|

काठमाडौं : शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको फिल्म ‘धनपति’ले अहिले हलहरुमा हाउसफूल रुपमा  व्यापार गरिरहेको छ। प्रदर्शनको पहिलो दिन शुक्रबार ८० प्रतिशत अकुपेन्सी रहेको फिल्मको दोस्रो दिन शनिबार ९० प्रतिशतभन्दा माथि अकुपेन्सी छ। फिल्मले मल्टिप्लेक्स र सिंगल दुवैतिर उतिक्कै दर्शकको साथ पाइरहेको छ।

फिल्मका निर्देशक दीपेन्द्र के. खनालले भने, ‘आज देशभर फिल्म हाउसफूल छ। कुनैपनि मल्टिप्लेक्स र सिंगल हलमा एउटा सिट पनि खाली छैन।' मल्टिप्लेक्स हलहरुले आइतबारबाट झन् सो बढाइरहेको उनले बताए। उनका अनुसार फिल्मले पहिलो र दोस्रो दिन गरी लगभग १ करोड २० लाखको व्यापार गरेको छ।

शुक्रबार र शनिबार क्युएफएक्समा हलमा १३ सो पाएको फिल्मले आइतबारबाट १४ सो पाएको छ। खासमा शुक्रबार र शनिबार बिहान र साँझको सो आइतबारबाट मल्टिप्लेक्सहरु घटाउने गर्छ तर, धनपतिको सो झन् बढेको छ। समीक्षकहरुबाट यही 'धनपति' निर्माण युनिटले निर्माण गरेको फिल्म 'पशुपति प्रसाद' भन्दा तुलनात्मक रुपमा कमजोर भएको प्रतिक्रिया पनि आइरहेको छ।

यस विषयमा निर्देशक खनाल भन्छन्, 'केही समीक्षा त्यस्तो आए पनि दर्शकहरुबाट हामीले राम्रो प्रतिक्रिया पाएका छौं। फिल्म नराम्रो भएको भए हलमा शुक्रबार र शनिबार दर्शकहरुको चाप हुँदैन्थ्यो। ९९ प्रतिशत दर्शकहरुलाई फिल्म मन परेको छ।’ फिल्मको वर्ड अफ माउथले आइतबारबाट सिनेमा हलहरुमा दर्शकको चाप विस्तारै बढ्दै जाने निर्माण पक्षको विश्वास छ।

आइतबार पनि मल्टिप्लेक्समा ‘धनपति’ को अग्रिम बुकिङ धेरै  छ। 'पशुपति प्रसाद'को सफलतापछि टुकी आर्ट्स प्रालिले दीपेन्द्र के. खनाल प्रोडक्सनको सहकार्यमा यो फिल्म निर्माण गरेको हो। 'धनपति'लाई दीपेन्द्र के खनालले नै निर्देशन गरेका हुन्। खगेन्द्र लामिछानेको लेखन रहेको फिल्मको प्रमुख भूमिकामा पनि लामिछाने नै देखिएका छन्। फिल्ममा खगेन्द्रसँगै सुरक्षा पन्त, आशान्त शर्मा, हरिहर शर्मा, मनीष निरौला, सुरभी बर्तौला, प्रकाश घिमिरे लगायतको अभिनय छ। फिल्मको निर्माता भने रोजिना सिटौला हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.