|

विराटनगर : मोरङ जिल्लाको पूर्वी मोरङमा अवस्थित उर्लाबारी दोस्रो चरणको स्थानीय तह निर्वाचनमा विशेष चर्चामा रह्यो। एमालेले आफ्नो गढ मानेको उर्लाबारीमा भारी मतान्तरले नेपाली कांग्रेसका उम्मेद्वार खड्ग फागो विजयी भए। राष्ट्रपति विद्यादेवी भण्डारीकी देउरानी लक्ष्मीदेवी भण्डारी उपप्रमुखमा विजयी भइन्। 

उर्लाबारी नगरपालिका, मधुमल्ला ७, ८ र ९ र राजघाट गाविस गाभेर उर्लाबारी नगरपालिका बनाइएको उर्लाबारी नगरपालिकामा ९ वडा कायम छन्। कुल जनसंख्या ५४ हजार ६ सय ९६ रहेको उर्लाबारी नगरपालिकामा ३४ हजार ४ सय ९६ मतदाता छन्। जसमध्ये २४ हजार ६ सय ३३ जनाले मत खसाले। 

नातामा दाजु पर्ने एमालेका प्रमुख भुपालसिं जिमीलाई हराउँदै कांग्रेसका खड्ग फागो उर्लाबारीको पहिलो नगरप्रमुख बने। एमालेको गढ र लालकिल्ला भनेर चिनिँदै आएकोे उर्लाबारी नगरपालिकामा नेपाली कांग्रेस उम्मेदवार खड्ग फागो ११ हजार ६ सय ३२ मत ल्याएर प्रमुखमा निर्वाचित भए।

फागोले तीन हजार ९० मत अन्तरले एमाले उम्मेदवार भूपालसिं जिमीलाई पाखा लगाएका हुन्। जिमीले आठ हजार पाँच सय ४२ मत मात्रै ल्याए। राष्ट्रपति विद्यादेवी भण्डारीकी देउरानी लक्ष्मी भण्डारी उपप्रमुखमा निर्वाचित भइन्।

भण्डारीले कांग्रेसबाट उपप्रमुखको उम्मेदवार रहेकी सीता कार्कीलाई २ सय ५९ मत अन्तरले हराइन्। एमालेका वृद्ध उम्मेद्वार बमबहादुर फ्याक लिम्बू कांग्रेसका ‘ह्याब्भी वेट’उम्मेदवार मानिएका समीर लिम्बूलाई हराउँदै वडा नम्बर ९को अध्यक्ष पदमा निर्वाचित भए। 

उर्लाबारीको सबैभन्दा जेठो जनप्रतिनिधि एमालेका बमबहादुर फयाक लिम्बू र कान्छो जनप्रतिनिधि एमालेकै रविन लामा बनेका छन्। फयाकको उमेर ६६ र लामाको उमेर २६ रहेको छ। माओवादीका लािग यसपटकको चुनाव सबैभन्दा खराब भयो।

प्रमुख पदमा माओवादी केन्द्रको जमानत जफत नै भएको छ। उर्लाबारीमा ५ वटा वडाध्यक्ष जितेको नेपाली कांग्रेस वडा नम्बर–६ मा प्यानलसहित विजयी भयो। ४ वटा वडाध्यक्ष जितेको एमालेले वडा नम्बर १, ८ र ९ मा प्यानल सहित विजयी हासिल गर्‍यो। ९ वटा वडा रहेको उर्लाबारीमा ४ वडाध्यक्ष सहित उपप्रमुख जितेको एमालेले बहुमत ल्याएको छ। 

 रोचक पक्ष  
१ वडाध्यक्षमा ह्याट्रिक

अल्पसंख्यक धिमाल समूदायको प्रतिनिधित्व गर्दै उर्लाबारी वडा नं. ४ बाट लक्ष्मीनारायण धिमाल वडाध्यक्षमा निर्वाचित भए। उनी निर्वाचित भएको यो पहिलो पटक होइन। उनले यसअघि निर्वाचन निकायको निर्वाचनमा समेत विजयी हुँदै निरन्तर जनप्रतिधि हुने सौभाग्य पाएका छन्। धिमाल २०४३ सालदेखि स्थानीय निर्वाचनमा लगातार निर्वाचित हुँदै आएका छन्। २०४३ मा तत्कालीन गाउँ पञ्चायतको जनपक्षीय सदस्यमा निर्वाचित भएका धिमाल बहुदल पश्चात लगातार वडा अध्यक्ष मा निर्वाचित हुँदै आएका छन्। २०४९ र २०५४ मा तत्कालीन उर्लाबारी गाबिस वडा नम्बर –१ को वडाध्यक्ष र हाल उर्लाबारी नगरपालिका वडा नम्बर–४ साविक (१ र ५)को अध्यक्षमा एमालेको तर्फबाट उनी निर्वाचित भए। 
२ राष्ट्रपतिकी देउरानी उपप्रमुख
उर्लाबारी नगरपालिकाको उपप्रमुखमा एमालेकी लक्ष्मीदेवी भण्डारी विजयी भएकी छिन्। उनले नेपाली कांग्रेसकी उम्मेदवार सीता कार्कीलाई पराजित गर्दै भण्डारी विजयी भएकी हुन्। भण्डारी, राष्ट्रपति विद्यादेवी भण्डारीकी देउरानी हुन्। एमालेका तत्कालिन महासचिव स्व. मदन भण्डारीकी भाइबुहारी अर्थात भण्डारीका साँइला भाई मोहन भण्डारीकी श्रीमती हुन्। उनी २०४७ सालदेखि एमालेको संगठित सदस्य छिन् । 
३ अपाङ्गता भएका व्यक्ति बने वडाध्यक्ष
उर्लाबारी वडा नं. २ को वडाध्यक्षमा अपाङ्गता भएका व्यक्ति राजनकुमार कँडेल अत्याधिक मत ल्याउँदै विजयी भए। सशस्त्र प्रहरीका पूर्व वरिष्ठ हबल्दार कँडेल माओवादीसँगको भिडन्तमा घाइते भएका थिए। ०५९ सालमा दाङको घोराहीमा तत्कालीन माओवादी लडाकु र सशस्त्र प्रहरीबीचको भिडन्तका क्रममा ग्रिनेड प्रहारबाट कँडेलको दायाँ खुट्टाको घुँडाको पांग्रा खुस्किएको थियो।

लामो समयको उपचारपछि हिँड्न सक्ने भएका उनी ०६३ सालमा मोरङको कानेपोखरीमा मोटरसाइकल दुर्घटनामा परेका थि । दुर्घटनामा पुनः घुँडाको पांग्रा खुस्किएपछि उनी गम्भीर घाइते बनेका थिए। सोही कारण उनले दायाँ खुट्टा घुँडादेखि माथिसम्म काटेर फाल्नुपरेको थियो। 

समाज रूपान्तरणका अभियानमा सक्रिय कँडेल वडामै उदाहरणीय छन् । गरिब तथा विपन्न परिवारकालाई सहयोगदेखि लिएर गाउँस्तरमा हुने विकास निर्माणमा उनको सक्रिय सहभागीता हुने गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.