|

रुपन्देही : शुक्रबार विहानसम्म रुपन्देहीका सबै १६ स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ। मिश्रित नतिजा आएको यहाँका ७ वटामा जितेर नेकपा एमाले पहिलो भएको छ भने नयाँ शक्ति र संघीय समाजवादी फोरमको गठबन्धन ४ तहमा जित्दै दोस्रो भएको छ।

कांग्रेसले २ तहमा मात्रै जित्यो भने माओवादी केन्द्र, फोरम लोकतान्त्रिक र राजपासमर्थित उम्मेदवारले १–१ तहमा प्रमुख जितेका छन्। एमाले, कांग्रेस, संघीय फोरम र राप्रपाले १–१ तहमा उपप्रमुख जितेका छन्।

४ नगर र ३ गाउँपालिकामा एमाले

नेकपा एमालेले रुपन्देहीका २ गाउँपालिकासहित ५ वटा नगरपालिकामा जित हात पार्‍यो। प्रादेशिक राजधानीको चर्चामा रहेको बुटवल उपमहानगरपालिका, जिल्ला सदरमुकाम सिद्धार्थनगर र नयाँ नगरहरु तिलोत्तमा र सैनामैनामा एमालेले जित निकाल्यो। बुटवल र सैनामैना एमालेको प्रभाव रहेका तह हुन् भने तिलोत्तमामा एमालेले कांग्रेसको प्रभाव क्षेत्रमा जित निकाल्यो।

एमाले उपमहासचिव विष्णु पौडेलको क्षेत्र बुटवल उपमहानगरपालिकामा एमालेले विजयी कायमै राख्यो। एमालेले कांग्रेस माओवादी गठबन्धनलाई फराकिलो अन्तरले हरायो। प्रमुख पदमा निर्वाचित हुनका लागि एमाले उम्मेदवार शिवराज सुवेदीले २३ हजार २ सय ४९ मत ल्याए भने उपप्रमुख गुमादेवी आचार्यले २५ हजार ३ सय १ मत ल्याइन्। निकटतम प्रतिस्पर्धी कांग्रेस माओवादी गठबन्धनका उम्मेदवार खेलराज पाण्डेले २० हजार ८ सय ५१ मत ल्याए  भने उपप्रमुखका उम्मेदवार जगत पोखरेलले १४ हजार ७ सय ९२ मत ल्याए।

राप्रपाको प्रभाव रहेको क्षेत्र भनिएको जिल्ला सदरमुकाम सिद्धार्थनगर नगरपालिकामा एमालेका प्रमुख र उपप्रमुखसहित ६ वटा वडाहरुका उम्मेदवार निर्वाचित भएका छन्। २०५४ सालमा एमाले र राप्रपाको गठबन्धनबाट सिद्धार्थनगरको उपप्रमुखमा निर्वाचित भएका हरिप्रसाद अधिकारीले यसपटक प्रमुखमै बाजी मारे। उनले ६ हजार ७ सय ५ मत ल्याएर निर्वाचित हुँदा उपप्रमुखमा पनि एमालेकै उमा काफ्ले ६ हजार १ सय ७२ मत ल्याएर विजयी भइन्।

राप्रपाको प्रभाव क्षेत्र मानिएको सिद्धार्थनगरमा राप्रपा तेश्रो भएको छ। यो नगरपालिका राप्रपा उपाध्यक्ष दीपक बोहराले २०७० सालमा प्रत्यक्ष निर्वाचन जितेको क्षेत्रमा पर्छ। कांग्रेसका उम्मेदवारले राप्रपालाई पछि पारे।

कांग्रेस नेता बालकृष्ण खाँडको प्रभाव क्षेत्र तिलोत्तमा नगरपालिकामा एमालेले आश्चर्यजनक नतिजा निकालेको छ। एमालेले खाँडका भाई रामकृष्ण खाँडलाई २ हजार ७ सय ७४ मतअन्तरले हराए। तिलोत्तमामा एमालेका वासुदेव घिमिरे २१ हजार ८ सय ६८ मत ल्याएर प्रमुख पदमा विजयी भए भने उपप्रमुखमा एमालेकै जागेश्वरी चौधरीले २२ हजार ७१ मत ल्याएर जित हात पारिन्।

निकटतम प्रतिस्पर्धी कांग्रेसका खाँडले १९ हजार ९४ मत ल्याए भने उपप्रमुखकी उम्मेदवार राष्ट्रिय जनमुक्ति पार्टीकी गीता सारुले १८ हजार ७ सय ८४ मत ल्याइन्। तिलोत्तमामा कांग्रेसले राष्ट्रिय जनमुक्तिसँग तालमेल गरेको थियो।

सैनामैना नगरपालिकामा एमालेले नै प्रमुख उपप्रमुखमा जित हात पारेको छ। प्रमुखमा एमालेका चित्रबहादुर कार्की १३ हजार ३६ मत ल्याएर निर्वाचित भए भने उपप्रमुखमा एमालेकै विना राना १३ हजार २ सय ६१ मत ल्याइन्।

निकटतम प्रतिस्पर्धी कांग्रेसका फणेन्द्रप्रसाद शर्माले १० हजार ३ सय ५ मत ल्याए भने उपप्रमुखमा कांग्रेसकै लक्ष्मी चौधरी थारुले ९ हजार ७ सय ९ मत ल्याइन्।

शुद्धोधन गाउँपालिकामा एमालेका किशुनचन्द्र चौधरीले ५ हजार ३ सय ७१ मत ल्याएर जित्दा उनका प्रतिस्पर्धी कांग्रेसका भगवतीप्रसाद चौधरी ५ हजार १६ मत ल्याए। उपाध्यक्षमा पनि एमालेले नै जितको छ। एमालेकी शान्तादेवी ज्ञवाली ५ हजार ३ सय ९० मत ल्याएर उपाध्यक्ष हुँदा कांग्रेसकी रामेश्वरी सिंह ४ हजार ५ सय ९० मत ल्याइन्।

कञ्चन गाउँपालिकामा एमालेका गोकर्णबहादुर क्षेत्री ६ हजार ७ सय ७७ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी कांग्रेसका डोलबहादुर थापाले ५ हजार ९ सय ६७ मत ल्याए। उपाध्यक्षमा एमालेकै गोमा तरामु मगर ६ हजार ५ सय २४ मत ल्याईन्, उनकी प्रतिस्पर्धी कांग्रेसकी त्रिसिकुमारी थरुनीले ५ हजार ५ सय २९ मत ल्याइन्।  

सियारी गाउँपालिकामा पनि एमालेले जितेको छ। एमाले उम्मेदवार अयोध्या थारु ६ हजार ५२ मत ल्याएर अध्यक्षमा निर्वाचित भए। उपाध्यक्षमा पनि एमालेकै अमृता गुरुङ ६ हजार ५० मत ल्याएर निर्वाचित भइन्। अध्यक्ष पदका प्रत्यासी कांग्रेसका थानेश्वर घिमिरेले ५ हजार ४ सय मत ल्याए भने उपाध्यक्षकी प्रत्यासी कांग्रेसकी रिता चौधरीले ५ हजार १ सय २९ मत ल्याइन्।

कोटहीमाई, गैडहवा, मर्चवारी र रोहिणीमा नयाँ शक्ति–संघीय समाजवादी गठबन्धन

नयाँ शक्ति र संघीय समाजवादी पार्टीको गठबन्धन रुपन्देहीमा सफल देखियो। यो गठबन्धनले रुपन्देहीका दक्षिणी क्षेत्रका ४ गाउँपालिकामा जित हासिल गरेको छ। मधेशकेन्द्रित केही दलहरु मिलेर बनेको राष्ट्रिय जनता पार्टीको प्रभाव क्षेत्र मानिने यी क्षेत्रमा यो गठबन्धनका उम्मेदवारले राजपाको चुनाव बहिस्कार गर्ने नारालाई असफल पार्दै जिते।

कोटहीमाई गाउँपालिकाको अध्यक्षमा गठबन्धनका चन्द्रभुषण यादव विजयी भए। यादवले ३ हजार ३ सय ११ मत ल्याएर जित हात पार्दा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका विरेन्द्र कलवारले ३ हजार १ सय ८९ मत ल्याए। यस्तै उपाध्यक्षमा पनि संघीय फोरम र नयाँ शक्तिकै उम्मेदवार निर्वाचित भइन्। भानुमति वनियाले ३ हजार २६ मत ल्याउँदै कांग्रेस उम्मेदवार सम्पति यादवमाथि जित हात पारिन् । सम्पतिले २ हजार ६ सय २१ मत ल्याइन्।

गैडहवा गाउँपालिकामा नयाँ शक्ति–संघीय समाजवादी फोरमका बचुलाल केवटले ५ हजार ४ सय १५ मत ल्याएर अध्यक्ष पदमा जित हात पारे। उनका प्रतिस्पर्धी कांग्रेसका वसिउल्लाह मुसलमानले ३ हजार २ सय ७६ मत ल्याए। उपाध्यक्षमा पनि नयाँ शक्ति–समाजवादी फोरमकी संगीता यादवले ४ हजार ९ सय ७५ मत ल्याइन्। उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी मञ्जु न्यौपानेले ३ हजार २ सय ९२ मत ल्याइन्।

सोही गठबन्धनले मर्चवारी गाउँपालिकामा पनि जित हासिल गरेको छ। केशवनन्द बानिया ३ हजार ४ सय ५ मत ल्याएर अध्यक्ष निर्वाचित हुँदा उपाध्यक्षमा पनि गठबन्धनकै सुनिता कलवार २ हजार ८ सय ८४ मत ल्याएर उपाध्यक्षमा निर्वाचित भइन्। उनीहरुका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार थिए। अध्यक्षमा कांग्रेसका ज्ञानप्रकाश मिश्रले २ हजार १ सय ६४ मत ल्याए भने उपाध्यक्षमा पनि कांग्रेसकै श्रीकान्ती बरईले १ हजार ८ सय ३९ मत ल्याइन्।

रोहिणीमा गठबन्धनले अध्यक्षमा मात्रै जित हात पारेको छ। अध्यक्षमा सनोजकुमार (समाद) यादवले ३ हजार ७ सय ६० मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ताहिर अलीले ३ हजार ५ सय ४२ मत ल्याए। उपाध्यक्षमा भने राष्ट्रिय प्रजातन्त्र पार्टीकी शिवकान्ति हरिजनले ३ हजार ५ सय ३१ मत ल्याउँदै गठबन्धनकी उम्मेदवार रिना मिश्रलाई पराजित गरिन्। मिश्रले ३ हजार ४ सय ५३ मत ल्याएकी छिन्।

कांग्रेस देवदह र मायादेवीमा मात्रै

कांग्रेसले रुपन्देहीमा आफ्नो प्रभाव क्षेत्र रहेको एउटा तह गुमाएको छ। कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बालकृष्ण खाँणले चुनाव जित्दै आएको रुपन्देही क्षेत्र नं. ३ मा पर्ने तिलोत्तमामा कांग्रेस पराजित भयो।

देवदह नगरपालिकामा माओवादी केन्द्रसँग तालमेल गरेको कांग्रेसले प्रमुख पदमा जित निकाल्यो भने माओवादी केन्द्रकी उपप्रमुख उम्मेदवार पराजित भइन्। कांग्रेस उम्मेदवार हिराबहादुर केसीले १० हजार २ सय ११ मत ल्याएर जित हात पारे। उपप्रमुखमा एमालेकी विद्यालक्ष्मी गुरुङले १० हजार २ सय ७० मत ल्याएर विजयी भइन्।

प्रमुख पदका एमालेका उम्मेदवार टीकाराम जैसी चापागाईंले १० हजार ९९ मत ल्याए। उपप्रमुख पदकी माओवादी केन्द्रकी उम्मेदवार टीका न्यौपानेले ७ हजार १ सय ११ मत ल्याइन्।

कांग्रेसले मायादेवी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा जित हात पारेको छ । अध्यक्षमा ध्रुवनारायण चौधरीले २ हजार ८ सय १६ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार रामअधारे अहिरले २ हजार २ सय १३ मत ल्याए । 

त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकी तारादेवी यादवले २ हजार २ सय ५२ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी फोरम लोकतान्त्रिककी राजकुमारी चौधरीले २ हजार १ सय ६९ मत प्राप्त गरिन्।

ओमसतियाबाट जोगियो माओवादीको साख

स्थानीय तह निर्वाचनमा रुपन्देही जिल्लामा नेकपा माओवादी केन्द्रको साख पूर्वजनमुक्ति सेनाको बटालियन कमाण्डर हिरा केवट ‘राहुल’ले जोगाएका छन्। १६ तहमध्ये एक तहमा मात्र माओवादी केन्द्रले जित हात पार्न सक्यो। दुई तहमा कांग्रेससँग तालमेल गरेर उपप्रमुख लिएको माओवादी ती तहमा पनि सफल हुन सकेन। नेपाली सेना छाडेर जनयुद्धमा होमिएका केवटले रुपन्देहीको सबैभन्दा कम मतदाता रहेको ओमसतियामा अध्यक्ष र उपाध्यक्ष नै जिताए।

उनी २ हजार ४ सय ४२ मत प्राप्त गरी विजयी बन्दा  उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका मन्जित यादवले २ हजार ३ सय ११ मत ल्याए।

त्यस्तै गाउँपालिकाको उपाध्यक्ष पदमा पनि माओवादीले नै जित हात पारेको छ।  उपाध्यक्षमा सुन्दरमति हरिजनले २ हजार २ सय ६४ मत प्राप्त गरी विजयी भइन्। उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी अमृता उप्रेतीले २ हजार १ सय ७२ मत प्राप्त गरेकी छिन्।

एकमात्र सांस्कृतिक नगरपालिकामा राजपाका स्वतन्त्र उम्मेदवारको जित

मुलुकको एकमात्र सांस्कृतिक नगरपालिका बुद्ध जन्मस्थल रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा राष्ट्रिय जनता पार्टी निकट उम्मेदवार मनमोहन चौधरी प्रमुख पदमा निर्वाचित भएका छन्।

चौधरीले ८ हजार १ सय ७५ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी संघीय समाजवादी फोरम र नयाँ शक्तिका उम्मेदवार फखरुद्दीन खानले ७ हजार ३९ मत ल्याए। उपप्रमुखमा संघीय समाजवादी फोरमकी जानकीदेवी श्रीवास्तवले जितिन्। उनले ४ हजार ७ सय २० मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी कांग्रेसकी रमाउती यादवले ४ हजार ५ सय ८८ मत ल्याइन्।

फोरम लोकतान्त्रिकको जोगियो साख, सम्मरीमाईको अध्यक्षमा निर्वाचित

सम्मरीमाई गाउँपालिकामा मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकले जित हात पारेको छ। फोरमका जितेन्द्र नाथ शुक्ल ३ हजार ६६ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका विनोदकुमार श्रीवास्तवले २ हजार १ सय ९६ मत ल्याए।

उपाध्यक्षमा कांग्रेसकी कुमारी प्रियंका शाही सिंह २ हजार ८ सय १६ मत ल्याउँदै निर्वाचित भइन् भने उनकी प्रतिस्पर्धी फोरमकी कमलावती अहिरनीले २ हजार १ सय ५० मत ल्याएकी छिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.