|

कपिलवस्तु : गुणस्तरहीन सामाग्री उत्पादन गरेको भन्दै कृष्णनगर नगरपालिका ८, बहादुरगंजस्थित ‘शुद्धप्लस गुट्खा’ उद्योगमा कपिलवस्तु जिल्ला प्रशासनले शिलबन्दी गरेको छ। 

हाडिर्जाड फेग्नेन्स इन्डस्ट्रिजले उत्पादन गर्दै आएको ‘शुद्ध प्लस’ गुट्खाले मापदण्ड पूरा नगरेको सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले बताए। उनकै नेतृत्वमा गएको बजार अनुगमनको टोलीले उद्योगबाट उत्पादित सुर्तीजन्य पर्दाथ मापदण्ड विपरित भएको भन्दै उद्योगमा छापा हानेको हो। उद्योगमा खानतलासी गर्ने क्रममा २ किसिमका गुट्खा उत्पादन गरेको पाइएको अर्यालले बताए। 

सुर्तिजन्य पर्दाथ निवारण ऐन २०७१ विपरित सो कम्पनीले ऐन विपरित गुणस्तरहीन वस्तु प्रयोग गरी गुट्खा उत्पादन गरेको उनले बताए। उद्योगले स्वघोषित कर तिर्ने भएकाले कारछलीका विषयमा भने तत्कालै केही भन्न नमिल्ने उनले बताए।

‘खाद्यबस्तुको अनुगमन गर्ने निकायका प्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षा निकाय, पत्रकारसहितको अनुगमन टोलीले कम्पनीमा उत्पादित वस्तु कमसल खालको भेट्याँ। करछलीको विषयमा सम्‍बन्धित निकाय राजस्वलाई अनुसन्धान गर्न निर्देशन दियौं,’ उनले भने।

नेपालभरी नै राम्रो बिक्री रहेको शुद्धप्लस गुटखा उद्योगले पटक–पटक नियम उल्लङ्घन गरेको कारण छापा मारेको खाद्य अधिकृत आनन्द डंगोलले जनाए। ‘उद्योग संचालकलाई उचित जवाफ सहित आइतबार जिल्ला प्रशासन कार्यालयमा डाकिएको छ, त्यसपश्चात थप अनुसन्धान हुन्छ,’ उनले भने।

नेपाली कांग्रेस नेता विरेन्द्र कनौडियाका भाई महेन्द्र कुमार कनौडियाको स्वामित्वमा रहेको उक्त उद्योगले मासिक २ करोड रुपैयाँ स्वघोषित कर बुझाउने गरेको बताइएको छ। मासिक १५ करोड रुपैयाँ बढीको गुटखा बिक्री गर्ने उक्त उद्योगले गुणस्तरहीन वस्तु प्रयोग गरी गुट्खा बनाउने गरेको प्रशासनको भनाइ छ।

फार्मेसीको अनुमति लिएर कस्मेटिक सामानको बिक्री

अनुगमन टोलीले फार्मेसीको अनुमती लिएको गुल्सन मेडिकल हलले कस्मेटिक सामानहरु बिक्री गरेको पत्ता लगाएको छ। मेडिकलबाट मिती सकिइसकेका केही औषधिहरु समेत बरामद गरिएको छ।

त्यसैगरी बन्जाडे किनारा पसलसहित थुप्रै किराना तथा मेडिकल पसल, होटल लगायतका ठाउँमा अनुगमन टोलीले छापा मारेको छ। टोलीले गुल्सन मेडिकल कलेजका सञ्चालकलाई आवश्यक कागजातसहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ।

तोकिएको मितिमा उपस्थित नभए शिलबन्दी गर्ने चेतावनी प्रशासनले दिएको छ। अनुगमनका क्रममा धेरैजसा मेडिकलबाट मिति सकिएका औषधि बरामद भएको प्रशासकिय अधिकृत प्रेम खवासले बताए। उनले केही मेडिकलहरु भने व्यवस्थित रहेको पाइएको जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.