|

विराटनगर : ‘डरलाग्दो अन्तरघात भयो, मेयरले अन्तरघात थाम्दैछन्, तर वडाअध्यक्षले थाम्न सकेनन्,’ विराटनगर महानगरपालिकाको मतगणनास्थलमा भेटिएका कांग्रेसका एक नेताले भने, ‘वडा नम्बर ५ को मतपरिणाममा अध्यक्ष मात्रै कसरी हार्‍यो?’

विराटनगर महानगरपालिकाको वडा नम्बर ५ को मत परिणाम सार्वजनिक हुँदै गर्दा कांग्रेसका कार्यकर्तामा अन्तरघात डरलाग्दो भएको हल्लीखल्ली भयो। उक्त वडामा ४ सदस्यले जित निकाल्दा वडा अध्यक्षमा हार बेहोर्नुपर्‍यो, त्यो पनि कांग्रेसको आधार इलाकामा।

विराटनगरको मत परिणाम पछिल्लो केही घण्टायता सार्वजनिक भएको छैन। निर्वाचन आयोगले दलहरुको सहमतिमा मात्रै मत परिणाम सार्वजनिक गर्ने समझदारी भएकोले परिणाम सार्वजनिक नगरेको बताएको छ।

यद्यपि स्रोतले दिएको जानकारीअनुसार विराटनगरको १, २, ३, ४, ५, ६, ७, १४, १५, १६, १७, १८ र १९ नम्बरको मतपरिणाम आइसक्दा कांग्रेस र संघीय समाजवादी फोरमको मताअन्तर १४ सयको हाराहारिमा आएको छ, भने एमाले तेस्रो स्थानमा झरिसकेको छ।

घोषित परिणाममा भने कांग्रेसले १, ३, ४ र १६ नम्बर वडा जितेको छ। १९ नम्बरमा कांग्रेसकै स्वतन्त्र बागी उम्मेदवारले जितेका छन्, भने एमालेले २ र ५ नम्बर वडा अध्यक्ष जितेको छ। यस्तै फोरमले १४, १५, १७ र १८ नम्बर वडा जितिसकेको छ।

स्रोतका अनुसार विराटनगरको ६ नम्बरमा माओवादीले प्यानलसहित अग्रता लिएको छ। यद्यपि ६ नम्बरको आधिकारिक परिणाम अहिलेसम्म बाहिर आएको छैन । गणना भइरहेको ७ नम्बर वडामा कांग्रेस अग्रस्थानमा छ।

तर, अबको अग्रता कस्तो होला? परिणाम के आउला? सबैको जिज्ञासा छ। देशभरको परिणाम आइसक्न लाग्दा विराटनगरको परिणाम आउन अझै केही दिन कुर्नुपर्ला। तर, सर्वाधिक चासो रहेको महानगरपालिकामा पछिल्लोपटक संघीय समाजवादी फोरमले ल्याउँदै गरेको मतपरिणामले कांग्रेसजनमा चिन्ता बढेको छ।

अब बाँकी रहेका वडाहरु ८, ९, १०, ११, १२ र १३ मध्ये कांग्रेसले लिड गर्नसक्ने ढुक्कको वडा एउटा पनि छैन। बरु, १० नम्बर वडामा एमालेले जित्ने आशा लिएको छ। ‘बदर मत देखिएन भने प्रत्येक वडामा हाम्रो अग्रता ४ सयको हाराहारिमा हुन्छ,’ जित्नेमा ढुक्क हुँदै संघीय समाजवादी फोरमका मेयरका उम्मेदवार उमेश यादवले भने, ‘बदर मतले हामीलाई पछि पार्‍यो।’

अहिलेसम्म अत्यधिक मत बदर नभएको भए अगाडि भइसक्ने फोरमको तथ्याङ्क छ। निर्वाचन आयोगले बदर मत कति भन्ने आधिकारिक तथ्याङ्क सार्वजनिक गरेको छैन। तर, गणनामा खटिएका कर्मचारी र दलका प्रतिनिधिका अनुसार संघीय समाजवादीलाई आएको अत्याधिक मत बदर भएको छ। गन्न बाँकी रहेका वडाहरुमा मधेसी र पहाडी समुदायको बसोबास बराबर छ।

अहिलेसम्म गणना भएको मतको अवस्था हेर्दा पहाडी समुदायको मत कांग्रेस, एमाले र माओवादीमा जाने र मधेसी समुदायको मत फोरम नेपालमा एकीकृत हिसाबले जाने गरेको देखिएको छ। अझ माओवादीसँगको तालमेलका कारण पहाडी समुदायको केही भोटसमेत फोरमलाई गएको छ। सोही अवस्था दोहोरिने हो भने कांग्रेसलाई विराटनगर महानगरपालिकामा जित निकाल्न कठिन हुने विश्लेषण सुरु भएको छ।

यद्यपि नतिजा कस्तो आउला, त्यो थाहा पाउन भने केहीदिन कुर्नु पर्ने देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.