|

  • अनिल खत्री-

गुल्मी : असार १४ गते सम्पन्न स्थानीय निर्वाचनबाट निर्वाचित गुलमीका जनप्रतिनिधिले शपथ लिएका छन्। गुल्मीको सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुले बिहीबार एक कार्यक्रमबीच शपथ लिनुका साथै पदभारग्रहण गरेका छन्।

नगरको प्रमुखमा निर्वाचित डिल्लीराज भुसाल र उपप्रमुखमा निर्वाचित सीता भण्डारीसहित १४ वटा वडामा निर्वाचित जनप्रतिनिधिहरुले सामूहिक रुपमा शपथ लिएका हुन्। निर्वाचित जनप्रतिनिधिलाई मुख्य निर्वाचन अधिकृत मातृका मरासिनीले शपथ खुवाएका थिए। भुसाल र भण्डारीले नगरपालिकाको कार्यालयमा पदभार ग्रहण गरेका छन्। पदभारपछि भुसालले निर्वाचनका बेला गरिएका वाचा पूरा गरिने बताए।

२० वर्ष अघिका प्रतिस्‍पर्धीले दिए बधाई 

रेसुङ्गा नगरपालिकामा प्रमुख पदमा पराजित भुवनप्रसाद श्रेष्ठले निर्वाचित प्रतिस्‍पर्धी डिल्लीराज भुसाल र सीता भण्डारीसहित सबै निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना दिएका छन्। उनले निर्वाचनको क्रममा एउटाले जित्नु र अर्कोले हार्नु  स्वाभाविक रहेको बताए।

उनले यो आलो पालो रहेको बताउँदै नवनिर्वाचित टिमलाई आफ्नो सहयोग चाहिए जुनसुकै समयमा सहयोग गर्ने पनि बताए। श्रेष्ठले निर्वाचित सिङ्गो टिमलाई सकरात्मक कामहरुमा आफ्नो सधैं सहयोग रहने बताए। जनताको समृद्धिका निम्ति हुने विकास निर्माणसँगै सबै खाले कामहरुमा सहयोग रहने श्रेष्ठले बताए। आफूले पार्टी भित्रका केही बेइमानीका कारण पराजित हुनुपरेको समेत सुनाए। उनी भुसालसँग १ सय ४७ मतले पराजित भएका थिए।

श्रेष्ठ र भुसाल २०५४ सालमा सम्पन्न स्थानीय निकायको निर्वाचनमा तत्कालीन तम्घास गाविसको अध्यक्षमा प्रतिस्‍पर्धी थिए। त्यसबेला श्रेष्ठ निर्वाचित भएका थिए भने भुसाल पराजित भएका थिए। जिल्लामा रहेका १२ वटा स्थानीय तहहरुको सम्पूर्ण मतगणना सम्पन्न भएलगतै सबै  स्थानीय तहका जनप्रतिनिधिले शपथ लिइसकेका छन्।  लामो समयसम्म जनप्रतिनिधिविहीन बनेको स्थानीय तहलाई छिट्टै पूर्णता दिएर निर्वाचित जनप्रतिनिधि काम गर्न आतुर देखिएका छन्।

निर्वाचिनको बेला गरिएका वाचाहरु पूरा गरेर जनतामाझ लोकप्रियता कमाउनको लागि पनि उनीहरु आतुर देखिएका हुन्। झण्डै २० वर्षपछि भएको स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि जनताको भावनालाई जित्ने गरी काम गर्नका लागि पनि उनीहरु छिट्टै शपथ लिएर काम गर्ने तयारीमा छन्। जिल्लामा रहेका स्थानीय तहमध्ये केही स्थानीय तहका जनप्रतिनिले शपथ लिएका छन्।

बाँदर धपाइदिनेदेखि सय मिटर पाइप सम्मका माग

स्थानीय निर्वाचनको क्रममा जनताले स-साना माग राखेको निर्वाचित जनप्रतिनिधिहरुको भनाइ छ। निर्वाचनको क्रममा जनताले समस्या टिपाउँदा बाँदर धपाउनेदेखि सय मिटर पाइप सम्मको अपेक्षा गरेको निर्वाचित जनप्रतिनिधिको भनाइ रहेको छ।

रेसुङ्गा नगरपालिका वडा नम्बर ७ बाट वडा अध्याक्षमा निर्वाचित अध्यक्ष मोहनप्रसाद पाण्डेय भन्छन्, 'जनताका अति स-साना माग राखेका छन्।’ उनले भने, बाँदर धपाइदिनेदेखि  सय मिटर पाइपसम्मको यस्ता खालका अत्यन्तै सानाखाले  माग जनताका छन्।'

वर्षातको समयमा पनि चल्न सक्ने गरी मोटर बाटो लगायतको समस्या उठाए पनि ठूला आयोजनाहरुप्रति उनीहरुको खासै चासो नदेखाएको पाण्डेयले सुनाए। जनताको अधिकतम समस्याहरु हामीले सुनेका छौं उनले भने, ‘स-साना समस्या हामी तत्कालै पूरा गर्न मिल्ने गरिसक्ने छौ तर, ठूला आयोजनाहरु क्रमागत रुपमा पूरा गर्नेछौं।’

लामो समयसम्म जनप्रतिनिधि नहुँदा जनताले स-साना कुराहरुको अपेक्षा गरेका छन् मुसिकोट नगरपालिका प्रमुख पदमा निर्वाचित सोमनाथ सापकोटाले भने, ‘हामी ठुल्ठूला आयोजनाहरु पनि गर्ने सोचमा छौं तर, जनताले स-साना योजनाहरुले तत्काल आवश्यकता पूरा गर्न जोड दिएका छन्, ती पूरा गर्न हाम्रो ध्यान गइसकेको छ।’ उनले निर्वाचित जनप्रतिनिधिबाट जनताले तत्कालै केही काम गरुन् भन्ने चाहिँ आशा गरेको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.