|

विराटनगर : विराटनगर महानगरपालिका प्रमुखमा नेपाली कांग्रेसका भीम पराजुली फराकिलो मतान्तरसहित विजयी भएका छन्। शनिबार राति सम्पन्न मतगणनामा पराजुलीले २३ हजार ३१ मत प्राप्त गरी प्रतिष्पर्धी नेकपा एमाले र फोरम लोकतान्त्रिक गठबन्धनका विनोद ढकाललाई ५ हजार ७ सय १० मतान्तरले पराजित गरेका हुन्। 

ढकालले १७ हजार ३ सय २१ मत प्राप्त गरे भने तेस्रो स्थानमा रहेका माओवादी केन्द्र र संघीय समाजवादी फोरम गठबन्धनका प्रमुखका उम्मेदवार उमेश यादवले १४ हजार ९ सय ८५ मत प्राप्त गरे। नगरको दक्षिणी क्षेत्रबाट यादवलाई एकल मत आएपनि धेरै मत बदर भएको र उत्तरी क्षेत्रबाट पर्याप्त मत नपाएकोले उनी पराजित भएका छन्। 

महानगरको उपप्रमुखमा कांग्रेसकै इन्दिरा कार्की प्रमुख पदमा भन्दा फराकिलो मतअन्तरले निर्वाचित भइन्। कार्कीले २० हजार १ सय ४६ मत पाएर निर्वाचित हुँदा उनकी प्रतिद्वन्द्वी माओवादी केन्द्रकी नमिता न्यौपाले ११ हजार ५ सय २४ मत प्राप्त गरिन्। उनीहरुको मतान्तर ८ हजार ६ सय २२ रहेको छ। एमालेको समर्थनमा उपप्रमुखको उम्मेदवार रहेकी नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीले १० हजार ५ सय ३६ मत प्राप्त गरिन्।

विराटनगरका वडाअध्यक्षहरुमा नेपाली कांग्रेसले ७, संघीय समाजवादीले ६, एमालेले ३, माओवादीले १ र स्वतन्त्र उम्मेदवारले २ वटा जितेका छन्  १९ वडा रहेको महानगरमा १, ३, ४, ७, ८, ९ र १६ को वडाध्यक्ष कांग्रेसले जितेको छ भने संघीय समाजवादीले १२, १३, १४, १५, १७ र १८ नम्बरको वडाध्यक्ष जितेको छ। यस्तै एमालेले २, ५ र ११ नम्बरको वडाध्यक्ष, माओवादीले ६ नम्बर र स्वतन्त्रले १९ र १० नम्बरको वडाध्यक्षमा जित निकालेको छ।

महानगरमा निर्वाचित ९७ जना प्रतिनिधिमा कांग्रेसको प्रमुख, उपप्रमुख र ७ वडाध्यक्षसहित ४५, एमाले ३ वडाध्यक्षसहित १४, फोरम ६ वडाध्यक्षसहित २७, माओवादी १ वडाध्यक्षसहित ५ र स्वतन्त्र २ वडाध्यक्षसहित ६ जना निर्वाचित भएका छन्। वडा नम्बर १९ का कांग्रेसका बागी  उम्मेदवारले जितेका हुन्। यो समेत जोड्दा कांग्रेसको स्पष्ट बहुमत देखिएको छ।

दुबै गठबन्धन असफल

विराटनगरमा कांग्रेसलाई चुनौती दिन एमाले र नेपाल लोकतान्त्रिक फोरम तथा माओवादी र संघीय समाजवादी फोरमबीच गठबन्धन भएको थियो। दुवै गठबन्धन कांग्रेसका लागि चुनौती थियो। एकातिर कांग्रेसमा एकताबद्ध नहुनु र अन्तरघातको डर हुनु अर्कोतिर दुवै बलिया गठबन्धन अगाडि आउनु कांग्रेसका प्रमुख पदका उम्मेदवार भीम पराजुलीका लागि चुनौतीपूर्ण थियो। तर, दुवै गठबन्धनलाई असफल पार्द पराजुलीको अग्रता निक्कै फराकिलो रह्यो।

गठबन्धनमा आएको मतको फरक हेर्ने हो भने एकले अर्कोलाई मत दिएको देखिएको छैन। माओवादी केन्द्रको उपप्रमुखमा संघीय समाजवादी फोरम र माओवादीले संघीय समाजवादी फोरमको उम्मेदवारलाई तथा एमालेले र लोकतान्त्रिक फोरमबीच पनि एकले अर्कोलाई मत दिएको देखिएन। यसर्थ पनि विराटनगरमा भएको यो तालमेल या गठबन्धन परिणाममुखी बन्न सकेन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.