|

उदयपुर : उदयपुर सदरमुकाम गाईघाटसमेत समेटिएको त्रियुगा नगरपालिका प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस उम्मेदवार विजयी भएका छन्। नगर प्रमुखमा एमालेका बलदेव चौधरीले ११ हजार ३ सय ६८ मत प्राप्त गरी जित हात पार्दा उपप्रमुखमा विजयी कांग्रेसकी देवी चौधरीले ११ हजार ३ सय २२ मत पाइन्।

उदयपुरका मुख्य निर्वाचन अधिकृत मेहन्द्रबहादुर कार्कीकाअनुसार नगर प्रमुखमा विजयी चौधरीले कांग्रेस उम्मेदवार वसन्त बस्नेत भन्दा ७३ मत बढी पाए। उप्रमुखमा कांग्रेसकी देवीले प्रतिद्वन्दी एमालेकी गीता रेग्मीलाई ४३ मतले पराजित गरिन्। प्रमुख/उपप्रमुखका निकटतम प्रतिद्वन्द्वी बस्नेतले ११ हजार २ सय ९५ र रेग्मीले ११ हजार २ सय ९ मत प्राप्त गरेका छन्।

तेस्रो स्थानमा रहेको माओवादीका प्रमुख पदका उम्मेदवार किरण राईले ७ हजार ४ सय ४९ तथा उपप्रमुखकी उम्मेदवार गीता खड्काले ६ हजार ८ सय १८ मत प्राप्त गरे।

थारु समुदायको बाहुल्यता रहेको यस नगरपालिकामा थारु उम्मेदवारले नै जित हात पारेका छन्। बलदेव र देवी दुवै थारु आन्दोलनका अगुवासमेत हुन्। यसहिसाबले यहाँ थारु समुदायको मत निर्णायक बन्न पुगेको छ।

उदयपुरको ८ स्थानीय तहमध्ये ७ तहको मतपरिमाण सार्वजानिक भइसकेको छ। ८ स्थानीय तहमध्ये एमलेले दुई नगरपालिका र ३ गाँउपालिकामा जित हात पारेको छ। कटारी नगरपालिका, ताप्ली गाँउपालिका, उदयपुरगढी गाँउपालिका, रौतामाई गाँउपालिकामा एमाले विजयी हुँदा माओवादीले केन्द्रले सुनकोसी गाँउपालिकामा जित हात पार्‍यो। कांग्रेस चौदण्डीगढी गाउँपालिकामा मात्र विजयी भयो।

परिणाम आउन बाँकी बेलका नगरपालिकामा एमाले अघि छ। विवाद भएर दुई दिनपछि त्यहाँ पुन: मतगणना भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.