|

इलाम : २०७४ असार १४ को दोस्रो चरणको स्थानीय तहको  निर्वाचनबाट इलाम नगरपालिकाको नवनिर्वाचित प्रमुख महेश बस्नेतका लागि अनौठो संयोग बनेको छ। फरक यति छ ०५४ मा स्थानीय निकाय थियो र ०७४ मा आइपुग्दा स्थानीय तह भएको छ। तर, बस्नेतका निकटतम प्रतिद्वन्द्वी भने उही रहे हालका नेपाली कांग्रेसका सभापति हिमालय कर्मचार्य।

नगर प्रमुखकै कुर्सीका लागि बस्नेतले २०५४ सालको स्थानीय तहको निर्वाचनका प्रतिद्वन्द्वी हिमालय कर्मचार्यलाई ७३ मतान्तरले पराजित गरेका थिए।२० वर्षअघिको भन्दा इलाम नगरपालिकाको भूगोल परिवर्तन भएको छ। जनसंख्या थपिएको छ। इलाम नगरपालिकाले विकास र सुविधा सम्पन्न नगरका लागि जनप्रतिनिधि पर्खिएको छ।

यो अवस्थामा इलाम नगरपालिकाको प्रमुख पदमा विजयी भएपछि बस्नेतले अब आफू र विजयी उम्मेद्वारहरुले दलको नभई जनताका साझा प्रतिनिधिका रुपमा कार्य गर्ने अठोट लिएका छन। बस्नेत एमालेका जिल्ला सचिव र कर्माचार्य कांग्रेसका जिल्ला सभापति हुन्। बस्नेतले २०५४ सालको स्थानीय निकाय निर्वाचनमा कर्माचार्यलाई नै ७३ मत अन्तरले पराजित गरेका थिए। यो पटक बस्नेतले १ हजार ७ सय ६५ मतान्तरले पराजित गरे।

कर्माचार्य भने २०४३ सालमा तत्कालीन नेकपा मालेका उम्मेद्वार नरेन्द्रनाथ भट्टराईलाई पराजित गरी २०४६ सालसम्म इलाम नगरपालिकाको प्रमुख भएका थिए। २०४६ सालमा बहुदलीय व्यवस्था स्थापनापछि उनको कार्यावधि सकिएको थियो। कर्मचार्य २०७० को संविधान सभा निर्वाचनमा इलाम क्षेत्र नम्बर-१ बाट नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व-प्रधानमन्त्री झलनाथ खानलसँग पराजित भएका थिए।

संविधानसभाका ०६४ र ०७० का दुबै निर्वाचनमा इलाम क्षेत्र नम्बर–१ र २ बाटै पाखा लागेको नेपाली कांग्रेसले यो पटकको स्थानीय निर्वाचनमा क्षेत्र नम्बर–३ मा पर्ने स्थानीय तहहरुबाट पनि पछि हट्नु प¥यो।  यो पटक नेपाली कांग्रेसले इलामका १० स्थानीय तहमध्ये माङ्सेबुङ, फाकफोकथुम र रोङ गाउँपालिकालाई मात्र आफ्नो बनाउन सक्यो। माङ्सेबुङ गाउँपालिकामा अध्यक्ष पदमा कांग्रेसका डिकेन्द्र इदिङ्गो विजयी भए।

माङ्सेबुङको उपाध्यक्षमा भने एमालेकै सुनिता योङहाङ विजयी भइन्। यस्तै फाकफोकथुममा कांग्रेसका राम श्रेष्ठ विजयी भए भने उपाध्यक्षमा एमालेकै सरु राई विजयी भइन्। नेपाली कांग्रेसको रोङ गाउँपालिकामा भने अध्यक्षमा सम्शेर राई र उपाध्यक्षमा चन्द्रकला राई विजयी भए।

बाँकी सन्दकपुर, चुलाचुली, माइजोगमाई गाउँपालिका र देउमाइ नगरपालिका, माई नगरपालिका र इलाम नगरपालिकामा भने एमालेले वर्चश्व कायम ग¥यो। सन्दकपुरको अध्यक्षमा उदय राईले कांग्रेसका देवेन्द्र सुवेदीलाई २१ सय ७५ मतले पछि पारे। यस्तै उपाध्यक्षमा एमालेकै शोभा पराजुली विजयी भइन्।

माइजोगमाई गाउँपालिकामा कांगे्रसका सिटी शेर्पालाई हराउँदै एमालेका जीतबहादुर राई विजयी भए। माइजोगमाइको उपाध्यक्षमा एमालेकै सावित्रा भट्टराईले विजय प्राप्त गरिन्। चुलाचुली गाउँपालिकामा एमालेका प्रदिपचन्द्र राई र निर्मला दाहाल अध्यक्ष र उपाध्यक्ष पदमा विजयी भए। यता देउमाइ नगरपालिकामा एमालेका सूर्य पोख्रेलले नेपाली कांग्रेसका होम दुलाललाई ७०२ मतले पराजित गरे। माइ नगरपालिकामा पनि एमालेका दीपककुमार थेवे र विष्णुमाया आचार्य विजयी भए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.