|
पुर्चौडी नगरपालिकाकी उपप्रमुख जानकी ऐर बम। दशरथचन्द नगरपालिकाकी उपप्रमुख मीना चन्द(तल)।

  • मिलनप्रकाश ढुङ्गाल

स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा शून्य रहे पनि जिल्लाका दशै स्थानीय तहमा उपप्रमुख र उपाध्यक्षमा भने महिला निर्वाचित भएका छन्। उपप्रमुख\उपाध्यक्षसहित जिल्लाका ८४ वडामा निर्वाचित सदस्य र दलित सदस्य गरी १६८ महिला जनप्रतिनिधि चुनिएका छन्।

स्थानीय तहमा निर्वाचित महिलाहरूको यहाँसम्मको यात्रा कम संघर्षपूर्ण छैन। दुर्गम जिल्लाको सामाजिक परिवेशमा थिचोमिचोमा पर्दै आएका उनीहरू नेतृत्व पाएपछि हौसिएका छन्।

सामाजिक परिचालनबाट राजनीतिमा
जिल्लाका ६ गाउँपालिका तथा ४ नगरपालिकामा निर्वाचत भएका उपप्रमुख\उपाध्यक्ष दश महिला कुनै न कुनै रूपमा सामाजिक क्षेत्रमा सक्रिय रहेका छन्। धेरैजसो महिला विभिन्न सरकारी तथा गैरसरकारी निकायमा सामाजिक परिचालक गरिरहेका थिए। सामाजिक परिचालनको कामबाटै राजनीतिक ज्ञान प्राप्त भएकाले राजनीतिमा होमिएको उनीहरू बताउँछन्।

जिल्लाको पुरानो नगरपालिका दशरथचन्दमा उपप्रमुख निर्वाचित मीना चन्द शिक्षण पेशा छोडेर चुनाव लडेकी हुन्। पञ्चेश्वर गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित बिना भट्ट गरिबी निवारण कोषको सामाजिक परिचालक थिइन्।शिवनाथ गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित कुष्मा चन्द जिल्ला विकास समितिअन्तर्गत स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमको सामाजिक परिचालक थिइन्।

मेलौली नगरपालिकाकी उपप्रमुख राधा ओझा पनि जिल्ला विकास समिति अन्तर्गत नै सामाजिक परिचालनको काम गर्थिन्। पाटन नगरपालिकाकी उपप्रमुख सरस्वती कोली हलियामुक्ति आन्दोलनसँगै एउटा गैरसरकारी संस्थामा सामाजिक परिचालकको रूपमा कार्यरत थिइन्।

दोगडाकेदार गाउँपालिकाकी उपाध्यक्ष पार्वती ऐर कार्की, सुर्नया गाउँपालिकाकी उपाध्यक्ष लीला बिष्ट र सिगास गाउँपालिकाकी उपाध्यक्ष द्रोपती चन्द पनि यसअघि गैरसरकारी संस्थामा सामाजिक परिचालक थिइन्। सामाजिक परिचालनको क्षेत्रबाट महिला सशक्तीकरणका धेरै कुरा सिकेको र आफूले सिकेका कुरा कार्यान्वयनमा ल्याउन राजनीतिमा लागेको सुर्नया गाउँपालिकाकी उपाध्यक्ष लीला बिष्टले बताइन्।

सामाजिक परिचालनका क्षेत्रबाट प्राप्त सीपलाई कार्यान्वयनमा गर्न राजनीतिक नेतृत्वमा जानु निकै सुखद भएको जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत अम्बादत्त अवस्थीले बताए। उपप्रमुख पदमा मात्रै नभएर वडा सदस्य पदमा आएका महिलाहरू पनि कुनै न कुनै समूह समितिमा आबद्ध महिला रहेको बताइएको छ। ‘गाउँमा गठन भएका वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्रमा आबद्ध महिलाहरू नेतृत्वमा आएका छन्’, कार्यक्रम अधिकृत अवस्थीले भने ।

भूमिगत राजनीतिमा होमिएकी जानकी बनिन् उपप्रमुख
तत्कालीन नेकपा माओवादीले चर्काएको सशस्त्र युद्धमा होमिएका युवामध्ये एक हुन्, बैतडीको दुर्गम क्षेत्र पुर्चौडीकी जानकी ऐर बम। २०५९ सालमा भूमिगत भएकी जानकी १५ वर्षपछि जिल्लाको सबैभन्दा ठूलो नगरपालिका पुर्चौंडीकीको उपप्रमुख चुनिएकी छिन्।

माओवादीको सांस्कृतिक कार्यक्रम र भाषणबाट प्रभावित भएर जानकी १७ वर्षको कलिलो उमेरमा माओवादी युद्धमा सामेल भइन्। महिलालाई घरको चुलोचौकोबाट बाहिर निकाल्नु हुँदैन भन्ने मान्यताको अन्त्यका लागि सशस्त्र युद्धमा लागेको बताउने उनले अब महिलामुक्तिका लागि काम गर्ने बताएकी छिन्।

माओवादी केन्द्रको भगिनी संगठन अखिल नेपाल महिला संघ(क्रान्तिकारी) की केन्दीय सदस्य समेत रहेकी उपप्रमुख जानकीले पुर्चौडी क्षेत्रका महिला अन्य क्षेत्रको तुलनामा कमजोर भएकाले उनीहरूको हरेक कोणबाट विकास गर्ने दाबी गरिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.