|

  • पेमा लामा

काभ्रे : बिहीबार सहरी विकास मन्त्री प्रभु साहको गाडी काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नं. ३ आधाबाटमा पुग्दा स्थानीय भिमसेन क्षेत्री काफ्ले छाप्रोको छेउमा उभिरहेका थिए। गाडीबाट ओर्लने बितिकै मन्त्री साहले सोधे, 'तपाईको घर त सबै भत्केको रहेछ किन नबनाउनुभएको ?' मन्त्रीको प्रश्न सकिन नपाउँदै काफ्लेले प्रतिप्रश्न गरे,‘बनाउनै नसक्ने अवस्थामा छौं। ५ जनाको परिवार छ ३ जना पढ्न जान्छन्, हामी दुईले कसरी कुन मात्रै काम गर्ने?’

उनकी एउटी छोरी पढ्नका लागि काठमाडौं पढ्न गएकी छिन् भने एक छोरी स्थानीय विद्यालयमा अध्ययनरत छिन्। उनले सरकारले दिएको ५० हजार काठ किन्दै ठिक्क भएको बताए। घर बनाउन पैसा, डकर्मीदेखि पानीसम्मको समस्या भएको उनले सुनाए।

दैनिक ज्यालादारी गरेर जीवन गुजारीरहेका काफ्लेको परिवार हेभिट्याटले बनाईदिएको छाप्रोमा बस्दैछ। काफ्लेजस्तै यस क्षेत्रका अधिकांश भूकम्प पीडित छाप्रोमै बस्न बाध्य छन्। पुनर्निर्माणमा भएको ढिलाईबारे जनतासँग प्रत्यक्ष कुरा गर्नका लागि उनीहरुकै घर आँगनमा पुगेका मन्त्रीलाई बिहीबार पाँचखालमा सबै जनताले प्रश्न मात्रै गरे।

‘पैसा भए पो घर बनाउनु’ ‘५० हजारले के चाँही पुग्छ ?’ मन्त्रीसँग ठूलीमायाको प्रश्न थियो। मायाल लामाले पनि घर भत्केपछि बनाउन नसकेका कारण सानो टहरा बनाएर बस्दै आएको बताइन ।

घर बनाए पनि पैसा पाएनन्

यही् गाउँकी अनिता भूजेलले भने ६ कोठाको एक तले घर बनाइसकेकी छिन्। उनले पहिलो किस्तापछि दोस्रो किस्ता पाउन नसकेको गुनासो पोखिन्। ‘मेरो घर एक तलाको बनाएर लगभग सकिन लाग्यो, तर ईञ्जीनियरहरुले भएन भनेर पास गरेकै छैन, मैले कसरी दोस्रो किस्ता पाउन सकिन्छ ?,’ उनको प्रश्न थियो।

उनले उक्त घर बनाउन आफुसँग भएको जग्गा धितो राखेर घर बनाएको बताइन् । यस क्षेत्रमा भूकम्प पुनर्निर्माण सम्बन्धी काम गरिरहेका ईञ्जीनियर दुर्गा पौडेलले भने मापदण्ड अनुसार नभएको कारण पास गर्न नसक्ने प्रतिक्रिया दिए।

‘यो घर बनाए पनि मापदण्ड अनुरुप छैन, कसरी पास गर्न सकिन्छ ?’ पौडेलले भने, ‘हामीलाई पनि जुन मापदण्डले तोकेको छ, त्यही अनुसार भए नभएको हेरेर मात्रै पास गर्ने हो।’

भूकम्पपीडितको गुनासो सुनेपछि मन्त्री साहले बनाएको घर भूकम्प प्रतिरोधी छ भने ईञ्च नापेर बस्न आवश्यक नभएको प्रतिक्रिया दिए। मन्त्री साहले ईञ्जिनियरहरुलाई भने,‘ भूकम्प प्रतिरोधी छ भने किन ईञ्च–ईञ्च नै नापेर बस्नुप¥यो, प्रक्रिया मिलाएर पास गरी पुनरनिर्माणको काममा तिब्रता दिनुस्।’

छाप्रोबाट मुक्त हुनैपर्छ

‘छाप्रोबाट मुक्त हुनै पर्छ। दुई वर्षदेखिको छाप्रोको बास अन्त गर्न चाहन्छौं, त्यसैले नै समस्या कहाँनिर छ भनेर बुझ्न यहाँ आएको हुँ,’ साहले भने।

मन्त्रीको टोलीले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको वडा नं. ३ स्थित थुम्काडाँडा र आधाबाट अनि वडा नं. ६ को झिंगनाबेशीमा पुगेर भूकम्पपीडितहरुको गुनासो र पुनर्निर्माणको अवस्थाको वारेमा जानकारी लियो।

मन्त्री साहले भूकम्पपीडितको बस्तीमा पुग्नुअघि जिल्लास्थित सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयमा पुगेर जिल्लाको अवस्थाको बारेमा जानकारी लिएका थिए।

सो अवसरमा डिभिजन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख अष्टलाल सुवालले जिल्लाको अवस्थाको बारेमा जानकारी दिएका थिए। उनले जिल्लामा ६६ हजार ७ सय २९ जना लाभग्राहीले सम्झौता गरेको ७ हजार २ सय ११ जनाले घर बनाईसकेको र ५ हजार ६ सय ४३ जनाको किस्ताको लागि सिफारिस गरिसकेको बताएका छन्।

डिभिजन उपप्रुमख अशोक अधिकारीले लाभग्राहीले पैसा लिएको भएपनि सामाजिक रुपमा देखापरेको समस्याका कारण काम अघि बढ्न नसकेको बताए। जिल्ला पुनर्निर्माण प्राधिकरण काभ्रेपलाञ्चोकका प्रमुख ध्रुव गैडाले घर बनाउन नसक्नुमा दक्ष जनशक्तिको अभाव नै रहेको बताए। जिल्लामा १३७ जनाको प्राविधिक दरबन्दीमा १३३ जनाले काम गरिरहेको डिभिजन कार्यालय प्रमुख सुवालले जानकारी दिए।

बिहीबार काभ्रेपलाञ्चोकमा आईपुगेको टोलीमा पुनर्निर्माण प्राधिकरणको सिईओ गोविन्द पोख्रेल, मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्मा र सहरी विकास मन्त्रालय केन्द्रीय कार्यान्वय आयोजनाका आयोजना निर्देशक तपेन्द्र बहादुर खड्का लगायत सहभागी थिए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.