विराटनगर महानगरपालिकामा १९ हजार ४ सय ५४ मत बदर

|

विराटनगर : मतदाता शिक्षाको अभाव र दलहरुबीचको गठबन्धनको कारण विराटनगर महानगरपालिकाको निर्वाचनमा धेरै मत बदर भएको छ। महानगरका १ लाख १३ हजार ७ सय ६१ मतदातामध्ये ७०.९६ प्रतिशत अर्थात् ८० हजार ७ सय २४ ले मतदान गरेका थिए।

मतदान भएको मतमध्ये सबैभन्दा धेरै उपप्रमुखमा बदर भएको छ भने त्यसपछि प्रमुखमा पनि ठूलो संख्यामा मत बदर भएको छ। प्रमुखमा २४.१० प्रतिशत र उपप्रमुखमा ४१.७७ प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ।

माओवादी र समाजवादी फोरमका उम्मेदवारलाई क्षति

खासगरी महानगरको दक्षिणी क्षेत्रको मत धेरै बदर भएको छ। जसको कारण माओवादी–संघीय समाजवादी फोरमका प्रमुखका उम्मेदवार उमेश यादव र उपप्रमुखका उम्मेदवार नमिता न्यौपानेलाई क्षति पुगेको छ। माओवादीका कार्यकर्ताले हसिया हथौडामा ७ छाप लगाएर प्रमुखमा मशाललाई पनि र फोरम कार्यकर्ताले ७ छाप मसालमा लगाएर उपप्रमुखमा हसिया हथौडामा छाप हान्दा बदर भएको हो। यस्तै उम्मेदवार नभएको चिन्हमा छाप हानेको कारण पनि धेरै मत बदर भएको छ।

महानगरमा गठबन्धन बनाएका नेकपा एमाले र लोकतान्त्रिक फोरमको मत पनि बदर भएको छ। एमालेले उपप्रमुखकी उम्मेदवार सूचीलाई मत दिँदा सूर्यको उपप्रमुखमा पनि दिएको र कतिपयले उपप्रमुखको उम्मेदवार नभएको सूर्यमा मात्र मत दिएकोले बदर भएको हो। यस्तै लोकतान्त्रिकका मततदाताले प्रमुख पदमा सुर्य र नमस्कार दुबैमा मत खसाल्दा बदरको संख्या ठूलो भएको हो।

विजेताले पाएभन्दा बढी मत बदर

क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले दिएको जानकारीअनुसार प्रमुखमा खसेको कुलमध्ये प्रमुखमा ६१ हजार २ सय ७० मत सदर भयो भने १९ हजार ४ सय ५४ मत बदर भएको छ। यस्तै उपप्रमुखमा ४७ हजार ९ मत सदर भएकोमा ३३ हजार ७ सय १५ मत बदर भएको क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले जानकारी दिए। उपप्रमुखमा बदर भएको मतसंख्या विजेताको मतभन्दा बढी छ।

उपप्रमुखकी विजेता कांग्रेसकी इन्दु कार्कीले २० हजार १ सय ४६ मत ल्याएर विजयी भएकोमा उहाँको मतभन्दा १३ हजार ५ सय ६९ बढि मत बदर भएको छ। उपप्रमुखकी विजेता इन्दु कार्की र प्रमुख प्रतिद्वन्द्वी नमिता न्यौपाने दुबैले ल्याएको मतभन्दा पनि बढी मत बदर भएको छ। न्यौपानेले ११ हजार ५ सय २४ मत प्राप्त गरेका थिए। विजेता र प्रतिद्वन्दीको मत जोड्दा ३१ हजार ६ सय ७० मत हुन्छ।

दुई ठूला राजनीतिक दलले गरेको तालमेलअनुसार मतदाता मत हाल्न नजान्दा बढी मत बदर भएको क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख सञ्जेलले बताउनुभयो। उपप्रमुखमा क्रस भोटिङ्ग गर्दा धेरै  मत बदर भएको देखिएको उनको भनाइ छ। महानगरका सबै पदहरुमा बदर भएको मतको औसत भने २१.९३ प्रतिशत रहेको छ।

बदर मतका कारण हारियो : फोरम उम्मेदवार

महानगरमा फोरमबाट प्रमुखका उम्मेदवार उमेश यादवले आफ्नो पक्षमा आएको ९ हजार बढी मत बदर भएकोले पराजय भोग्नुपरेको बताउनुभएको छ। मतदातालाई बुझाउन नसक्दा उनीहरुको माया पाएर पनि चुनाब जित्न नसकेको उनको भनाइ छ।

मतदातालाई बुझाउन नसकेको कारण महानगरमा बनेका दुई गठबन्धन प्रभावहीन देखिएका छन्। एमाले-लोकतान्त्रिक र फोरम-माओवादी गठबन्धन बनाएर चुनाबमा गए पनि मतदाताले मत त्यसअनुसार खसाल्न नसक्दा उनीहरुले गठबन्धनका साझेदारको थोरै मात्र सदर मत पाएका छन्। दुई गठबन्धनका ४ उम्मेदवारमध्ये फोरम लोकतान्त्रिककी सूची चौधरीबाहेक अन्यले गठबन्धनको मत धेरै पाउन सकेनन्।

महानगरमा एमालेका प्रमुखका उम्मेदवार विनोद ढकाल र १९ वडाका एमालेका अध्यक्षले पाएको मतमा थारै मात्र अन्तर रहेको छ। उस्तै अवस्था फोरमका प्रमुखका उम्मेदवार उमेश यादवको पनि छ। उनले पाएको मत र फोरमका १९ वडाका उम्मेदवारले पाएको मतबीच थोरै अन्तर मात्र छ।

माओवादी केन्द्रबाट उपप्रमुखकी उम्मेदवार नमिता न्यौपानेले पाएको मत पनि माओवादीका वडाका उम्मेदवारले पाएको मतभन्दा केही बढि मात्र छ। तीनै जनाले वडामा पार्टीले पाएको मतभन्दा करिब २÷३ हजार बढि मत मात्र पाएका छन्। फोरम लोकतान्त्रिककी उम्मेदवार सूची चौधरीले भने पार्टीको भन्दा दोब्बर बढी मत पाएकी छन्। उनलाई गठबन्धनमा रहेको एमालेबाट राम्रो मत गएको देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.