|
उपचारपछि सामान्य अवस्थामा फर्किएकी सुर्पना हमाल

दाना शाही

जुम्ला : भनिन्छ बिरामीका लागि डाक्टर भगवान् हुन्। चिकित्सा क्षेत्रमा देखिएका विकृति, लापरवाही र निजी अस्पतालले लिने चर्को शुल्कका कारण डाक्टरहरुप्रति सर्वसाधारणको भरोसा टुट्दै गएको वर्तमान समयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका डाक्टरहरुले यस प्रसिद्ध भनाइ व्यवहारमा उतारेका छन्।

सुत्केरी हुँदा पाठेघर फुटेकी एक महिलालाई यहाँका डाक्टरहरुले आफ्नै रगत दिएर बचाएका हुन्। डाक्टरहरुले कालिकोट तिलागुफा गाउपालिका ३ फोईमहादेव गाउँका ३५ वर्षीया सुर्पना हमाललाई नयाँ जीवन दिएका हुन्।

उनी ४ चार सन्तानकी आमा हुन्। सुत्केरी गराउन मंगलबार बिहान उनलाई प्रतिष्ठानमा ल्याइएको थियो। बेलुका ६ बजे बेथा लागेको र साढे ८ बजे बच्चा जन्मेको उपचारमा खटिएका डाक्टर विनोद अर्यालले बताए ।

“उनको बच्चा जन्मने बित्तिकै अत्यधिक रगत बग्न थाल्यो, थाम्नै धौ धौ भयो, उनी निकै छटपटाई रहेकी थिइन्,” डाक्टर अर्यालले भने। अर्यालले उपचारका क्रममा सुर्पनाको शरीर रगत सकिएर सेतो भइसकेकोले एकसमय उनी बाँच्दिनन् कि भन्‍ने अवस्था समेत आएको बताए।

प्रतिष्ठानका डाक्टर रमेश भट्टराई, राजीव शाह र केही विद्यार्थीले उनलाई रगत दिएका थिए। डाक्टर, नर्स, विद्यार्थीहरु सबै मिलेर उपचारमा खटिएर रगत सँगसँगै अक्सिन दिएको उनले बताए। राती २ः०० बजेसम्म उपचार गर्दा उनलाई १४ पइन्ट रगत र स्लाईन दिएको अस्पतालले जानकारी दिएको छ। 

सेना प्रहरीले पनि रगत दिए 

सुर्पनाको जीवन रक्षा गर्न थप रगतका लागि कर्णाली विज्ञान प्रतिष्ठानले नेपाली सेनाको पनि सहयोग लिएको छ। भगवती दल गण जुम्लाका गणपति सुशीलकुमार थापा र सशस्त्र प्रहरी बल जुम्लाका प्रमुख प्रेमबहादुर भण्डारीको टोली राती रगत दिन प्रतिष्ठान पुगेको रजिष्ट्रार विश्वराज काफ्लेले जनाए।

प्रतिष्ठानका डाक्टर, नर्स, विद्यार्थी, सेना, प्रहरीको सबैको सहयोगबाट सुर्पनाको जीवन बाँचेको रजिष्ट्रार काफ्लेले बताए। महिलालाई गणपति सुशीलकुमार थापाले पनि रगत दिएका थिए।
स्वास्थ्य विज्ञान प्रतिष्ठानले रगत बग्न छोडेको र अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताएको छ। उनका श्रीमान् जयबहादुर हमालले डाक्टर र सेनाको सहयोगले आफ्नो जीवनमा ठूलो अर्थ राखेको बताए। श्रीमतीको ज्यान बचाएको भन्दै उनले सहयोग गर्ने सबैलाई धन्यवाद दिए। 

प्रतिष्ठानका प्रशासकीय अधिकृत द्वन्द्व शाहीले कर्णालीका धेरै महिलालाई नेपाली सेनाले जीवनदान गरेको जनाए। गाह्रो अप्ठ्यारोमा नेपाली सेनाले अहिलेसम्म ब्लड बैंकको रुपमा काम गरेको उनको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.