|

काठमाडौं : २०५४ साल यता कुनै पनि निर्वाचन जित्न नसकेको नेकपा एमालेले २० वर्षपछि रोल्पामा चुनाव जित्न सफल भएको छ।

असार १४ गते भएको स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा एमालेले रोल्पाका त्रिवेणी गाउँपालिका र रुन्टीगढी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष जितेको छ। यी दुई गाउँपालिकामा अध्यक्ष/उपाध्यक्षसहित बहुमत पद जितेर एमालेले आफ्नो सशक्त उपस्थिति देखाएको हो।

स्थानीय तह पुनर्संरचना गर्दा १० स्थानीय तह बनाइएको रोल्पा तत्कालीन विद्रोही माओवादीको युद्धकालीन आधारइलाका हो। रोल्पामा नेकपा माओवादी केन्द्रले एक नगरपालिकासहित ७ स्थानीय तहमा तिज हासिल गरेको छ। कांग्रेसले भने एक गाउँपालिकामा मात्र अध्यक्ष र उपाध्यक्ष पद जित्न सक्यो।

६४ मा प्रचण्डसँग भिडेका शान्तकुमारले ७४ मा जिते

त्रिवेणी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका गंगाप्रसाद घर्तीलाई हराउँदै एमालेका शान्तकुमार वली अध्यक्ष निर्वाचित भएका छन्।

त्रिवेणीमा माओवादी केन्द्रका उम्मेदवारसँग कडा प्रतिस्पर्धाका बिच एमालेका शान्तकुमार वली अध्यक्ष र सावित्रा बुढा घर्ती मगर उपाध्यक्ष विजयी भएका हुन्। विजयी वलीले निकटतम प्रतिद्वन्द्वी घर्तीलाई २२१ मतले पछि पारे। एमालेले ७ वडा रहेको यो गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित ४ वडामा वडाध्यक्ष जितेको छ।

साविकका जुगार, बुढागाउँ, नुवागाउँ, गैरीगाउँ र करेटी गाविसलाई मिलाएर बनाइएको त्रिवेणी गाउँपालिका अध्यक्षमा विजयी भएका वली २०६४ सालको संविधान सभा निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग चुनाव लडेका थिए। उक्त निर्वाचनमा उनी दोस्रो भएका थिए।

एमाले रोल्पाका पूर्व जिल्ला अध्यक्ष समेत रहेका उनी जनयुद्धका बेला माओवादीको अपहरणमा परेरका थिए। तर उनी भागेर ज्यान जोगाउन सफल भए।

त्रिवेणी गाउँपालिकाको उपाध्यक्ष निर्वाचित साबित्रा अखिल महिला संघकी अगुवा नेता हुन्।

चर्चित 'होलेरी' रहेको रुन्टीगढीमा उदायो सूर्य

रुन्टीगढी गाउँपालिकामा एमालेका बालाराम बुढामगर अध्यक्ष र छमाया पुन मगर उपाध्यक्ष निर्वाचित भए। कांग्रेसका टेकबहादुर बस्नेत र सरिता केसीलाई हराउँदै बालाराम र छमायाँले गाउँपालिकाको नेतृत्व गरेका हुन्।

अध्यक्ष र उपाध्यक्ष जिते पनि ९ वटा वडा रहेको यो गाउँपालिकामा एमालेले दुईवटा वडामात्र जित्न सक्यो।

वडाहरूमा माओवादी र कांग्रेसको तालमेल भएका कारण सोचेजति ल्याउन नसकेको एमालेका वैकल्पिक पोलिटब्युरो सदस्य गोकुल घर्ती मगर बताउँछन्।

जनयुद्धका बेला चर्चामा रहेको होलेरी समेत रहेको रुन्टीगढीमा एमालेबाट अध्यक्षमा विजयी हुने बालाराम एमाले रोल्पाका उपाध्यक्ष हुन्। उपाध्यक्ष निर्वाचित छमाया पुन २२ वर्षदेखि रोल्पाको स्थानीय राजनीतिमा संलग्न छन्।

रोल्पामा एमालेको चुनावी इतिहास

२०४६ सालमा बहुदलीय व्यवस्था पुनर्स्थापनापछि २०४८ सालमा 'एक बाम, एक ठाम' नीति अनुरुप तत्कालीन संयुक्त जनमोर्चालाई एमालेले सघाएको थियो। जनमोर्चालाई सघाएको भन्दै कतिपय अगुवाले एमाले परित्याग गरेका थिए।

२०४९ सालको स्थानीय निकाय निर्वाचनमा भने एमालेले दक्षिणी रोल्पाका साविकका डुब्रिङ, बुढागाउँ, नुवागाउँ, गैरीगाउँ लगायतका गाविस जितेको थियो।

२०५१ को प्रतिनिधिसभा निर्वाचनमा भने एमाले पराजित भयो। ५४ को स्थानीय निकायको निर्वाचनमा दर्जन बढी निकाय जितेको थियो। त्यसयता भएका निर्वाचनमा एमालेले जित हात पार्न सकेन।

बढ्यो मत

२०६४ र २०७० सालको निर्वाचनमा जित हात पार्न नसकेको एमालेले स्थानीय तहको निर्वाचनमा तुलनात्मक रुपमा मत पनि बढाएको छ। २०७० सालको संविधान सभा निर्वाचनमा जिल्लाभरबाट १० हजार ७०० मत ल्याएको एमालेले यस पटकको निर्वाचनमा प्राप्त मत १६ हजार पुर्‍याएको छ। 

माओवादीको सशस्त्र युद्धको अवधिमा कार्यकर्तामाथि माओवादी र राज्यले दमन गरेकाले संगठन विस्तार गर्न नसकेको एमाले रोल्पामा विस्तारै बौरिँदै गएको एमाले जिल्ला अध्यक्ष हरिप्रसाद घर्ती बताउँछन्।

एमालेले यस पटक निर्वाचन आउनुभन्दा चार महिना अघिदेखि नै रोल्पामा जनपरिचालन अभियान थालेको थियो। उक्त अभियान निर्णायक भएको घर्तीको भनाइ छ। 'अहिले पार्टीका कामलाई एकदमै ध्यान दिएका छौँ। हिजो पार्टी छाडेका कार्यकर्ता पनि फर्किन थालेका छन्', अध्यक्ष हरिप्रसादले भने, '४ महिने जनपरिचालन अभियानले राम्रो परिणाम ल्याउन सफल भएको छ।'

दोस्रो तहको निर्वाचन घोषणा भएदेखि नै रोल्पामा खटिएका एमाले संसदीय दलका सचेतक समेत रहेका नेता गोकुल मुख्यतः पार्टीको मेहनतले नै काम गरेको बताउँछन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.