|

चितवन : चितवन जिल्लामा माछापालनमा किसानलाई आकर्षित गर्न आएको  अनुदानका कार्यक्रम यसवर्ष प्रभावकारी नहुँदा करोडौं रकम त्यसै फिर्ता भएको छ। जिल्लामा विभिन्न शिर्षकमा माछापालन विस्तारका लागि रु ३ करोड ५५ लाखभन्दा बढीका  अनुदानका कार्यक्रम आएको थियो। जसमा रु १ करोड ५ लाखको कार्यक्रम सञ्चालन भए पनि २ करोड ५० लाख बढी रकमको काम हुनै सकेन। जिल्ला कृषि विकास कार्यालय चितवनका मत्स्यविकास अधिकृत परशुराम यादव यसवर्ष अनुदानका कार्यक्रम न्यून प्रगति भएको बताउँछन्।

जोसँग जग्गा छ प्लटिङ गर्दैमा ठिक्क छ, चाहना भएकाहरुसँग जग्गा छैन, अनि कसरी हुन्छ क्षेत्र विस्तार?’, यादवले भने। यसवर्ष किसानको माग नै कम आएको उनी बताउँछन्। माछापालन विस्तार तथा नर्सरी व्यवस्थापनका लागि जिल्लामा कुल १ सय २० हेक्टर क्षेत्रफलमा अनुदानका कार्यक्रम आएको थियो। जसमा कुल ३३ हेक्टर क्षेत्रफलमा मात्रै काम सम्पन्न भएको मत्स्य विकास अधिकृत यादव बताउँछन्। यो जम्मा २७ दशमलव ५ प्रतिशत मात्रै प्रगति हो।

किन सफल हुन सकेन क्षेत्रविस्तार कार्यक्रम?

चितवनमा यसवर्ष तीनवटा शीर्षकमा माछापालनको लागि अनुदान आएको थियो। विशेष मत्स्य उत्पादन कार्यक्रमअन्तरगत २० हेक्टर क्षेत्रमा माछापालन विस्तारको कार्यक्रम थियो। जसमा जम्मा १२ हेक्टरमा मात्रै नयाँ पोखरी निर्माण भएको छ।

यस्तै, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तरगत चितवनको माडी र पश्चिम क्षेत्रमा ९५ हेक्टरमा क्षेत्रफल विस्तारको कार्यक्रम थियो । जसमा जम्मा २२ हेक्टर र केही क्षेत्रमा मात्रै विस्तार गर्न सफल भएको यादव बताउँछन्। यो दुइ वटा कार्यक्रममा नयाँ पोखरी निर्माण गर्ने किसानलाई प्रति हेक्टर रु ३ लाखका दरले अनुदान थियो।

यस्तै अर्को माछाको नर्सरी निर्माण र व्यवस्थापनका लागि भनेर प्रतिहेक्टर रु ५ लाख अनुदान दिने गरी ५ हेक्टर क्षेत्रफलमा कार्यक्रम आएकोमा जम्मा ३ हेक्टरमा मात्रै काम सफल भएको छ। जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख सुधीर श्रेष्ठ यसवर्ष माछामा प्रगति हुन नसकेको स्वीकार गर्नुहुँदै अनुदानले पनि किसानलाई आकर्षित गर्न नसकेको देखिएको बताए।

उनले जमिनको स्वरुप नै बिग्रने भएकाले एक त किसान नआएको र अर्को प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमको कार्यविधि ढिला आउँदा समस्या भएको जानकारी दिए। कार्यालयका अनुसार जिल्लामा गएको वर्ष कुल १ हजार ३ सय किसानले ५३९ हेक्टरमा माछापालन गरेको तथ्यांक छ। जिल्लामा वर्षिक २ हजार २६३ मेट्रिक टन माछा उत्पादन हुन्छ।

अहिले चितवनमा रहु, नैनी, भाकुर, सिल्भर विगहेड, ग्रास, कमनकार्प, पंगासियस लगायत प्रजातिका माछा उत्पादन हुँदै आएको छ। आठ विगाहाबढी क्षेत्रमा माछापालन गर्नुभएका पुर्वी चितवनका लालबहादुर तामाङ लगनशिल भयोभने माछापालन व्यवसाय राम्रो रहेको बताउँछन्। कृषि कार्यालयको कमजोर व्यवस्थापनले पनि माछापालनमा किसान सोचेअनुसार आउन नसकेको किसानहरु गुनासो गर्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.