|

काठमाडौँ: स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा करिव २६ स्थानमा तालमेल गरेको कांग्रेसलाई केही तहमा सफलता मिलेको छ। तर तालमेल गरेको माओवादी केन्द्रले भने आशातीत सफलता हात पार्न सकेन।

स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा कांग्रेसले सबैभन्दा धेरै माओवादी केन्द्रसँग तालमेल गरेको थियो। कांग्रेसले राप्रपा, एमाले र संघीय समाजवादी फोरम र जनमुक्ति पार्टीसँग समेत चुनावी तालमेल गरेको थियो।

तालमेल भएर कांग्रेसले जितेका स्थानीय तहहरू

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका प्रमुखमा कांग्रेसका कमलप्रसाद भुसाल र उपप्रमुखमा माओवादी केन्द्रका ठाकुरकुमार विक विजयी भए। अर्घाखाँचीकै शीतगंगा नगरपालिकामा कांग्रेसका सूर्यप्रसाद अधिकार प्रमुखमा र माओवादी केन्द्रका टीकाबहादुर रेशमी मगर उपप्रमुखमा विजयी भए।

अर्घाखाँचीकै भूमिकास्थान नगरपालिका प्रमुखमा माओवादी केन्द्रका रेशम थापा र उपप्रमुखमा नेपाली कांग्रेसका खडानन्द बेल्वासे विजयी भए। प्युठानको नौबहिनी गाउँपालिकामा कांग्रेस र माओवादीको गठबन्धनले एमाले र राष्ट्रिय जनमोर्चाको गठबन्धनलाई पराजित गरेको छ।

यो गाउँपालिकामा कांग्रेस–माओवादीबीचको तालमेलपछि अध्यक्षमा कांग्रेसका शिव रिजाल र उपाध्यक्षमा माओवादी केन्द्रका धनबहादुर बुढा (सचिन) विजयी भएका छन्। नौबहिनीमा एमालेले डिलाराम थापालाई अध्यक्षमा र राष्ट्रिय जनमोर्चाका रामबहादुर केसीलाई उपाध्यक्षमा उम्मेदवार बनाएको थियो।

गुल्मीको धुर्कोट गाउँपालिकामा प्रमुखमा माओवादीका भूपाल पोखरेल अध्यक्ष र कांग्रेसका शिवबहादुर केसी उपाध्यक्षमा निर्वाचित भएका छन्।
अछामको मल्लेख गाउँपालिकामा कांग्रेस र माओवादीको तालमेलले सफलता प्राप्त गरेको छ। यो गाउँपालिका प्रमुखमा माओवादीका लोकबहादुर बोहोरा र उपप्रमुखमा कांग्रेसका धनबहादुर शाही विजयी भएका छन्।

अछामकै बान्नीगढी जयगढ गाउँपालिका पनि माओवादी–कांग्रेस गठबन्धन सफल भएको छ। यो गाउँपालिका प्रमुखमा कांग्रेसका राजेन्द्र खड्का र उपप्रमुखमा माओवादीका लोकबहादुर साउद विजयी बन्न सफल भए।

माओवादीसँगको गठबन्धनबाट कांग्रेसलाई मात्र फाइदा भएका स्थानीय तह

स्थानीय तहका ३३४ स्थानमा भएको निर्वाचनमा कांग्रेस र माओवादीबीच भएको तालमेलले माओवादीलाई भन्दा कांग्रेसलाई फाइदा गरेको छ। रूपन्देहीको देवदह नगरपालिकामा कांग्रेस र माओवादीबीच तालमेल भएको थियो।

देवदहमा कांग्रेसका हीराबहादुर खत्री प्रमुखमा विजयी भए तर माओवादीबाट उपप्रमुखमा उम्मेदवारी दिएका टीका न्यौपाने गौतमले पराजय व्यहोरिन्। गौतमलाई एमालेकी विद्यालक्ष्मी गुरुङले पराजित गरेकी हुन्।

पाल्पाको बगनासकाली गाउँपालिकामा कांग्रेसका कृष्णप्रसाद बस्याल अध्यक्षमा निर्वाचित भए। तर कांग्रेससँग तालमेल गरेर उपाध्यक्षको उम्मेदवार भएका कृष्ण भुसालले भने पराजय व्यहोर्नुपर्‍यो। बगनासकाली गाउँपालिका उपप्रमुखमा एमालेकी सरस्वती दर्लामीले जितिन्।

कांग्रेस-एमालेबीच असफल भएको तालमेल

नेपाली कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको एक मात्र उपमहानगरपालिका बुटवलमा समेत तालमेल काम लागेन। बुटवलको प्रमुखमा कांग्रेसले खेलराज पाण्डेलाई र उपप्रमुखमा माओवादीले जगतबहादुर पोखरेललाई उम्मेदवार बनाएका थिए। तर यहाँ कांग्रेस–माओवादी गठबन्धनले सफलता नपाउने निश्चित जस्तै भएको छ।

बुटवलमा कांग्रेस माओवादी गठबन्धनलाई राष्ट्रिय जनमुक्ति पार्टीले समेत समर्थन गरेको थियो। अकल्पनीय नतिजा नआए बुटवलको प्रमुख र उपप्रमुख एमालेको पोल्टामा पर्ने निश्चित छ।

अछामको मंगलसेन नगरपालिकामा कांग्रेस र माओवादी तालमेलअनुसार प्रमुखमा चन्द्रप्रसाद ढुंगाना र रोहिना भण्डारी उपप्रमुखमा उम्मेदवार भए। ढुंगाना कांग्रेस र भण्डारी माओवादी केन्द्रबाट उम्मेदवार बनेका थिए। तर मंगलसेन नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा एमालको पदमबहादुर बोहोरा र सरिता उपाध्याय विजयी बने।  

तेह्रथुमको आठराई गाउँपालिकामा पनि कांग्रेस र माओवादीको तालमेल असफल भएको छ। यहाँको प्रमुखमा कांग्रेसबाट नारायणकुमार इङनाम र उपप्रमुखमा माओवादीबाट रमिला खनाल उम्मेदवार बनेका थिए। प्रमुख र उपप्रमुख दुवैमा यहाँ माओवादीले जीत हात पारेको छ।

तेह्रथुमकै फेदाप गाउँपालिकाको अध्यक्षमा कांग्रेसले केशवप्रसाद भेटवाल र माओवादीले गंगाप्रसाद लिम्बुलाई उपाध्यक्षमा उम्मेदवार बनाएको थियो। तर फेदापको अध्यक्ष र उपाध्यक्षमा एमालेका क्रमश: हरिप्रसाद चोङवाङ लिम्बु र रूपादेवी कन्दङ्वाले विजय हासिल गरे।

पाल्पाको निस्दी गाउँपालिका अध्यक्षमा कांग्रेसबाट शालिकराम पाण्डे र माओवादीबाट बलु गैरे उपाध्यक्षमा एमालेका उम्मेदवारबाट पराजित भए। निस्दीको अध्यक्ष र उपाध्यक्षमा एमालेका मुक्तिबहादुर सारु र रीताकुमारी खनाल आर्याल विजयी भइन्।

अर्घाखाँचीको मालारानी गाउँपालिकामा माओवादीका पदम क्षेत्री अध्यक्षमा र कांग्रेसकी शान्ता खनाल उपाध्यक्षमा उम्मेदवार बने तर पराजित भए। माओवादी कांग्रेसको गठबन्धनलाई पराजित गर्दै एमालेका बालकृष्ण शर्मा र प्रमिला क्षेत्री क्रमश: अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भए।

गुल्मीको रुरु गाउँपालिकामा माओवादीले अध्यक्षमा यदु ज्ञवलीलाई र कांग्रेसले देवेन्द्र मल्ललाई उपाध्यक्षमा उम्मेदवार उठाए पनि सफलता हात पार्न सकेनन्। रुरुमा एमालेका नीलकण्ठ गौतम र लक्ष्मीदेवी पन्थ क्रमश: अध्यक्ष र उपाध्यक्षमा बिजयी भए।

कांग्रेस र माओवादीबीचको एक मात्र तालमेल असफल

माओवादीको पकड भनेर चिनिएको रोल्पाको एउटा गाउँपालिका माडीमा कांग्रेस र एमालेले गरेको तालमेल असफल भएको छ। माडी गाउँपालिकाको अध्यक्षमा कांग्रेसले गोपाल घर्तीमगरलाई र एमालेले प्रेम घर्तीमगरलाई उपाध्यक्षमा उम्मेदवार बनाएको थियो।

दुई प्रमुख पार्टीबीच भएको तालमेल भत्काउँदै माडीमा माओवादी केन्द्रले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा जीत हात पारेको छ। माडी गाउँपालिकाबाट माओवादीका नन्दबहादुर पुन अध्यक्षमा र धनीकला घर्ती बुढामगर उपाध्यक्षमा विजयी भए।

कांग्रेस र विप्लव माओवादीबीचको तालमेल फापेन

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको अर्धभूमिगत नेपाल कम्युनिष्ट पार्टीसँग कांग्रेसले गरेको तालमेलसमेत असफल भएको छ। रोल्पाको थवाङमा नेकपाको तर्फबाट अध्यक्षमा अमित घर्तीमगर र कांग्रेसको तर्फबाट श्रीकुमारी रोक्का उपाध्यक्षमा उम्मेदवार दिए।

दुवै पार्टीबीच निर्वाचनमा तालमेल भए पनि थवाङमा माओवादी केन्द्रकै वीरबहादुर घर्ती र रामकिरणी रोक्का मगर विजयी भए।

कांग्रेस र संघीय समाजवादीबीचको तालमेलले दुई तहमा मात्र सफल

कांग्रेस र संघीय समाजवादी फोरमसँग आधा दर्जन बढीमा तालमेल गरे पनि दुई स्थानमा मात्र केही सफलता एमालेले पाएको छ। कांग्रेसबाट अध्यक्षमा उम्मेदवारी दिएका इलामको माङ्सेवुङका डिकेन्द्र इदिङ्गो विजयी भए। तर संघीय समाजवादी फोरमले कांग्रेससँग गठबन्धन गरे पनि सो पार्टीबाट उम्मेदवार बनेका विनोद नेम्वाङ उपाध्यक्षमा पराजित भए। त्यहाँ एमालेकी सुनिता सुब्बा विजयी भइन्।

कांग्रेस र संघीय समाजवादी फोरमबीच तालमेल भएको भोजपुरको साल्पासिल्छो गाउँपालिकामा कांग्रेसलाई फाइदा भएको छ। यो गाउँपालिका अध्यक्ष कांग्रेसका महेश राई विजयी भए तर संघीय समाजवादीका वीरबहादुर राई पराजित भए। साल्पासिलिछोको उपाध्यक्षमा भने एमालेका धनमाया राई विजयी भइन्।

कांग्रेस र संघीय समाजवादीबीच असफल भएका तालमेल

कांग्रेस र संघीय समाजवादी फोरमबीच धनकुटाको साँगुरीगढी गाउँपालिकामा गरेको गठबन्धन असफल भएको छ। यहाँ कांग्रेसले जितेन्द्र रुम्दाली राईलाई अध्यक्ष र फोरमले बलबहादुर राईलाई उपाध्यक्षमा उम्मेदवार बनाएको थियो। साँगुरीगढीको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमालेका उम्मेदवारले विजय हासिल गरे।

भोजपुरको टेम्के मैयुम गाउँपालिकामा माओवादी केन्द्रको समेत समर्थन लिएर अध्यक्षमा फोरमका रामसिंह राई र उपाध्यक्षमा कांग्रेसका सरोज बस्नेत उम्मेदवार भए। दुवै पदमा दुवैले जितेनन्। यहाँ एमालेका ध्रुवराज राई र इन्द्रावती राई क्रमश: अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएका छन्।

भोजपुरको रामप्रसाद राई गाउँपालिकामा कांग्रेसका दिनेश कार्की प्रमुख र फोरमका लक्ष्मी राई उपाध्यक्षमा उम्मेदवारी दिए पनि दुवै पराजित भए। यो गाउँपालिकामा एमालेका विजय राई अध्यक्ष र माओवादी केन्द्रकी सम्झना राई उपाध्यक्षमा विजयी भए।   

कांग्रेससँगको तालमेलबाट माओवादीले लिएको फाइदा

स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा माओवादी र कांग्रेससँग भएका तालमेलमा धेरैमा असफलता पाए पनि माओवादीले ताप्लेजुङको फुङलिङ नगरपालिकामा भने सफलता हात पारेको छ।

यो नगरपालिकाको प्रमुखमा कांग्रेसबाट पार्टीका निवर्तमान जिल्ला सभापति केशव दाहाल र उपप्रमुखमा माओवादी केन्द्रबाट बमबहादुर भट्टराई उम्मेदवार भएका थिए। तालमेलमा धोका भएपछि दाहाल एमालेका छत्रपति प्याुकरेलबाट पराजित हुनुपर्‍यो तर भट्टराई भने उपप्रमुखमा विजयी भए।

कांग्रेस र राप्रपाबीचको तालमेल असफल

धनकुटाको महालक्ष्मी नगरपालिकामा नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच भएको चुनावी तालमेल असफल भएको छ। कांग्रेसले नगरको प्रमुखमा पार्टी जिल्ला सभापति अग्निप्रसाद पौडेललाई अघि सारेको थियो भने राप्रपाले महेन्द्र निरौलालाई उठाएको थियो। तर दुवैले कुनै पनि पदमा जीत हात पार्न सकेनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.