शहरमा वाणिज्य बैंक, गाउँमा विकास बैंक: भरतराज ढकाल

|

काठमाडौं : नेपाल राष्ट्र बैंकले सबै स्थानीय तहमा 'क' वर्गको बैंक शाखा पुर्‍याउन बाध्यकारी नीति ल्याउने तयारी गरेको छ। सरकारले बजेट वक्तव्य मार्फत सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्‍याउने घोषणा गरेकोमा त्यसलाई सहयोग पुग्ने गरी राष्ट्र बैंकले जारी गर्न लागेको मौद्रिक नीतिमा बाध्यकारी बनाउन राष्ट्र बैंक जुटेको हो।

'हामीले सबै स्थानीय तहमा कमर्सियल बैंकको शाखा खुलाउने तयारीमा छौँ, कति बैंकहरुले यहाँ शाखा खोल्छौँ भनेका छन्, उहाँहरु आफै मिलेर खोल्नु भयो भने ठिकै छ, होइन भने हामी ठाउँ तोक्छौं' नेपाल राष्ट्र बैंककका गभर्नर डा. चिरञ्जीवी नेपालले भने। उनका अनुसार शाखा खोल्ने बैंकहरुलाई सुविधा दिनुका साथै नखोल्नेलाई बाध्यकारी खुलाउनु पर्ने अवस्था राष्ट्र बैंकले लिने छ।

राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेलले पनि सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा खुलाउने तयारी भइरहेको बताए। यस अघिनै नेपाल बैंकर्स संघले भने १६१ वटा स्थानीय तहमा शाखा खोल्न नसकिने जानकारी गराएको छ। अहिले ३३३ स्थानीय तहमा वाणिज्य बैंकहरूका शाखा रहेकोमा अब २५० वटा स्थानीय तहमा मात्रै शाखा खोल्न सकिने र अन्यमा तत्काल नसकिने जानकारी गराएको छ। 'नयाँ शाखा खोल्न समस्या हैन न्यूनतम पूर्वधार नपुगेको ठाउँमा कसरी शाखा खोल्ने' बैंकर्स संघका सदस्य तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले भने।  

गाउँमा विकास बैंक, सहरमा वाणिज्य बैंक

वाणिज्य बैंकका अधिकारीहरुले सबै स्थानीय तहमा शाखा खुलाउन नसकिने बताइरहँदा डेभलपमेन्ट बैंकर्स संघले भने गाउँका स्थानीय तहमा विकास बैंकलाई जिम्मा दिन आग्रह गरेका छन्। संघका अध्यक्ष भरतराज ढकालले राष्ट्र बैंकका गभर्नर डाक्टर चिरञ्जीवी नेपालसंग यस्तो आग्रह गर्दै आएका छन्।

'रणनीति नबनाइ अहिले सबै स्थानीय तहमा 'क' वर्गका बैंकहरु भनिएको छ, तर अहिले यो सम्भव नहोला विकास बैंक पनि सक्षम छन् गाउँका स्थानीय तहरुमा हामी गर्न सक्छौँ' संघका अध्यक्ष ढकालले शक्रबार गरिमा बैंकको केन्दीय कार्यालय काठमाडौंमा शुभारम्भ गर्ने कार्यक्रममा भने। उनले सहरी क्षेत्रमा वाणिज्य बैंकहरुलाई र गाउँमा विकास बैंकहरुलाई अनुभव समेत भएको बताउदै गाउँमा काम गर्न विकास बैंक सक्षम हुने बताए।

तर गभर्नर डा. नेपालले सबै स्थानीय तहमा वाणिज्य बैंक नै हनु पर्ने बताए। 'अहिलेका ७४४ स्थायीत तह नै आर्थिक केन्द्र हुने गाउँमा क्षेत्रीय र शहरमा केन्द्रीय भन्ने हुँदैन, गाउँनै आर्थिक केन्द्र हो र वाणिज्य बैंक पुग्नु पर्छ' गभर्नर नेपालले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.