|

गोरखाः गोरखा जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ।

जिल्ला अनौपचारिक शिक्षा समितिको बैठकले गोरखालाई साक्षर जिल्ला घोषणा गरेको जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदीले बताए।

जिल्ला शिक्षा समितिका संयोजक स्थानीय विकास अधिकारी नारायणप्रसाद आचार्यको अध्यक्षतामा बिहीबार बसेको बैठकले गोरखा जिल्लालाई साक्षर जिल्ला घोषणा गरेको हो। ‘जिल्ला साक्षर घोषणा गरियो, छिट्टै एक बृहत कार्यक्रम गरी घोषणा सार्वजनिक गर्छाैँ’, जिशिअ सुवेदीले भने।

जिल्लामा १५ देखि ६० वर्ष उमेर समूहका कूल जनसंख्यामध्ये ९७ दशमलब २ प्रतिशत जनसंख्या साक्षर भएकाले गोरखालाई साक्षर जिल्ला घोषणा गरिएको उनले बताए। साक्षर जिल्ला घोषणा गर्न १५ देखि ६० वर्ष उमेर समूहका कूल जनसंख्यामध्ये ९५ प्रतिशत साक्षर हुनुपर्ने प्रावधान छ। गोरखाको सो उमेर समूहका ९८ दशमलब ०९ प्रतिशत पुरुष र ९६ दशमलब ६१ प्रतिशत महिला साक्षर रहेको जिशिअ सुवेदीले जानकारी दिए।

नवनिर्वाचित गाउँपालिका तथा नगरपालिकाका प्रमुख र उपप्रमुखहरू सम्मिलित जिल्ला सभाले साक्षर गोरखा घोषणा सार्वजनिक गर्ने तयारी गर्न जिल्ला शिक्षा कार्यालयलाई जिम्मेवारी दिएको थियो। सहायक जिल्ला शिक्षा अधिकारी ठाकुरजी तिवारीले भने, ‘हामीले सबै तयारी पूरा गरी असार २२ गते साक्षर गोरखा घोषणा गर्‍यौँ।’

यसअघि जिल्ला शिक्षा कार्यालय गोरखाले जिल्लामा सञ्चालित सामुदायिक सिकाइ केन्द्रमा कार्यरत समुदाय परिचालकहरू परिचालन गरी शैक्षिक स्रोत तथा विकास केन्द्र नेपाललगायत विभिन्न गैरसरकारी संस्थाहरूको सहयोगमा निरक्षरहरूको लगत तयार गरेको थियो।

त्यस्तै, विभिन्न संघसंस्थाको सहयोगमा पटक पटक प्रौढ कक्षा सञ्चालनसमेत गरिएको थियो। साक्षर जिल्ला घोषणा गर्न २०६७ सालदेखि अभियान सुरु भएको थियो। साक्षर हुन साधारण साँवा अक्षर लेख्न र पढ्न जान्ने, सही गर्न जान्ने, क्याल्कुलेटर, मोबाइल चलाउन जान्ने, बैंक भौचर भर्न जान्नेलगायतका १२ सूचक पूरा गर्नुपर्ने प्रावधान छ। यससँगै गोरखालाई पूर्ण खोपयुक्त जिल्लासमेत घोषणा गर्ने तयारी गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.