|

  • दाना शाही-

जुम्ला : तिला गाउँपालिकामा पर्ने सीता माध्यमिक रारालिही स्कुलका विद्यार्थीले आफैंले सडक नाटक गरी पोषण र सरसफाइको सन्देश दिँदै आएका छन्।विद्यालयले गर्ने अतिरिक्त क्रियाकलापअन्तरगत प्रत्येक शुक्रबार उनीहरुले सडक नाटक गरेर समुदायका मान्छेलाई सन्देश दिन्छन्।

खानेपानी कस्तो हुनुपर्ने, पानी एकदिनमा कति खानुपर्ने, हात मुख सरसफाइ कसरी गर्ने, मान्छे स्वस्थ हुनका लागि कस्तो खान चाहिन्छ, कुन खाना हाम्रो जीवनका लागि राम्रो हुन्छ भन्ने बारेमा सडक नाटकबाटै यहाँका मान्छेलाई सन्देश दिने गरेको उक्त स्कुलका बाल क्लबका अध्यक्ष मुनाल रोकायाले जानकारी दिए। 'यही कुरा सबैलाई भन्दा पत्याउँदैनन् र मतलब पनि गर्दैनन् तर सडक नाटक गर्ने बित्तिकै काम छोडेर हेर्न आउँछन् र केही कुरा बुझेर जान्छन्' उनले भने।

सीता मावि रारालिहीका प्रधानाध्यापक शिवप्रसाद पाण्डेले नाटकको सन्देश बुझ्ने र बुझाउने दुवैले सजिलै पोषण र सरसफाइका बारेमा बुझून् भनेर प्रत्येक शुक्रबार विद्यार्थीमार्फत सडक नाटक देखाउने गरिएको बताए। यसअघि स्वस्थ कसरी रहनुपर्छ र सरसफाइ के हो?  भन्नेबारे नबुझेका समुदायले अहिले आफ्नो घर आगन सफा राख्ने, शौचालय लगाउने र बारीमा तरकारी फलाउन सुरु गरेको उनले जनाए।

उनले भने यो माध्यम निकै प्रभावकारी बनेको छ, बुझाउन र मान्छे जम्मा गर्न धेरै कसरत गर्नै पर्दैन। कुडारी स्रोत केन्द्रका स्रोत व्यक्ति लोकप्रसाद चौलागाईले सडक नाटक गर्न जिल्ला शिक्षा कार्यालय जुम्लाले पनि उत्प्रेरणा दिएको बताए।

उनले भने, सीता मावि मात्र नभएर नराकोट, लाम्रा, चन्दननाथ माविका विद्यार्थीले पनि सडक नाटकबाट जनचेतना जगाउने काम गरेको छन्। उनले यसबाट विद्यार्थीको ज्ञान सीप बढ्ने र चेतना फैलिने गरेको छ भने। राम्रो सडक नाटक देखाउने विद्यालयका विद्यार्थी भाइ बहिनीलाई जिल्ला शिक्षा कार्यालयले आर्थिक सहयोग गर्ने उनको भनाइ छ।

रारा गाउँकी स्थानीय बाँचु बुढाले विद्यार्थीको सडक नाटकले हिजोको भन्दा अहिले सीतानगर बजारको सरसफाइमा सुधार आएको बताइन्। नाटक हेरेपछि सरसफाइ नहुँदा कस्ता रोग लाग्दा रहेछन् भन्ने बुझियो, यसले हाम्रो स्वास्थ्यमा कस्तो असर पार्दो रहिछ भन्ने जानकारी भयो। सबैले बुझेपछि आफ्नो घर आँगन सफा राख्ने, सफापानी खाने र सरसफाइमा ध्यान दिन थालेको उनले जनाइन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.