|

काठमाडौं : सपना साकार पार्ने थलो ठान्दै काठमाडौँ छिर्ने युवा-युवती मात्रै होइन, तिनका परिवारको संख्या पनि उत्तिकै हुन्छ। सन्तानको भविष्यमा आफ्नो सुख देख्ने उनीहरू यहीँ हड्डी घोटेर भए पनि सन्तानलाई राम्रो स्कूलमा शिक्षा र पोसिलो गाँस दिने चाहना काठमाडौँ छिर्ने आमाबुबाको हुन्छ।

काठमाडौँका गल्ली-गल्लीबाट हतारमा निस्किने वैँस ढल्केकाहरूमा अधिकांश तिनै व्यक्ति हुन्छन्। सहरको अभाव सहेर भए पनि आफ्ना सपना सन्तानमार्फत पूरा गराउन रातदिन एकै गरेर संघर्षरत भेटिन्छन्। उनीहरूको योजना हुन्छ, छोराछोरीलाई राम्रो स्कुलमा भर्ना गर्ने, जसले भविष्यमा उनीहरूलाई आफूले भोगेजस्तै जिन्दगी भोग्न नपरोस्। सन्तानको सुन्दर भविष्यका लागि हड्डी घोट्ने अर्थात् जेसुकै गर्न तम्तयार हुने यस्तै मान्छेहरूको प्रतिनिधि कथा बोकेको फिल्म हो, 'धनपति'।

फिल्म 'धनपति'को कथा धनपति/सानुकाजीकी छोरीलाई राम्रो स्कुल भर्ना गर्ने सपना वरिपरी घुम्छ। त्यो सपना पूरा गर्न धनपतिले गरेका काम र त्यसबाट निस्केका परिणामको चक्रको समग्रता हो, फिल्म 'धनपति'। अर्को शब्दमा भन्दा, यो फिल्म धनपतिको साइकलदेखि साइकलसम्मको यात्रा हो।

सानी छोरी र पत्नी (सुरक्षा पन्त) सँग कीर्तिपुरमा कोठा भाडा गरी बस्ने धनपतिको यात्रा छोरीलाई साइकलमा राखेर स्कुल पुर्‍याउने दृश्यबाट सुरु हुन्छ। छोरीलाई सरकारी स्कुलबाट बोर्डिङ स्कुलमा पढाउने धनपतिको सपना हुन्छ। छोरीले कक्षा चढ्ने समयमा उसलाई पैसाको खाँचो पर्छ। महिनाको १५ हजार रुपैयाँबाट एक रेस्टुरेन्टमा वेटरको काम गर्ने धनपतिको कोठा भाडा र तीन जनाको खर्च जेनतेन चलेको हुन्छ। बोर्डिङ स्कुलको शुल्क महिनाको १० हजार रुपैयाँ लाग्ने थाहा पाएपछि ऊ समस्यामा पर्छ। पसिनाको कमाइमा विश्वास गर्ने स्वाभिमानी धनपतिको छोरीलाई बोर्डिङ स्कुलमा पढाउने सपनामा धक्का लाग्छ। ऊ छिटो कमाइ हुने बाटो अख्तियार गर्न तयार हुन्छ।

राजनीतिक प्रतिशोधको पिल्साइमा परिवार सखाप भएपछि एकसरो लुगा लगाएको ज्यान जोगाउँदै राजधानी छिरेको धनपति त्यही राजनीतिक चक्रव्यूहमा फस्छ। धनपतिको राजनीतिक विरासतलाई चुनावको मुखमा पार्टीको पक्षमा प्रयोग गर्ने र उसलाई प्रयोग गरेर जनमत आफ्नो पक्षमा पार्ने कुत्सित मनसाय बोकेका नेता र तिनका कार्यकर्ता हात धोएर पछि पर्छन्।

छोरीलाई राम्रो स्कुल पढाउने सपना उसको कमजोरी हो भन्ने थाहा पाएपछि धनपतिलाई त्यो पूरा हुने प्रलोभन देखाएर पार्टीमा प्रवेश गराउन सफल हुन्छन्। धनपतिबाट राजनीतिक स्वार्थ पूर्ति गर्ने ध्येयका साथ उसलाई पार्टी प्रवेश गराउने जिम्मा लिएको हुन्छ, एक राजनीतिक दलको कार्यकर्ता कमल (अशान्त शर्मा), जो अन्ततः सफल हुन्छ।

कमलले फिँजाएको राजनीतिक जालमा परेको धनपति साइकल, सार्वजनिक बसको यात्रुबाट मोटरसाइकल हुइँकाउने बन्छ। साँघुरो कोठाबाट ठूलो र व्यवस्थित कोठमा बसाइँ सर्छ। त्यो पैसा कहाँबाट आउँछ, मतलब राख्दैन। मोजमस्तीको जीवनशैली भोग गर्छ। अभावमा बाँचेका दिनहरू चटक्कै बिर्सिन्छ। विगतका पीडा भुल्छ।

दिनभर काम गर्दा पनि हातमुख जोर्न मुस्किल परेका दिनहरू उसको मानसपटलबाट हराएका हुन्छन्, काठमाडौँको महँगी, अभाव, ठूलाले सानालाई गर्ने हेपाइ र अपमान उसले कहिल्यै भोगेको थिइनँ झैँ व्यवहार गर्छ धनपति। कुनै समय सडकछापको जीवनशैली भोगेको ऊ फुर्ती देखाउँदै हिँड्छ।

राजनीतिलाई घृणा गर्ने धनपति अन्ततः नेताले रचेको चक्रव्यूहमा फस्छ। ऊ नजानी नजानी परिवार सखाप पार्ने नेताको गोटी बनिसकेको हुन्छ। विरासत प्रदर्शन गर्न गाउँमा गएर नेतागिरी देखाउँछ। छोरीलाई राम्रो स्कुल भर्ना गर्ने सपनालाई पूरा गर्न राजनीतिमा छिरेको धनपतिको सपनाको नियती साइकलको पाइडलमै कसरी पु्ग्छ भन्ने थाहा पाउन फिल्म हेर्नुपर्ने हुन्छ।

फिल्मले केही वर्ष पहिलेको दिनदिनै बन्द, हड्तालको मार खेप्ने काठमाडौँको दैनिकी स्पष्ट रूपमा प्रस्तुत गरेको छ। सर्वहारा जनताको उत्थानको लागि राजनीति गरेको भन्दै तिनै जनताका पेटमा लात हानेका दृश्य देखेकालाई यो फिल्मले नोस्टाल्जिक बनाउँछ। त्यो नोस्टाल्जियामा देशको त्यो अवस्थाले युवालाई विदेश जान बाध्य पारेका, सडकमा बेरोजगार युवाहरू राजनीतिक गोटी भएका, एम्बुलेन्सदेखि ट्याक्सीसमेतमा तोडफोड भएर बिरामीसमेत अस्पताल पुग्न नसकेका दृश्यहरू पर्दामा चलायमान हुन्छन्। यी सबै देखाउन थोरै तर प्रतिनिधि पात्र हुन्। चलचित्रको परिवेश काठमाडौँको छ।

फिल्मको प्रमुख पात्र धनपति हो, जो पुरातन सोच भएको पात्र हो भन्ने एकै दृश्यले मात्रै प्रमाणित गर्छ। ऊ आफू पैसाका लागि निष्ठासमेत दाउमा राख्छ तर पत्नीले काम गरेर कमाएको पैसालाई पनि 'नाजायज काम गरेको' भन्दै आगो लगाउन आदेश दिन्छ र खरानी पार्छ। काठमाडौँमा पति-पत्नी दुवै काम गरेर पैसा कमाइरहेका हामी तमाम देख्छौँ। यो वास्तविकतामा फिल्मको यो दृश्य अस्वाभाविक लाग्छ।

राम्रो काम गर्नेबाट राम्रै कामको अपेक्षा रहन्छ। विश्वास यो हुन्छ कि उसले राम्रै काम गर्छ। 'पशुपतिप्रसाद', 'टलकजंग भर्सेज टुल्के' जस्ता फिल्मको अभिनयमार्फत् दर्शकको मन जितेका खगेन्द्र लामिछानेबाट पनि त्यही स्तर अझ त्यसभन्दा राम्रो कथा र अभिनयको अपेक्षा थियो। नेपाली फिल्मका दर्शकलाई फरक खालका फिल्म निर्देशनबाट नाम कमाएका दीपेन्द्र के. खनालको अब्बलता अझै सुदृढ रूपमा आउनुपर्छ भन्ने अपेक्षा गर्नु अस्वाभाविक होइन। फरक र उत्कृष्ट काम गरेर नाम कमाएको यो जोडीको कुशलता दर्शकले यो फिल्ममा खोजे भने अलि निराश हुनुपर्ने अवस्था आउन सक्छ।

कुनै पनि फिल्मका पात्रहरू पृष्ठभूमिसहित आएर फिल्मको मुख्य विषयवस्तुसँग सम्बन्ध राख्ने गर्छन्। पात्र परिचय त्यसैका लागि हो। बिना कुनै कारण पात्रहरू फिल्ममा घुसाइँदैनन्। 'धनपति'मा केही पात्रहरू त्यस्ता छन्, जो अभिनय त गर्छन् तर उनीहरूको चित्तबुझ्दो गरी विगतबारे थाहा हुन्न।

सुरुवातमै तीन जना टोले गुण्डाहरूलाई फिल्ममा देखाइन्छ। खाइलाग्दा उनीहरू लुटेरा, पैसाका लागि जुनसुकै राजनीतिक आन्दोलनमा लाग्ने हुन् भन्ने देखाइन्छ। सुरुवातदेखि अन्तिमसम्मै आउने उनीहरूको पृष्ठभूमि के हो भन्ने भेउ पाउन सक्दैनन् दर्शकले। कसरी उनीहरू त्यो बाटोमा लागे केही भनिएको छैन।

कमल एक राजनीतिक दलमा आवद्ध छ। फिल्ममा पार्टीको नेताले जे भन्यो, त्यही मान्ने उसको पारिवारिक पृष्ठभूमिबारे केही उल्लेख छैन। कीर्तिपुर बजारमा टप्लक्क आइपुग्ने ऊ धनपतिलाई नाम काढेरै बोलाउँछ। त्यसरी धनपतिलाई बोलाउने कमलको ऊसँग के सम्बन्ध हो? खुल्दैन। कमललाई कीर्तिपुरको सडकबाट ल्याएर आन्दोलनका लागि केही समय सडकमा देखिन्छ तर पछि कहाँ हराउँछ, थाहै हुँदैन।

'को होला त्यो मसँग आँखा जुधाउने...' गीतको भिडियोमा देखिने मोडलझैँ पात्रहरू को होला त्यो भन्ने अवस्थाका छन् फिल्ममा। त्यसको अर्को उदाहरण हो, धनपतिको जेठान। विद्यार्थी भनिएको ऊ सुरुमा झोला व्यापारी हुन्छ, पछि घर रङ्ग्याउने अनि पछि विदेसिन्छ। उसको पनि पृष्ठभूमि के हो भन्ने खुलाइएको छैन। ऊ को होला र कहाँ गयो होला भन्ने भान पार्दै अलप हुन्छ। त्यस्तैमा पर्छन्, नेता (हरिहर शर्मा), जो केही निर्देशनका लागि मात्र देखाइएका छन्।

'धनपति'मा आम मानिसझैँ सामान्य पात्रहरू छन्, जसले दर्शकलाई बाँधिराख्छन्। हामीले सधैँ बाटोमा भेट्नेमध्ये अधिकांश धनपति, कमल हुन सक्छन्। खगेन्द्र लामिछानेको अभिनयको ट्रेन्ड उनले खेलेका 'टलकजंग भर्सेज टुल्के' र 'पशुपतिप्रसद'कै अभिनयको वरिपरि छ। उनको अभिनयमा फिल्मअनुसार विविधता ल्याउने बेला भएको छ। हरिहर शर्मा, अशान्त शर्मा, सुरक्षा पन्त, रवि गिरीलगायतका कलाकारहरूको अभिनय सरल र स्वाभाविक लाग्छ।

सबैभन्दा बढी बोल्ने पात्र धनपति र कमल हुन्। यी दुवैको संवादमा कृत्रिमता छ, असुहाउँदो छ। सुदूरपश्चिमबाट काठमाडौँ आएका भनिएका यी पात्रहरू मधेसी समुदायका मान्छेलाई होच्याउन निकालिने लवज निकाल्छन्। सुदूरपश्चिमको डोटेली भाषाको लवज र मधेसी लवजमा भेद छुट्याउन नसकेका हुन् कि निर्देशक र लेखकले भन्ने लाग्छ!

बेलाबेला कथाको जरो सुदूरपश्चिममा छ है भन्ने भान पार्न केही केही डोटेली शब्द बोल्न भने छुटाउँदैनन्, जुन अस्वभाविक लाग्छ। त्यस्तै, घरमा 'खाइस्यो', 'गइस्यो', 'गरिस्यो', 'भनिस्यो' जस्ता उच्च आदरार्थी सम्बोधन गर्ने धनपति बाहिर भने त्यस्तो सभ्यतामा हुर्केको झैँ लाग्दैन। घरमा एक किसिमको बोली र बाहिर अर्कै किसिमको हुन्छ उसको।

फिल्ममा प्रयोग गरिएका दुईओटा गीतले फिल्मको मूल आशय बोकेका छन्।

फिल्मले दर्शकलाई हँसाउने बेला पेट मिचिमिची हँसाउन र रुवाउने ठाउँमा धुरुधुरु रुवाउन सक्नुपर्छ भन्ने धारणा लिएकालाई त्यस्तो परिस्थितिमा सोच्न बाध्य बनाउँछ। पात्रलाई हुने खुसीले दर्शक प्रफुल्ल बनाउन सक्नुपर्छ र दुःखले पीडा दिनुपर्छ, छाती चिरिएर आँखाको माध्यमबाट बाहिर निकाल्न सक्नुपर्छ। 'धनपति'मा यस्तो परिवेश निर्माण हुँदैन। फिल्ममा हास्य, खुसी र दु:खका दृश्य चलिरहँदा यो किन भयो होला भन्ने लाग्छ। 'पशुपतिप्रसाद'मा मज्जाले हँसाउने र रुवाउने क्षमता राखेको लेखक/अभिनेता र निर्देशकको यस जोडीले यथेस्ट मिहिनेत नगरेको हो कि भन्ने महसुस हुन्छ चलचित्र हेरिसक्दा।

फिल्ममा अर्को खड्केको पक्ष हो, दृश्यहरू अनावश्यक लामा बनाइनु र दोहोर्‍याइनु। कमल र धनपतिबीच हुने बारम्बारका अर्थहीन भेटहरू, धनपति काम गर्न साइकल र गाडीमा बारम्बार रेस्टुरेन्ट गएको, सडक आन्दोलनका दृश्यहरू दोहोर्‍याइन्छन्। सरदर १ घण्टा ५२ मिनेटको फिल्ममा पनि यस्ता लामा र दोहोर्‍याइएका दृश्यले दर्शकलाई निराश बनाउँछन्।  

दीपेन्द्र र खगेन्द्रले नेपाली फिल्म उद्योगलाई दिएका विगतका फिल्मसँग तुलना नगरी हाल बनिरहेका नेपाली व्यापारिक फिल्मसँग 'धनपति'को तुलना गर्दा भने यसकै पल्ला भारी हुन जाने कुरा नकार्न सकिन्न।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.