|

रुपन्देही : बुटवल उपमहानगरपालिकाले सर्वसाधारणलाई सूचनाको पहुँचमा पुर्‍याउन मोबाइल एप्स सार्वजनिक गरेको छ। उपमहानगरमा निर्वाचित प्रमुख शिवराज सुवेदीले सपथपछि पदभार ग्रहण गर्दै मोबाइल एप्स सार्वजनिक गर्ने निर्णय सदर गरेका हुन्।

नवनिर्वाचित प्रमुखले बुटवललाई लैंगिक मैत्री शहरका रुपमा विकास गर्ने अवधारणा अनुरुप लैंगिक हिंसामुक्त नगर घोषणा गर्न उपप्रमुख गुमादेवी आचार्यको संयोजक र महिला अधिकारकर्मी समेत रहने गरी कार्यदल गठन गरेको छ।

यस्तै उपमहानगरको ठेगाना प्रणालीलाई १ वर्षभित्र व्यवस्थि तगर्ने गरी म्याट्रिक्स सिस्टममा आधारित घर नम्बर ठेगाना प्रणाली लागू गर्ने निर्णय पनि प्रमुखले गरेका छन्।

यसअघि नवनिर्वाचित जनप्रतिनिधिलाई निर्वाचन अधिकृत भरतमणि पाण्डेले सपथ ग्रहण गराएका थिए। सपथ ग्रहणपछि बोल्दै बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले बुटवललाई समृद्ध नगर बनाउने अठोट छिटै पूरा गर्ने बताए।

एमाले उपमहासचिव पौडेलले भने : प्रादेशिक राजधानी बुटवल नै हुन्छ

कार्यक्रममा बोल्दै एमाले उपमहासचिव विष्णु पौडेलले प्रादेशिक राजधानी बुटवललाई बनाउनका लागि बुटवलमा एमालेको जितले थप बल पुगेको बताए। ‘बुटवलमा प्रदेश नम्बर ५ को राजधानी हुन्छ भन्ने विषयमा छलफलै गर्नुपर्दैन, यो विवाद गर्नुपर्ने विषय नै हैन’ उनले भने 'बुटवल राजधानी हुन्छ कि हुन्न भन्ने विषयमा धेरै छलफल भएको पाएको छु, यो छलफल गर्नुपर्ने विषय नै हैन, यो विषयमा अब छलफल नगरौं, राजधानी बुटवल नै हुन्छ।’

पौडेलले नवनिर्वाचित जनप्रतिनिधिलाई जनताको सच्चा प्रतिनिधि भएर काम गर्न आग्रह गरे। रुपन्देही ४ का सांसद समेत रहेका पौडेलले बुटवलको विकासका लागि आफु कटिबद्ध रहेको समेत बताए।

कांग्रेस उम्मेदवारले भने : म बुटवलको छायाँ प्रतिनिधि

बुटवल उपमहानगरपालिकाको निर्वाचनमा कांग्रेसका उम्मेदवार खेलराज पाण्डेले आफु बुटवलको विकासका लागि निर्वाचित नभए पनि लागिरहने बताएका छन्।

बुटवलमा बिहीबार पत्रकार सम्मेलन गर्दै उनले आफू निर्वाचित नभएपछि बुटवल उपमहानगरको छायाँ प्रतिनिधि भएर काम गर्ने बताएका हुन्।

उनले बुटवललाई समृद्ध बनाउनका लागि आफुले चुनावताका गरेका प्रतिवद्धता पूरा गर्नका लागि लाग्ने बताए। ‘निर्वाचित भएका साथीहरुले जति कार्यक्रम र योजनाहरु ल्याउनुहुन्छ, त्यति योजना र कार्यक्रमहरु मैले पनि ल्याउने छु', उनले भने 'बुटवलको विकासका लागि सधैभरि खटिरहनेछु र बुटवलबासीलाई हामीले जिताउनुपर्ने व्यक्ति त छुटाएछौं भन्ने अनुभूति गराउनेछु।’ उनले बुटवलमा कांग्रेसको हारका बारेमा बैठक बसेर समीक्षा गरेपछि यथार्थ जानकारी गराउने बताए।

बुटवल उपमहानगरमा एमाले उम्मेदवारले प्रमुख/उपप्रमुखसहित १६ वडामा जित हात पार्दा कांग्रेसले ३ वटा वडामा मात्रै जितेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.