|

स्थानीय तहको निर्वाचनमा धेरैजसो ठाउँमा नेकपा एमाले र कांग्रेसबीच प्रतिस्पर्धा भयो। तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले पहिलो र दोस्रो चरणमा गरी जम्मा ८४ स्थानमा जित हासिल गरेर कांग्रेस र एमाले भन्दा धेरै पछाडि रह्यो। केहीले माओवादीको यो नतिजा उत्तम भएको बताएका छन् भने केहीले पार्टी पतनतर्फ उन्मुख भएको टिप्पणी गरिरहेका छन्। अहिलेको निर्वाचनलाई माओवादी केन्द्रले चाहिँ कसरी हेरिरहेको छ त रेडियो थाहासञ्चारका लागि रोसन पुरीले माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसँग गरेको कुराकानी

स्थानीय तह दोस्रो तहको नजिलाई कसरी लिनुभएको छ, माओवादी केन्द्रको पक्षमा आएको नतिजा स्वभाविक हो?

हामीले अपेक्षा गरेको परिणाम होइन यो। तर दुखी हुनुभन्दा यसलाई यथार्थका रुपमा स्वीकार गरेर वास्तविक कारणहरुको गम्भीर समीक्षा गर्दै कमजोरी सच्याउँदै जनतामा जाने काम गर्नुपर्छ। त्यसको निम्ति हामी निर्वाचन परिणाम आइसकेपछि पार्टीको हेडक्वार्टर बैठक बस्ने तयारी गरिरहेका छौँ।

तपाईंहरुको अपेक्षा चाहिँ कति थियो?

संख्यात्मक रुपमा त हामीले यति नै भन्ने अपेक्षा गरेका होइनौं। तर तेस्रो पार्टीको रुपमा पनि पहिलो पार्टीभन्दा जुन स्तरमा धेरै तल छ त्यसप्रकारको स्थिति चाहिँ आउँछ भन्ने अपेक्षा गरेका थिएनौं।

तल्लो तहमा संगठन नहुँदाको अवस्थामा आएको परिणाम राम्रो हो भन्ने टिप्पणी पार्टीकै नेताहरुले गरेका छन् नि?

यो भन्दा खस्कने खतरा देखिएको सन्दर्भमा, यस्तो मनोविज्ञान भएको सन्दर्भमा यति आए पनि राम्रै भयो भनेर सोच्ने कुराले एउटा कोणबाट त ठीकै गर्छ। तर यतिमा सन्तुष्ट भयो भने हामीले यत्रो परिवर्तन ल्याएर परिवर्तनलाई कार्यान्वयन गरेर जनतामा जुन परिवर्तनको अनुभूति दिनु छ त्यसको नेतृत्व गर्न सक्दैनौं। यो अवस्थामा सन्तुष्ट हुने स्थिति छैन तर हामीलाई थाहा थियो हामी चाहिँ सुदृढ परिचालित हुन सकेका छैनौं। यो अवस्थामा हामी पहिलो पार्टी नै बन्छौँ भन्ने हवाई कल्पना त गरेका थिएनौं, दोस्रो हुन्छौं भन्ने पनि थिएन तर संख्यात्मक रुपमा हेर्दा यो भन्दा अझै बढी आउँछ भन्ने हाम्रो सोचाई थियो।

पार्टी नराम्ररी पराजित हुनुको कारण चाहिँ के होला?

पार्टीको पराजयमा हाम्रै कारण जिम्मेवार छ। पहिलो कुरो त संगठन नै हो। हामीले संगठनलाई सुदृढ गर्ने, तलसम्म विस्तार गर्ने, जनतामा जाने, कार्यकर्तालाइ ठीक ढंगले परिचालन गर्ने सबै काम चाहिँ उपयुक्त ढंगले गर्न सकेनौं। हाम्रो संगठनात्मक कमजोरीनै पार्टीको पराजयको उच्च कारण हो।

दोस्रो कारण चाहिँ हाम्रो क्रान्तिकारी प्रवृत्तिमा आएको स्खलनले पनि प्रश्न चिन्ह पैदा गर्‍यो। आचरण कार्यशैली, संस्कृति, कार्यक्रम हेर्दा कांग्रेस एमाले र हामीलाई भिन्नसँग हेर्न सकेनन्। हामीले चाहिँ क्रान्तिकारी पार्टीको चरित्रद्वारा हाम्रो छुट्टै औचित्य सावित गर्न नसक्ने अवस्था भयो भने अझै तल खस्कन सक्छ। यदि उस्तै उस्तै हो भने त्यसैलाई किन भोट दिने भन्ने कुराले धेरै काम गर्‍यो।

तेस्रो कुरा चाहिँ हामीले समयमा काम गर्ने र ठीक ढंगले काम गर्न सकेनौं। हाम्रा हजारौं मतदाता नामावलीमा नाम नभएर छुटेका छन्। मतदातालाई सूचीमा राख्न नसक्ने, विभिन्न कारणले लोभमा परेका मतदातलाई हाम्रो पक्षमा रक्षा गर्न नसक्ने, यी काम पनि भए र उम्मेदवारलाई पनि आफ्नो क्षेत्रमा समयमै पठाउन सकेनौं।

अर्को कुरा चाहिँ नेपालको अहिलेको राजनीतिक सन्दर्भमा राष्ट्रियताको मुद्दाले पनि प्रभावित पार्‍यो। त्यसबारेमा हामीले जुन ढंगले अडान लियौं र एमालेले लिएको अडानमा के भिन्नता छ भन्ने बुझाउन नसक्दा एमालेको राष्ट्रियताको अडाननै ठीक हो भन्ने भान जनतालाई भयो। यी कारणले गर्दाखेरि हाम्रो नतिजा यो खालको आयो।

माओवादी केन्द्र नीतिगत हिसाबले स्खलन भएको हो कि व्यवाहारिक रुपमा स्खलित देखिएको हो?

वैचारिक, राजनीतिक, आधारभूत कार्यदिशाको हिसाबले हामीले बुझ्दा हामी ठीकै ठाउँमा छौं। यद्यपी  मार्क्सवादलाई विकास गरेर कार्यदिशालाई ठीक ढंगले आत्मसात गर्नका निम्ति हामीले मिहिनेत गर्नुछ। दोस्रो  राजनीतिक कार्यदिशालाई पनि समय सर्न्दभमा हामीले अझ थप गम्भीरतापूर्वक संश्लेषण गर्नुछ। परिवर्तनको यो सन्दर्भमा कसरी अघि बढ्ने भनेर हामीले एउटा राजनीतिक कार्यदिशा त तय गरेका छौँ तर त्यो पर्याप्त छैन। त्यसलाई अझ स्पष्ट पार्नुपर्ने अवस्था छ।

मोटामोटी रुपमा  राजनीतिक कार्यदिशामा हामी सही नै छौँ। आम जनतामा जाँदा नीति, योजना, कार्यशैली र समग्रमा भन्नुपर्दा हाम्रो राजनीतिक आचरण पनि सही देखिनुपर्छ। राजनीतिक आचरणको हिसाबले चाहिँ हामी सरकारमा कसरी उपस्थित हुन्छौँ, पार्टीको कार्यकर्ताको आचरण कस्तो हुन्छ, उनीहरुको जनतासँगको सम्बन्ध कस्तो हुन्छ हामीले तात्कालिक नीतिहरुमा, देश गरिब जनताको पक्षमा, राष्ट्रियताको पक्षमा  अडान कुन  बेलामा कस्तो राख्छौँ यो समग्र राजनीतिक आचरणले हामीलाई जनतामा चिनाउने हो। यो कुरामा हामी धेरै स्खलित भएका छौँ। हामीसँग जति कुरा छ ती कुरा हामीले जनतालाई बुझाउन सकेका छैनौँ। राजनीतिक पार्टीको औचित्य क्रान्तिकारी औचित्यका आधारमा मात्रै पुष्टी हुने हो। यसलाई पुष्टी गर्नका लागि हामीले धेरै मिहिनेत गर्नुपर्ने आवश्यकता छ ।

सरकारले राम्रो काम गरेपनि जस लिन नसकेको टिप्पणी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट पनि आएको छ, व्यवहारिक रुपमा पनि त्रुटी भएको हो?

अध्यक्ष कमरेडले भन्नुभएको कुरा ठीकै हो। जस लिन नसकेको भन्दा पनि जनतालाई राम्रोसँग बुझाउन नसकेको पक्कै हो। समग्रमा जनताले बुझ्दाखेरी सरकारले गरेका कामलाई मुल्यांकन गरेर हामीलाई मत दिने स्थितिमा पुगेनन्।

पार्टी छोडेर गएका मोहन वैद्य किरण, नेत्रविक्रम चन्द, बाबुराम भट्टराई भएको भए नतिजामा धेरै फरक पर्ने  थियो भन्ने लागेको छ?

हामीलाई  त्यस्तो लागेको छैन। नेपाली कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धाराको शक्ति नेकपा माओवादी केन्द्र हो भन्ने कुरा स्थापित भइसक्यो। यो हाम्रो सकारात्मक पक्ष हो। तर हाम्रो नकारात्मक पक्ष  के भयो भन्दा हामीले आफैले संसदवादभन्दा माथि हामी छौँ भन्ने कुरा व्यवहारमा देखाउन सक्छौँ कि सक्दैनौँ, गम्भीर समीक्षा गर्नुपर्छ। हामी फेरि अर्को निर्वाचनमा जादैछौं। तत्कालका लागि निर्वाचनको परिणामलाई सकारात्मक बनाउन के के गर्न सक्छौँ र तात्कालिक हल गर्न सक्ने कमजोरीको  समीक्षा गर्नेछौँ। समग्रमा भने निर्वाचन सकिएपछि महाधिवेशनलाई केन्द्रविन्दु बनाएर ठूलो बहस पार्टीभित्र सञ्चालन गर्नेछौं। 

नेपाली कम्युनिष्ट आन्दोलनको रुपान्तरण र पुनर्गठनको मुख्य थलो चाहिँ हाम्रो पार्टी हुन्छ। तर यथास्थितिमा यसले नेतृत्व गर्न सक्दैन। महाधविशेनमा एउटा बहस चाहिँ वैचारिक बहस हुनेछ। दोस्रो चाहिँ रुपान्तरणको हुनेछ । अहिले भने हाम्रो गल्ती र कमजोरीलाई जति सच्चाउन सकिन्छ त्यति सच्याएर निर्वाचनको लागि हामी केन्द्रित हुनेछौँ।

पार्टीको दीर्घकालीन रुपान्तरणमा माओवाद र माओ विचारधारा मान्नेहरुबीच एकताको वातावरण बन्छ?

माओवाद र माओ विचारधारा मान्नेहरुलाई एकैठाउँमा राख्नुपर्छ। माओवाद र माओ विचारधारा  प्रष्ट रुपमा नमानेका तर क्रान्ति नै गर्नुपर्छ भनेर लागिरहेकाहरुलाई पनि कसरी यो रुपान्तरण र पुनर्गठनको नयाँ अध्यायको थालनीमा सहभागी गराउने भन्नेबारेमा पनि सोच्नुपर्ने अवस्था छ। 

मोहन वैद्य किरण, बाबुराम भट्टराई र नेत्रविक्रम चन्द लगायतहरुसँग एकताको वातावरण बन्दै गएको हो ?

एकताको वातावरण बन्दै गएको भन्न त म सक्दिन बनाउनुपर्छ भन्ने चाहिँ हाम्रो चाहना हो। विप्लब कमरेड र किरण कमरेडहरुसँग हामीले पहल कदमी निरन्तर गर्नुपर्ने हुन्छ।  उहाँहरुले अहिले चाहिँ त्यो कुरा (एकता) स्वीकार गर्नुभएको छैन। तर पनि हामीले  पहल गर्नुपर्ने हुन्छ। उहाँहरु र बाबुरामजीको कुरा एउटै होइन। बाबुरामजीले मार्क्सवाद नै छोडेर जानुभएको छ, कम्युनिष्ट आन्दोलननै छाड्नुभएको छ। उहाँले कम्युनिष्ट विरोधी वुर्जुवाहरुसँग मिलेर पार्टी बनाउनुभयो। किरण र विप्लवजीहरुको आन्दोलनमा कतिपय त्रुटीहरु छ तर उहाँहरुको आन्दोलन क्रान्तिकारी कम्युनिष्टको आधारभूत सिद्धान्तमै आधारित छ। त्यसैले उहाँहरुसँगको एकताको लागि हामीले पहल गरिरहेका छौं र अझै घनिभूत बनाउनुपर्छ। बाबुरामजीले आत्मालोचना गरेर नयाँ ढंगले कम्युनिष्ट पार्टीमै समाहित हुन खोज्नुभयो भने त स्वागत पनि गर्नुपर्छ।

नेकपा एमालेसँग पनि एकता हुन सक्छ?

मैले नेपाली कम्युनिष्ट आन्दोलनका शीर्ष नेतृत्वहरुसँग पनि लगातार कुरा गरिराख्या छु। नेपालमा वामपन्थीहरु मात्रै मिले भने र नेपाली कम्युनिष्ट आन्दोलनका समर्थकहरुलाई मात्रै एक ठाउँमा ल्याउने काम संयुक्त मोर्चाका आधारमा मात्रै गरे भने पनि नेपालको सामाजिक राजनीतिक प्रक्रिया भिन्न ढंगले अघि बढ्छ र नेपालमा निकै ठूलो परिवर्तन गर्न सक्छौं। यो निष्कर्ष निकाल्नको लागि कुनै गम्भीर विश्लेषण गर्नुपर्दैन। यसमा नेकपा एमालेसँगको एकता पनि प्रष्टै हो।  

एउटा मोर्चा बनाएर बामपन्थी एकता  गर्ने भन्दै गर्दा तपाईंको पार्टी विपरीत ढंगले अघि बढ्दैछ, नेपाली कांग्रेससँग दीर्घकालीन गठबन्धनको कुरा गर्दैछ नि ?

कांग्रेससँगको दीर्घकालीन गठबन्धनको कुरा हाम्रो पार्टीले गरेको छैन। तात्कालिक रुपमा स‌ंक्रमणकालको अवस्था समाधान नभएसम्मका लागि हामीले संविधान जारी गर्ने सबै शक्तिहरुसँग मिलेर जाउँ र संक्रमणकालको अवशेष अन्त गरौँ भनेका हौं। यसो गर्दा नेपाली कांग्रेससँग सरकार बनाउने कुरा वा नेपाली कांग्रेससँग विभिन्न मोर्चामा एकता  गर्ने कुरा पटक्कै  गलत चाहिँ हुँदैन। तर  हामीले नेपाली कांग्रेससँग दीर्घकालीन ढंगले एकता गर्ने कुरा चाहिँ गरेका छैनौँ। हाम्रो पार्टीको त्यो नीति होइन हामी वामपन्थीहरुसँग  नै एकताको स्थिति बनोस् भन्ने चाहन्छौं। एकातिर बामहरुको व्यापक मोर्चा र कार्यगत एकताका आधारमा संविधान कार्यान्वयन, समृद्धि, सामाजिक न्याय र समाजवादको दिशातर्फको यात्रा, अर्कोतिर नेपाली कम्युनिष्ट आन्दोलनको रुपान्तरण र पुनर्गठन गरेर एउटै केन्द्र बनाउने हाम्रो अभियान हुनेछ। संविधान कार्यान्वयनको अवस्था नयाँ उचाईमा पुगेपछि हामीले गर्ने काम यो हुन्छ। अहिले चाहिँ कांग्रेस एमाले मात्रै होइन राप्रपालाई पनि सरकारमा सहभागी भएर संविधान कार्यान्वयनलाई नयाँ उचाइमा पुर्‍याउँ त भनेकै हो। यसमा हामी विचलित भएका छैनौँ।

बामपन्थी दलहरुको मोर्चा बन्न कहिलेसम्म कुर्नुपर्छ

नेपाली जनताहरुले राजनीतिक पार्टीहरुलाई  नियालिरहेका छन्। प्रमुख राजनीतिक पार्टीहरुसँग जनताले चित्त बुझाइराख्याछन् भन्ने मलाई लागेको छैन। यद्यपी उनीहरुले केही देखेका छैनन् हामीले नै आफूलाई रुपान्तरण गरेर  विकल्प दिनुपर्छ। चुनाव भनेको जनताको अघि नीति कार्यक्रम लिएर जाने कुरा हो। अब हामी चाहिँ अहिले संक्रमणकालको अवशेष अन्त्य नभएको अवस्थामा सरकारमा  बस्ने कुरा पनि सही हुन्छ। संविधानको कार्यान्वयनमा सरकारमा नभएका शक्तिसँग मिलेर  जाने कुरा पनि ठीकै हुन्छ तर चुनावमा जाने त जनताको अघि नीति र कार्यक्रम लिएर जाने कुरा हो नि।  त्यसो गर्दा परस्पर विपरीत विचार, सिद्धान्त भएका  कार्यक्रम भएका शक्तिहरुसँग सबैसँग मिलेका छौँ, कहाँ के गर्दा टिक्न सकिन्छ त्यसै गर्ने सबैको स्थिति देखियो। यो कुनै आदर्श, सिद्धान्त मूल्य नै बाँकी नरहेको जस्तो स्थिति देखापर्‍यो यो त ठूलो स्खलन हो। यो कुरा चाहिँ लगातार अघि बढ्यो भने खतराको घन्टी बज्छ नेपाली समाजको रुपान्तरणको लागि। 

अहिलेसम्म वाम एकता हुन नसक्नुमा बाहिरी शक्तिको भूमिका छ कि छैन?

नेपालमा वाम एकता हुन नदिन बाहिरी शक्तिले सकेको खेल खेल्छन् तर त्यसबाट  प्रभावित हुने कि नहुने भन्ने कुरा त हाम्रो हो नि। मुख्य दोष हाम्रो हो। नेपालका कम्युनिष्ट आन्दोलनका शक्तिहरु बाहिरी शक्तिको प्रभावबाट मुक्त भएर नेपालको आजको आवश्यकता र संभावनालाई पक्रेर अघि बढ्नुपर्छ। अरुले प्रभावित पार्न खोज्या छन् बेलाबेलामा हामी प्रभावित भएका छौँ मुख्य कमजोरी हाम्रो हो। अहिले हामी गम्भीर छौं। नेपालको राष्ट्रियतालाई केन्द्रविन्दुमा राखेर एकताको  दिशामा पहल गर्न छलफल भइरहेको छ।

त्यसो भनेको अर्को भ्रम नलागोस् समीकरणलाई यताउता गर्न खोजेको होइन। त्यो (गठबन्धन) चुनाव नहुँदासम्म कामय हुन्छ। समय चाहिँ म भन्न सक्दिन तर वाम एकता हुन्छ र यो दिशामा लाग्नु चाहिँ नेपाली जनताको इमान्दार निष्ठासँग जोडिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • कारण एउटै छ, चुनाब जित्न जनमानस बिच लोकप्रिय हुनु जरुरी छ र यो गर्न राष्ट्रीय एकता र जनताको सम्मान गर्नु निकै महत्वपूर्ण हुन्छ.....तपै हरुको नारामै संघीयता र जातीयता झलकन्छ, जून आम नेपाली को चाहनानै होइन, जबरदस्ती थोपर्न लगाएर हुन्छ.....??? ४ जात छत्तीस बर्णको साझा फुलबारीमा पुस्तौं पुस्ता देखि रम्दै आएका हामी नेपालीहरुलाई एक आपसमा लडाउन खोजी रहंदा, नेपाली जनताले कसरी तपै हरुलाई भोट दिने.......??? त्यसमा पनि देउबा जस्तो भ्रष्ट्राचारी, सड़यंत्रकारी, र दुइ पटक सम्म असक्चएम भइसकेको नेताको कुरा सुनेर र दबाबमा परेर बिगतका ५ महीना एता माओबादी सरकारले जे जे अलोकप्रिय निर्णय गर्यो त्यसैको परिणाम हो यो चुनबी नतीजा......अब माओबादी पार्टीलाई उठन निकै गार्हो त पर्छ नै र आगामी चुनाबहरुमा कांग्रेसको अहिले जून छिटपुट जीत भएको छ, त्यों पनि नहुने निश्चित देखिन्छ.....किनभनी अब जनताले बुझी सकेका छन की यी दुइ पार्टीलाई सत्ता दियो भनी यो देशमा कुनैपनी सज्जन, ईमानदार र असल बेक्तिहरुले बकस पाउनु को साटो सकस पाउंदा रहेछन भनेर......