|

चितवन : आगामी साता प्रदर्शनमा आउन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु’ का कलाकारले शुक्रबार चितवनमा छुट्टै प्रचारशैली अपनाए। चितवनको सौराहाबाट २ घण्टा बढी हिँडेर आएको युनाइटेड कली नामको हात्तीमा बसेर कलाकारहरु नारायणगढ बजार घुमे। हात्तीमाथि सयर थिए कलाकारहरु सरोज खनाल, पूजा शर्मा र पल शाह। उनीहरुलाई अर्का कलाकार सोभित बस्नेतले साथ दिइरहेका थिए।

नारायणगढ बजारमा हात्तीमा चढेर उनीहरुले दर्शकलाई हात हल्लाउँदै फिल्म हेर्न आग्रह गरेका थिए। नारायणगढको पुल्चोक पुग्नेबित्तिकै दर्के पानी परे पनि परबाह नै नगरी प्रचार अभियानलाई तीव्रता दिए। ‘चितवनको चर्को गर्मीमा पानीले झन् मजा बनायो’, कलाकार सरोज खनालले अनुभव सुनाए।

नरायणगढको पुल्चोबाट सुरु भएको यात्रा शहिरचोक, लायन्स चोक हुँदै पुन: पुलचोकमा आएर टुंगिएको थियो।  उनीहरुको अघिपछि झुम्मिएका दर्शकले हात्तीमाथि कलाकार देख्दा खुबै मनोरञ्जन लिए। कसैले सेल्फी खिचे भने कसैले हात हल्लाएर अभिवादन गरे। घरको तीनतला माथि हुनेहरुले पल, पल भन्दै हुटिंङ गरेका थिए।

म्युजिक भिडियोमा खेलेर युवा पुस्ताको मनमा बस्न सफल भएकाले पललाई भेट्न किशोर किशोरीको बढी भिड थियो। दर्शकको दबाब आएपछि उनीहरुले हात्तीमाथि बसेर सबैलाई असार ३० बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु’  हेरिदिन आग्रहसमेत गरे।

अहिले प्रचारप्रचारको क्रममा देश दौडाहामा लागेको चलचित्रको टोली पूर्वी नेपालबाट शुक्रबार चितवन हुँदै पश्चिम लागेको छ। शनिबार बुटवलमा कार्यक्रम छ। चलचित्र प्रेमगीतको शीर्ष गीतलाई सापट लिएर सुदर्शन थापाले निर्देशन गरेको उक्त चलचित्र स्वयं थापा र नायिका पूजा शर्माले निर्माण गरेका हुन्। उक्त फिल्ममा सरोज खनालसहित रुपा,राना, मोहन निरौला,राजाराम पौडेल, शिशिर रानाको अभिनय छ। मुख्य अभिनय भने पूजा र पलको छ।

‘मुख्यगरी यो चलचित्र लभ स्टोरी नै हो, अनि मिक्स मसला छ,’ नायिका तथा निर्मात्री पूजाले शुक्रबार चितवनमा पत्रकारमाझ भनिन्। अर्का कलाकार सरोज खनालले राम्रो चलचित्र बनेकाले दर्शकले सजिलैसँग समयको सदुपयोग गर्न सक्ने बताए। सवा करोड लगानी निर्माण भएको उक्त चलिचत्रमा ३ वटा गीत समावेश छ।काठमाडौ पोखरा तथा माथिल्लो मुस्ताङमा छायांकन गरिएको चलचित्रलाई दर्शकसँग नजिक बनाउन फरक शैलीमा हात्ती सफारी गरिएको कलाकार सोभित बस्नेतले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.