|

काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस स्वतन्त्रताले नै लोकतन्त्रलाई टिकाउने बताएका छन्। नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले लेखेको 'नेपालमा प्रेस स्वतन्त्रता' नामक पुस्तकको सार्वजनिकीकरण कार्यक्रममा प्रधानमन्त्री देउवाले उक्त कुरा बताएका हुन्।

प्रेस स्वतन्त्रता र मानवअधिकारप्रति आफू सधैँ प्रतिबद्ध रहेको बताउँदै उनले सत्यतथ्य सामग्री प्रकाशन तथा प्रसारण गर्न आग्रह गरे।

प्रधानमन्त्री देउवाले लोकतन्त्रलाई संस्थागत गर्न सहयोग पुग्ने गरी अघि बढ्न सञ्चार क्षेत्रलाई आग्रह पनि गरे।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले निर्वाध रूपमा प्रेस स्वतन्त्रताको उपयोग गर्न पाउनुपर्ने बताए।

पुस्तकमाथि टिप्पणी गर्दै पत्रकारिताका प्राध्यापक पी. खरेलले अनुसन्धानमा आधारित यो पुस्तक निकै सान्दर्भिक भएको बताउँदै मिडिया जहिले पनि निष्पक्ष रूपमा प्रस्तुत हुनुपर्ने धारणा व्यक्त गरे।

पुस्तकमा लोकतन्त्र र प्रेस स्वतन्त्रता, नेपाली पत्रकारिता र प्रेस स्वतन्त्रताको विकास, मिडियासम्बन्धी कानुनी व्यवस्था, नियमन प्रणालीको बारेमा बिस्तृत चर्चा गरिएको छ।

यस्तै, नेपाली मिडियाको स्थिति र पत्रकारको सुरक्षा, मिडियामा लगानी, आर्थिक वातावरण र प्रेस स्वतन्त्रतको बारेमा पनि उल्लेख गरिएको छ।

पुस्तकमा डा. विष्टले नेपालको संविधानमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई उदारतापूर्वक समेटिएको र सरकारी हस्तक्षेपका संभावनाहरूलाई धेरै हदसम्म सीमित गरेर प्रेस स्वतन्त्रताको प्रत्याभूतिलाई बलियो बनाइएको उल्लेख गरेका छन्।

छापाखाना तथा प्रकाशन ऐन, राष्ट्रिय प्रसारण ऐनलगायतका कानुनहरू पुनरावलोकन नभएका कारण कानुनी प्रत्याभूतिका आधारहरू धेरै बलियो नभएको लेखकको अनुसन्धानको निष्कर्ष छ।

लेखकले सर्वेक्षण र अन्तर्वार्ताका आधारमा कानुनी तथा नीतिगत पक्ष र अभ्यासलाई हेर्दा नेपाली प्रेसको अवस्था आंशिक स्वतन्त्र छ भन्ने पुष्टि गरेका छन्। प्रेस स्वतन्त्रतासम्बन्धी नीतिगत, कानुनी र व्यावहारिक क्षेत्रमा सुधार गरेर नेपाललाई प्रेस स्वतन्त्रताको दृष्टिले स्वतन्त्रको कोटिमा पुर्‍याउन पहल गर्न आवश्यक छ भन्दै पुस्तकमा प्रेस स्वयंले पनि सामाजिक उत्तरदायित्वको सिद्धान्तलाई आत्मसात गरी व्यावसायिक अभ्यासमा थप सुधार गर्नुपर्ने सुझाइएको छ।

पत्रकार, पत्रकारिताका अध्येता, अनुसन्धानकर्ता, विद्यार्थी र अभियन्ताका साथै पत्रकारिता, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक प्रणालीका बारेमा रुचि राख्ने हरेकाका लागि उपयोगी हुने पुस्तक सेन्टर फर मिडिया रिसर्च नेपालसँगको सहकार्यमा सांग्रिला पुस्तक प्रालिले प्रकाशन गरेको हो।

३१३ पृष्ठको यस पुस्तकको मूल्य ४७५ रुपैयाँ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.