|

काठमाडौँ: निर्वाचन आयोगमा दल दर्ताको अन्तिम चरणमा पुगेको नवगठित दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल फुटको संघारमा पुगेको छ।

मधेसकेन्द्रित छ दल मिलेर गत बैशाख ७ गते राजपा गठन भएको थियो। छ दल मिलेर बनेको राजपा निर्वाचन आयोगमा दर्ता गर्ने दलीय सहमति भए पनि एकीकृत पार्टी राजपाको विधानमा राखिने विषयवस्तुलाई लिएर विवाद सार्वजनिक भएको हो।

राजपा अध्यक्षमण्डलका सदस्य अनिल झाले पार्टीको विधानमा मधेसी समुदायको अधिकारको पक्षमा लडेका अग्रज गजेन्द्रनारायण सिंह र रामजनम तिवारीको नाम राख्नै पर्ने अडान लिएपछि आयोगमा पार्टी दर्ताको योजनासमेत असफल भएको छ।

‘पार्टीले विधान निर्माण गर्न जिम्मेवारी दिएको कार्यदलले ल्याएबमोजिम गजेन्द्रनारायण सिंह र रामजनम तिवारीलाई प्रस्तावनामै सम्झने विषय समेटिएको छ’, अध्यक्षमण्डलका सदस्य अनिल झाले थाहाखबरसँग भने, ‘उहाँहरूको नाम विधानमा राख्नुपर्छ भन्नु मेरो कर्तव्य र दायित्व हो।’

अध्यक्षमण्डलका अर्का सदस्य राजकिशोर यादवले भने विधानको विषयमा पार्टीभित्र छलफल चलिरहेको र केही समयपछि पार्टी निर्वाचन आयोगमा दर्ता हुने बताए।

पार्टीको नाम निर्वाचन आयोगमा दर्ता गर्न राजपाका शीर्ष नेताबीच मंगलबार नै सहमति भएको थियो। सहमतिअनुसार राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले नवनिर्मित विधानमा हस्ताक्षर गरिसकेका थिए।

विधानमा रामसपाको तर्फबाट हस्ताक्षर गरेर व्यक्तिगत काममा भारततर्फ भण्डारी लागेपछि बुधबार पाँच जना अध्यक्षमण्डलबीचको छलफलमा झाले सिंह र तिवारीको नाम नराखे एकीकृत पार्टी राजपाको विधानमा हस्ताक्षर नगर्ने अडान लिएपछि पार्टी विभाजको संघारमा पुगेको हो।

निर्वाचन आयोगमा पार्टी दर्ता गर्नका लागि राजपाका नेताहरूले निर्वाचन आयोगसँग बुधबार दिउँसो समय पनि लिएका थिए। तर आयोगमा पार्टी दर्ता भएन। राजपा अध्यक्षमण्डलका सदस्य अनिल झाको अडानप्रति असहमति जनाउँदै अध्यक्षमण्डलका अर्का सदस्य राजेन्द्र महतोले पार्टी तर्दा गर्नै पर्ने भनाइ राखेका थिए।

नेता झा र महतोबीच हात हालाहालको स्थिति आउँदा अर्का अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले रोकेका थिए। ‘गजेन्द्रनारायण सिंह र राजजनम तिवारीको नाम संघीय सद्भावना र नेपाल सद्भावना पार्टी हुँदासमेत विधानमा समेटिएको हो’, झाले भने, ‘विधान मस्यौदा समितिले समेत सिफारिस गरिएको विषय हटाउनु कसैको घाँटी रेट्नुसरह हो।’

राजपा अध्यक्षमण्डलका सदस्य झाको अडानपछि पार्टी दर्ता गर्ने काम रोकिएको छ। अध्यक्षमण्डलका सदस्यहरूले अनिल झालाई तीन/चार दिन मात्र पर्खने भएका छन्। आगामी बुधबारसम्म पनि अनिल झा एकीकृत पार्टीको विधानमा हस्ताक्षर गर्न तयार नभए उनको पार्टी नेपाल सद्भावना पार्टीलाई नसमेटी आयोगमा दर्ता गरिने भएको छ।

रामजनम तिवारी २००९ सालमा नेपाली कांग्रेससँग विद्रोह गरी तराई कांग्रेस गठन गरेका थिए भने नेपाली कांग्रेस सप्तरीका तत्कालीन सभापति गजेन्द्रनारायण सिंहले नेपाल सद्भावना परिषद् गठन गरेका थिए। परिषद्लाई नै २०४७ सालमा पार्टीमा परिणत गरिएको थियो।

सद्भावना अध्यक्ष राजेन्द्र महतो, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा, तराई-मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयेश त्रिपाठी र नेपाल लोकतान्त्रिक पार्टीका वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादव सबैले नेपाल सद्भावना पार्टीबाटै राजनीति सुरु गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.