|

अछाम : साँफेबगर–७ अछामकी थिउरी लुहारको उमेर भर्खर १९ वर्ष पुग्यो। ‘टिन’ समूहकी उनका दुई सन्तान छन्। २० वर्ष नपुग्दै दुई छोराकी आमा बनेकी उनलाई अब थप सन्तानको रहर छैन। त्यसैले उनले एक महिनाअघि नेपालगन्ज पुगेर स्थायी बन्ध्याकरण (परिवार नियोजन) गराइन् ।

उमेर नपुग्दै सन्तानको रहर पूरा भएका उनी मात्र एक्ली होइनन्। ढकारी गाउँपालिका–१ की भावना जैसीले पनि २२ वर्षको उमेरमै बन्ध्याकरण गराइन्। स्कुल पढ्दा पढ्दै भागेर विवाह गरेकी उनको १६ वर्षको उमेरमै गर्भ रह्यो। अहिले उनका दुई छोरा छन्। ढकारीकै २३ वर्षीया निर्मला जैसी पनि उनीसँगै बन्ध्याकरण गराउन अस्पताल आएकी थिइन्। ७ कक्षामा पढ्दापढ्दै कलिलो उमेरमै उनको विवाह भएको थियो । ‘घरकाले सानैमा विवाह गरिदिए,’ जैसीले भनिन्, ‘विवाह गरेको अर्को वर्ष छोरा जन्मियो, सन्तानको रहर पूरा भएपछि अब नजन्माउने सोचले बन्ध्याकरण गरेकी हुँ।’

जिल्लामा गत साउनयता उनीहरूकै उमेर समूहका अन्य २१ महिलाले मिनिल्याप (महिला स्थायी बन्ध्याकरण) गराएको जिल्ला स्वास्थ्य कार्यालय अछामको तथ्यांकमा उल्लेख छ। ११ महिनाको अवधिमा अस्पताल पुगेर परिवार नियोजन गराउनेको संख्या जम्मा २ सय ३३ छ। तराईका जिल्लामा दिनको १ सय ९७ रुपैयाँ रासनबापत पाउँछन्। अन्य जिल्लामा भने ठाउँअनुसार फरकफरक रकम पाउँछन्।

१ सय ५९ महिला र ७४ पुरुषमध्ये कम उमेरमै बन्ध्याकरण गर्नेमा पुरुषभन्दा महिला बढी छन् । स्थायी बन्ध्याकरणकै लागि जिल्ला अस्पतालले यो वर्ष दुई ठूला शिविर आयोजना गरेको थियो। गत फागुन र वैशाखमा आयोजित सो शिविरमा ३० प्रतिशत बढी २५ वर्षमुनिका महिला सेवाग्राही सहभागी थिए। सानैमा विवाह गर्ने चलनले छिट्टै बच्चा जन्मिने भएकाले किशोरावस्थामै बन्ध्याकरण गर्नेहरू बढेको जिल्ला अस्पतालका परिवार नियोजन सुपरभाइजर भवानसिंह कुँवरले बताए।

‘लगभग ७५ प्रतिशत ३५ वर्ष आसपासका छन्,’ उनी भन्छन्, ‘स्थायी बन्ध्याकरण गर्नेमा ४० वर्ष उमेर कटेकाहरूको संख्या न्यून छ’, उनले भने।  पछिल्लो तथ्यांक अनुसार जिल्ला अस्पताल अछाममा तीन महिनाको अवधिमा २० वर्षमुनिका १९ जना किशोरी सुत्केरी भएका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.