|

यो लेख लेखिरहँदा नेपाली बोलीचालीमा भनिने ‘पर सरेको’ भन्ने वास्तविकता ममा पनि छ। व्यवहारगत रूपमा थुप्रै रुढीगत कुरीति मौलाए, यो पर सर्ने माहिलाका प्राकृतिक यथार्थमा। यो प्राकृतिक यथार्थको आज मेरो तेस्रो दिन। तर यो ‘पर सराइ’ले मेरो दैनिक जीवनमा कुनै फरक परेको छैन, न पहिलो दिन, न दोस्रो दिन, न आज, न भोलि नै पर्नेछ। मेरो दैनिकी न ‘पर सरेको’ दिनमा फरक पर्छ, न पर नसरेको दिनमै।

आज तेस्रो दिन भए पनि मैले बिहानै धारा आउने पालो भएकोले पानी थापेँ। भगवान बुद्धले पहिलो पल्ट धर्मदेशना गरेको दिनको रूपमा लिई असार पूर्णिमाका दिन बौद्ध समाजले मनाउने ‘धम्मचक्कपवत्तन दिवस’ परेछ, बुद्धलाई नमन गरेँ। बिहानै छोरालाई स्कुल पठाउनुपर्ने भएकाले उसलाई पकाएर खुवाएर पठाएँ। आफूले गर्नुपर्ने सबै काम गरेँ। मेरो पर सराइले यी काम गर्न मलाई कुनैै फरक पारेको छैन भने थुप्रै नेपाली महिलालाई किन फरक पारिरहेको छ?

मेरो पर सराइको गनगन यहाँहरूलाई सुनाउनु मेरो रहर होइन, यो पर सराइ प्रक्रियाले नेपाली महिला विश्वका महिलाभन्दा धेरै ‘पर सरेका’ छन् अनि देशका पश्चिमा भेगका थुप्रै महिलाले ज्यानसमेत गुमाएका छन्। हिजो गुमाएका थिए, आज गुमाए। स्थानीय महिला पुरुषका मानसिकता वर नआएसम्म महिला सधैँ पर सरिरहनेछन् र अकाल मृत्युको काखमा पुगी नै रहनेछन्।

केही दिनअघि मात्र दैलेख जिल्ला, चामुण्डा विन्द्रसैनी नगरपालिका– ६ की शान्ता शाहीको घरको छाउगोठमा सर्पले टोकेर मृत्यु भयो। उनको समयमा स्वास्थ्य उपचार हुन नसकेर मृत्यु भएको थियो। अझ अगाडि भन्नुपर्दा छाउ गोठमा असुरक्षित रूपमा सुत्नुपरेकोले उनको मृत्यु भएको हो। छाउ गोठमा मृत्यु हुने शान्ता पहिलो महिला होइनन्, न उनी अन्तिम नै हुनेछन्।

कुरीतिलाई नै आफ्नो संस्कार मानेर गौरवान्वित भइटोपल्ने यस समाजमा भएसम्म उनी र उनी जस्ता थुप्रै शान्ताले अझै ज्यान गुमाइ नै रहनेछन्। जिल्ला समन्वय समितिका अनुसार दैलेख जिल्लामा मात्र अझै ३७६ वटा छाउगोठ रहेका छन्।

छाउगोठ, छाउ संस्कृतिले पश्चिमका महिला पीडित भए भन्ने कुरा गरियो भने त्यसलाई सुधारका लागि आन्तरीकरण गर्ने भन्दा पनि काठमाडौँमा पनि त छ भन्ने खालको ओठे जवाफ सुन्नुपर्ने हुन्छ। हो, काठमाडौँमा पनि यो समस्या छ तर  तुलनात्मक रूपमा महिला कम पीडित छन्। तर रजस्वलालाई पापको रूपमा लिएर कुनै चाड मनाउने र उक्त चाडलाई ‘ग्लामराइज’ गरेर अझै नयाँ पुस्तालाई समेत आकर्षण गर्ने परिपाटी रहेसम्म मानसिकतामा रहेको छाउको भूत कसरी हट्ला र खै! चाहे त्यो भौतिक रूपमा विकसित शहरको मानक बनेको काठमाडौँ होस् या पश्चिमको विकट कुनै गाउँ।

रजश्वला, नछुने हुने, पर सरेको वा अन्य केही, जे नाम दिए पनि महिलाले व्यहोर्ने प्राकृतिक प्रक्रिया एउटै हो। करिव १० वर्षको उमेरदेखि ५० वर्षको उमेरसम्म महिलामा मासिक रूपमा हुने यो प्राकृतिक प्रक्रिया कुनै पाप नभई महिलामा भएको विशेष क्षमता हो भन्ने कुरा बुझ्नु जरुरी छ। यही क्षमताका कारण जन्मजन्मान्तर प्रक्रिया अगाडि बढेको कुरालाई आत्मसात गर्नु जरुरी छ। साथै पर सरेको बेला महिलाले छोएको कुरा खान नहुने, छुन नहुने, दाजुभाइ–बुबालाई हेर्नै नहुनेजस्ता कुराका विरुद्ध पुरुषहरू नै नलागेसम्म छाउ प्रक्रिया रोकिन गाह्रो हुन्छ।

महिलाका एजेण्डा विभिन्न देश, काल, परिस्थिति र आवश्यकताअनुसार हुने गर्दछ। थुप्रैका एजेण्डा विकास निर्माणकै हुने अपेक्षा गरिन्छ तर देशका पश्चिमी भेगमा भर्खरै निर्वाचित जनप्रतिनिधिको निर्वाचनको चुनावी नारा नै छाउ हटाउने थियो। यो प्रतिवद्धता नराम्रो होइन, तर निकै अगाडि बढिसक्नुपर्ने अहिलेको अवस्थामा छाउमै अल्झिरहनुपर्ने भएको छ।

प्रदेश नम्बर ७ को सामाजिक कुरीति छाउपडीलाई जिल्लाका राजनीति दलहरूले चुनावी घोषणापत्रमा कुनै न कुनै रूपले समेटेका थिए। तथापि, विजेता स्थानीय जनप्रतिनिधि छाउपडीविरुद्धका संवाहक हुन सक्छन्।

रजस्वला प्राकृतिक र नियमित प्रक्रिया हो। यसलाई नकारात्मक रूपमा हेरेर अलौकिक बनाउन जरुरी छैन। यसलाई पापको रूपमा लिएर विभिन्न विधि विधान गर्नु पनि जरुरी छैन, मात्र स्वास्थ्य र सरसफाई प्रक्रियामा ध्यान दिए पुग्छ। अब घरसँगैको छाउ गोठ, घरभित्रको छाउकोठा र मानसिकतामा जकडेर रहेको छाउको भूत सबै हटाउन ढिला भइसकेको छ। अब महिलालाई पर सरेको भनेर पर बस्न नलगाऔँ, नबसौँ– न तनले, न मनले।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.