याएर विजयी भएको निर्वाचन आयोगले जनाएको छ।

स्वतन्त्र रूपमा विजयी भएपछि उनीहरूले बुधबार विराटनगर १९ नम्बर वडामा विजय ¥याली निकालेका थिए। र्‍यालीपछि कोणसभामा बोल्दै नवनिर्वाचित वडा अध्यक्ष सरदारले स्थानीय विकास निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए। ‘विकासका कामदेखि जनताको सेवामूलक काम गर्ने भएकाले हाम्रो जीत भएको हो’, उनले भने, ‘प्रमुख राजनीतिक दलका उम्मेदवारलाई छोडेर मतदाताले हामीलाई रोजेका छन्, जनतालाई सुविधा पुग्ने विकासका काम गर्नेछौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.