|

अंग्रेजीका दर्जनौँ शब्दहरू नेपालीमा छिरे र ती नेपाली नै भए। जस्तो, कोट। नेपालीमा कोट सुहाउँदो कुनै शब्द थिएन होला। त्यसैले त्यो कोट नेपाली शब्द भयो। त्यसले ‘अस्कोट’ नामको सन्तान पनि जन्मायो। तर अंग्रेजीका सबै शब्दले आफूलाई नेपाली भाषामा यसरी समाहित गर्न सकेनन्। तिनले त नेपाली भाषालाई कुरूप र अनर्थकारी बनाइदिए।

सन् १९९० को दशकमा ‘ग्लोबलाइजेशन’ शब्द आँधीबेहेरी बोकेर आयो। ‘ग्लोब’बाट ‘ग्लोबलाइजेशन’ भएको होला भन्ने अनुमान गरियो। ग्लोबलाइजेशन शब्दलाई गीता जसरी पढ्नेलाई सोध्दा उनीहरूले ग्लोबलाइजेशन भनेको भूमण्डलीकरण हो भने। कुरो राम्रै लाग्यो। विश्व एउटा कम्प्युट भित्र साँघुरिएको हौवा चलेको बेलामा भूमण्डलीकरण शब्द ठीकठीकै लाग्यो।

यति राम्रो अर्थ राख्ने शब्द स्वाट्टै चलन चल्तीबाट बाहिरियो। हिजोका बलिया ग्लोबलाइजेशनवादीहरूले पनि ग्लोबलाइजेशन र भूमण्डलीकरण दुवै शब्द बोल्न छाडे। राम्रो अर्थ बोकेको शब्द यसरी चटक्कै नमर्नुपर्ने! मैले अक्सफोर्ड डिक्सनरी पल्टाएँ।

वाफ रे! ग्लोबलाइजेशन शब्द त साम्राज्यवादको औरसपुत्र पो रहेछ। शक्तिशाली राष्ट्रहरूले गरिव र साना राष्ट्रहरूमाथि थिचोमिचो गर्न र तिनलाई आफ्नो आर्थिक प्रभाव क्षेत्रभित्र समेट्ने कामलाई अंग्रेजीमा ग्लोबलाइजेशन भनिएको रहेछ। नेपालमा ग्लोबलाइजेशन अंग्रेजीका उद्भट विद्वानहरूले नै भित्र्याएका थिए। पूरै उल्टो अर्थ लाग्ने अनुवाद तिनले किन गरेका होलान्! ग्लोबलाइजेशनको भूमण्डलीकरण पनि अहिले शाब्दिक अस्तित्वमा छैन। त्यसैले अब कसैले पनि हिजो गरेको ढाँट कुराको जिम्मेवारी लिनेछैनन्।

अर्को शब्द आयो आतङ्क बोकेर ‘सबाल्टर्न।’ सुन्दै सातो जाने। अङ्ग्रेजीे शब्दकोशको सहारा लिनै पर्‍यो। सबाल्टर्न भनेको बेलायती सैनिकका तल्लो तहका, अर्थात क्याप्टेनभन्दा मुनिका जवानहरूलाई गरिने संवोधन हो भन्ने बुझेँ मैले। नेपालीमा पढ्ने सबाल्टर्न र अङ्ग्रेजीको सबाल्टर्नको साइनो संबन्ध कतै जोडिँदैन। फेरि पल्टाइयो, उही अक्सफोर्ड डिक्सनरी। त्यसले बल्ल अर्थ खुलायो– थिचिएका, शोषित, पीडित। अर्थात् सीमान्तकृत जनताको ठूलो समुदाय। यो त माक्र्सवादसँग जोडिएको शब्द पो रहेछ। शोषित, पीडित भनेर लेख्न गाह्रो लाग्छ भने सीमान्तकृत नै लेखिदिएको भए के बिग्रन्थ्यो? सरोकारवालाले नबुझून् भनेर शोषित, पीडितलाई सबाल्टर्न बनाइएको होला भनेर दुःखद अनुभव गर्नुबाहेक यतिबेला गर्न नै के सकिन्छ र!

अज्ञानताले जन्माएको यो सबैभन्दा दुःखद पाटो हो। इतिहासकारहरूले यो गल्तीलाई सच्याऊन्। अंग्रेजी– नेपाली अनुवादकहरूले पनि इण्डिजिनस र एथ्निकका बीचमा अंग्रेजीको ‘एण्ड’ भन्ने शब्द छ भनेर जानून्।

अनुवाद गर्न रहर गर्ने नेपाली विद्वानहरूका यस्तै उट्पट्याङ कामका कारण हामी नेपाली कतिपय स्थानमा हास्य पात्र हुने खतरामा हुन्छ। अंग्रेजीमा ‘इण्डिजिनस’ र ‘एथ्निक’ दुइटा शब्द छन्। अनुवादमा इण्डिजिनस भनेको आदिवासी र एथ्निक भनेको जनजाति हुन्छ। अनुवाद गर्ने नेपाली विद्वानले फरक फरक अर्थ राख्ने यी दुइटा शब्दलाई एउटै बनाइदिए– आदिवासी जनजाति भनेर। अङ्ग्रेजीमा ‘इण्डिजिनस एण्ड एथ्निक’ लेखिएको छ। नेपाली विद्वानले त्यो ‘एण्ड’ शब्दलाई पोलेर खाइदिएछन्।

बसोवासको हिसाबले सबैभन्दा पुराना बासिन्दालाई आदिवासी भनिन्छ। इण्डिजिनस बसोवाससँग जोडिएको शब्द हो। नेपालका सबैभन्दा पुराना बासिन्दा भनेका खस हुन्। यिनीहरू मानसरोवरको बाटो हुँदै दक्षिण झरेका हुन्। यिनीहरूको इतिहास झण्डै छ हजार वर्ष पुरानो छ। यिनीहरू अहिले सीमान्तीकृत भइसकेका छन्। तर जनजाति भनेको बास होइन, जातसँग जोडिएको शब्द हो। नेपालका केही जनजाति आदिवासी पनि हुन्। तर सबै जनजाति स्वतः आदिवासी हुन सक्दैनन्। अहिले जनजातिमा सूचीकृत कतिपय जातिहरूको नेपाली इतिहास दुई हजार वर्षको पनि छैन।

अर्थात् गलत अनुवादका कारण नेपालका आदिवासी त अन्यायमा परे नै, सँगसँगै जनजातिको परिभाषा पनि उट्पट्याङको भयो। इतिहास, भाषा, संस्कृति र वर्णव्यवस्थामा समाहित नेवार पनि जनजाति। आवास बनाइदिँदा पनि बस्न नमान्ने राउटे पनि जनजाति। जनजातिमा वर्णव्यवस्था हुँदैन तर नेवारमा त बाहुन मात्र होइन, दलितहरूको ठूलो समुदाय पनि छ।

अज्ञानताको भुँवरीमा फसेका बौद्धिक नेताहरूले आदिवासी जनजातिको परिभाषा पृथ्वीनारायण शाहको एकीकरणसँग जोडिदिए। यसले हाम्रो समृद्ध इतिहासलाई मार्ने अपराध गरेको छ। अब भृकुटीलाई हामीले चिन्ने कि नचिन्ने? सीता र जनकलाई हाम्रो भन्ने कि नभन्ने? आर्यावर्तको सबैभन्दा प्राचीन इतिहासलाई नामेट गर्न खोज्ने अपराध हो यो।

अज्ञानताले जन्माएको यो सबैभन्दा दुःखद पाटो हो। इतिहासकारहरूले यो गल्तीलाई सच्याऊन्। अंग्रेजी– नेपाली अनुवादकहरूले पनि इण्डिजिनस र एथ्निकका बीचमा अंग्रेजीको ‘एण्ड’ भन्ने शब्द छ भनेर जानून्।

यस्तै, अनुवादको विकलाङ्गताले नेपालका माक्र्सवादीहरूलाई पनि अहिलेसम्म टाउकोले टेकाएर हिँडाइ रहेको छ। माक्र्सको भनाइ यस्तो छ– व्यक्तिको विकासले संठनको विकास हुन्छ। तर नेपालीमा यसको ठीक उल्टो अर्थ लाग्ने अनुवाद गरिएको छ– व्यक्ति संठनको मातहत हुन्छ। त्यसले नेपालको कम्युनिस्ट आन्दोलनमा एउटा बोधोपन हुर्काएको छ। सबै सदस्य केन्द्रीय कमिटीको मातहत हुन्छन् भनेपछि केन्द्रीय कमिटीमा बस्ने ठूला, तल्ला कमिटीमा बस्ने साना भन्ने मानसिकता हुर्किएको छ। नेता हुन व्यक्तिले पहिले आफूलाई योग्य बनाउनुपर्छ सही चेतना नेपालका कुनै पनि कम्युनिस्ट पार्टीमा छैन।

हल्लै हल्लाको वितण्डाले नेपालको राजनीतिलाई बिरूप बनाएको छ। वीपी कोइराला पनि यो हल्लाखोर वितण्डाको शिकार हुनुभएको छ।  उहाँले भन्नुभएको छ– समाजवादमा अधिनायकत्व जोडिदियो भने त्यो साम्यवाद हुन्छ, साम्यवादबाट अधिनायकत्व झिकिदियो भने त्यो समाजवाद हुन्छ।

उहाँको यो भनाइ गलत छ। समाजवाद र साम्यवाद समाज विकासका सिँढीहरू हुन्। विश्व सभ्यताको आरम्भ आदिम साम्यवादबाट भयो। त्यहाँ राजा थिएन, त्यसैले रैती पनि थिएनन्। त्यहाँ राजनीति थिएन, प्रधानमन्त्री र मन्त्रीहरू थिएनन्। त्यहाँ सेना र पुलिस कोही थिएनन्। तर पनि समाज चलिरहेको थियो।

बिस्तारै मानिसमा लोभ हुर्कियो। त्यही लाोभले केहीलाई मालिक र धेरैलाई दास बनायो। यो थियो, समाज विकासको दोस्रो चरण। सामन्तवादलाई समाज विकासको तेस्रो चरण मानिन्छ भने पुँजीवादलाई चौथो चरण। समाजवाद समाज विकासको पाचौँ चरण हो भने साम्यवाद विकासको छैटौँ चरण हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.