|

लक्ष्मी गारु-

    भक्तपुर : भक्तपुर नगरपालिकाले २०७३ सालमा उत्कृष्ट खेल प्रदर्शन गर्न सफल १८ खेलका २८ जना खेलाडीहरुलाई शुक्रबार वर्षको उत्कृष्ट खेलाडीको रुपमा सम्मान गरेको छ। सम्मानित हुने खेलाडीहरुमा एथलेटिक्सका अन्तर्राष्ट्रिय खेलाडी कान्छीमाया कोजु सहित फुटबलका किशोर सुवाल, बुद्धीचालका विक्रम जित र

    सविना श्रेष्ठ, बास्केटबलका कृशा डण्डेख्या, लन टेनिसका कृष्ण गोविन्द कासुला, बक्सिङका प्रकाश कुमार विष्ट र नीता गोसाई, टेबल टेनिसका रेखान तामाङ र मन्जु सुवाल, तेक्वान्डो किरण सितिखु र एलिशा लामा, क्रिकेट राज तुलाधर, शारीरिक सुगठनका अमित कुमार मण्डल रहेका छन्।

    त्यसैगरी, उसुका कान्ति लामा र अन्जली श्रेष्ठ, कबड्डी सृजन प्रजापति र कृष्मा दुवाल, जिम्नाष्टिकका उज्वल तिवारी र तारा सिवाकोटी, भलिबल लाक्पा तामाङ र एलिशा भुजू, व्याडमिन्टनका रविन घेमोसू र पूर्णिमा लाखे, सितेरियो कराँतेका सुवास परियार र करुणा श्रेष्ठ, किक बक्सिङ प्रकाशवहादुर शाही र भारोत्तोलनका कमला श्रेष्ठ रहेका छन्।

    वर्षका उत्कृष्ट खेलाडीहरुलाई सम्मान गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् सांसद नारायणमान बिजुक्छेंले सफल खेलाडीहरु भएको देशको सार्वभौमिकता बलियो हुने गरेको बताउनुभयो। अमेरिका र चीनबीचको तीतो सम्बन्ध टेबुलटेनिस खेलले जोडेको ऐतिहासिक घटनाको चर्चा गर्दै उनले खेलाडीहरुले देशको भविष्य र राजनीतिबारे पनि चिन्तन गर्न जरुरी भएको बताए।

    सो अवसरमा २०७३ सालमा अन्तर्राष्ट्रिय पदक जित्न सफल सितेरियो करातेका प्रवीण लामा, सजिना लामा, सजिन लामा, पूजा लामा, अन्जु भुजेल, बेली लामा र दिपेश राई, टेबलटेनिसका अन्जु सुवाल, सुजाता दुवाल र मन्जु सुवाल, तेक्वाण्डोका नम्रता तुलाधर र सुसेन गणेशलाई पनि सम्मान गरेको थियो।

    त्यसैगरी, वर्ष २०७३ मा अन्तर्राष्ट्रिय प्रशिक्षक बन्न सफल जिम्नाष्टिकका सुरेश भेले, विजेन्द्र श्रेष्ठ, विष्णु वाटा, श्रीकृष्ण खर्बुजा, सत्य नारायण मानन्धर, सुशीला प्रजापति, टेबलटेनिसका शिव सुन्दर गोठे र फुटबलका धनेश्वर प्रजापतिलाई सम्मान गरेको थियो।

    सम्मान कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले जनप्रतिनिधि नहुँदा विगत पन्ध्र वर्षदेखि नगरका खेलकुद समितिहरु निष्क्रिय हुँदा खेल क्षेत्रको विकास सुस्त भएको बताउँदै भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष एउटा राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता गर्ने घोषणा दोहोर्‍एका थिए।उनले भक्तपुरमा व्यवस्थित खेलकुद मैदान निर्माणको विषयमा छलफल भइरहेको जानकारी दिए।

    वडा नं. ७ का वडा अध्यक्ष उकेश कवांको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपप्रमुख रजनी जोशी, भलिबलका राष्ट्रिय रेफ्री एवं वडा नं १ का वडाध्यक्ष श्यामकृष्ण खत्री र वडा नं २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले युवाहरुलाई खेलकुदमा लगाए समाज अनुशासित र स्वस्थ्य हुने चर्चा गरेका थिए।

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.