|

काठमाडौं : आर्थिक वर्ष सकिन केही दिनमात्रै बाँकी हुँदा सरकारी ढुकुटीको रकम खर्च हुने क्रम निकै बढेको छ। चालु अर्थिक वर्ष २०७३/७४ सकिन एक हप्ता बाँकी हुँदा जिल्लामा सरकारी खर्चको हिसाब राख्ने निकाय कोष तथा लेखा नियन्त्रक कार्यलयहरुबाट बजेट निकासा हुने क्रम पनि बढ्दो छ।

महालेखा नियन्त्रक कार्यलयको तथ्यांक अनुसार आइतबार मात्रै देशभरीका कोष तथा लेखा नियन्त्रक कार्यालयबाट १० अर्ब रुपैयाँ बजेट निकासा भएको छ। आइतबार कोष तथा लेखा नियन्त्रकको कार्यालयबाट पुँजीगत खर्च तर्फ ४ अर्ब ९५ करोड १४ लाख ९७ हजार रुपैयाँ निकासा भएको छ। चालु खर्च तर्फ ५ अर्ब १३ करोड रुपैयाँ निकासा भएको छ।

पछिल्लो सात ६ दिनको अवधिमा मात्रै सरकारले १४ अर्ब ६३ करोड ५८ लाख रुपैयाँ पुँजीगत खर्च गरेको महालेखा परीक्षकको कार्यालयको तथ्याङ्कमा उल्लेख छ। चालु आर्थिक वर्षको पहिलो दुई महिनामा भएको पुँजीगत खर्च बराबर असारको ६ दिनमा नै खर्च भएको हो। गत साउन र भदौ महिनामा पुँजीगत खर्च करिब १५ अर्ब मात्र थियो।  

पछिल्लो ६ दिनको अवधिमा मात्रै पुँजीगत, चालु र वित्तिय व्यवस्थातर्फ गरी ५२ अर्ब  १५ करोड ६४ लाख रुपैयाँ निकासा भएको छ। यो अवधिमा चालु तर्फ ४७ अर्ब ५४ करोड, पुँजीगत तर्फ १४ अर्ब ६३ करोड ५८ लाख र वित्तिय व्यवस्था तर्फ ४ अर्ब ६० करोड ९७ लाख निकासा भएको महालेखा परीक्षककको कार्यालयको तथ्याङ्क छ।

महालेखा परीक्षकको कार्यालयले हरेक दिन खर्च हुने सरकारी रकमको हिसाब आफ्नो वेवसाइट मार्फत सार्वजनिक गर्ने गर्छ।

धेरै विकास निर्माणको आर्थिक वर्षको अन्त्यमा हुने र कतिपय विकास आयोजनाको भुक्तानी पनि आर्थिक वर्षको अन्त्यमा हुने भएकाले विकास खर्च बढी भएको हो।

पछिल्लो केही दिनदेखि बाटो निर्माण तथा मर्मत सम्भार र कालोपत्रेका कामले तिव्रता पाएको छ।  पछिल्लो चार दिनको अवधिमानै काठमाडौंको धोविखोला किनारको झण्डै २ किलोमिटर सडक कालोपत्रे भएको छ। प्रत्येक दिन साढे पाँच अर्बको पुँजीगत खर्च हुँदा समेत सरकारले राखेको ८५ प्रतिशतको पुँजीगत खर्च गर्ने संशोधित लक्ष्य पूरा नहुने देखिएको छ।

सोमबारसम्म जम्मा ४८ प्रतिशत मात्रै पुँजीगत खर्च गरेको छ। अर्थ सचिव शान्तराज सुवेदीले संशोधित ८५ प्रतिशतको पुँजीगत खर्च गाह्रो हुने बताइसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.